बोल्न पाउने अधिकारको पक्षमा
विद्यापति मिश्र
नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दालनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न पनि दिएन । नागरिकहरू शरणार्थी हुन बाध्य भए । भूटानमै छँदा सुरु गरेको ‘बोल्न पाऊँ’ अभियानको धुक्धुकी शरणार्थी बन्दा पनि मेटिएन । फलतः शरणार्थी बनेको करिब एक दशकपछि भूटानी शरणार्थी समुदायमा पत्रकारिता फस्टाउन थाल्यो– बोल्न पाउने अधिकारको खोजी गर्दै ।
आज भूटानी शरणार्थीहरूमध्येबाटै पाँच दर्जनभन्दा बढी पत्रकार जन्मेका छन् । साधन स्रोतको सीमितता अनि अवसरको अभावका कारण उनीहरूले आफ्नो क्षमतालाई तिखार्न सकिरहेका छैनन् । करिब दुई दर्जन पत्रिका शरणार्थी समुदायको पहलमा उदाए पनि आर्थिक समस्याका कारण लामो समय टिक्न सकेनन् । त्यसो त उदाउँदो कालमा झापाको स्थानीय प्रशासनले पनि शरणार्थी पत्रकारमाथि कुदृष्टि नै राख्यो ।
प्रतिकुलता र कठोरताकाबीच पनि भूटानी शरणार्थी पत्रकारहरूले प्रेस स्वतन्त्रताको आन्दोलन जारी राखे । विश्व समुदायले प्रेस स्वतन्त्रताको पक्षमा चासो र दबाब दिइरहेको छ । नेपालमै पनि पत्रकारका अधिकारका पक्षमा आन्दोलन जारी छ । यो अवस्थामा पनि शरणार्थी भएकै कारण कतिपय न्यूनतम अवसरबाट पनि पन्छाइएको तीता अनुभव संगालेका छन्, शरणार्थी पत्रकारहरूले । जबकि नेपालको प्रेस स्वतन्त्रताका धेरै जसो आन्दोलनमा भूटानी शरणार्थी पत्रकारहरू भौतिक रुपमै साथमा साथ मिलाइरहेका पाइन्छन् । उनीहरूलाई राम्ररी थाहा छ– बोल्नसमेत प्रतिबन्ध लगाउने भूटान सरकारले शरणार्थीका सवालमा केही गर्ला भनें आशा गर्ने अवस्था छैन ।
यस्तो अवस्थाका बीचमा पनि आज भूटानभित्र जति पत्रकार छन्, प्रवासमा पनि त्यतिकै संख्याको हाराहारीमा पत्रकारहरू जन्मिएका छन् । यिनले परिचय र अवसरको खाँचो अनुभूत गरेका छन् । त्यो खाँचोलाई पूरा गर्ने विभिन्न प्रयास भएका छन् । भूटानी शरणार्थी र भूटानसम्बन्धी समाचार प्रवाह गर्ने स्तम्भ खडा भएको छ– भूटान न्यूज सर्भिस । पुनर्वासमा गएका शरणार्थीको अवस्था र भावनालाई दरिलो माध्यम दिएर आएको छ अमेरिकाबाट संचालित भूटान यूएसए । त्यस्तै आप्रवासका सुसेलीका नामले भूटानी साहित्य र कलालाई जगेणना गरिरहेको छ नरवेबाट संचालित भूट्निसलिट्रेचर डटकम । यसका अलावा दर्जनौ लोकयप्रिय ब्लगहरु पनि आइसकेको अवस्था छ । शरणार्थीहरुको बोल्न पाउने अधिकारका लागि शरणार्थीमात्र यस मिसनमा छैनन् – नेपाली साथीभाइको पनि ठूलो योग्दान छ । उदाहरणको रुपमा परिचित तितोपिरोमिठो डटकम त्यसका लागि संधै खडा छ । अनि प्रेस स्वतन्त्रताको वकालत गरिरहेको छ र गर्न तयार छ– एसोसिएसन अफ प्रेस फ्रिडम एक्टिभिष्ट । रेडियोमार्फत शरणार्थी सरोकार कार्यक्रमले श्रोतालाई ताजा जानकारी पस्कने काम गरिरहेको छ ।
यी र यस्तै विषयलाई दरिलो ढंगले अभिलेखीकरण गर्दै भूटानमा प्रेस स्वतन्त्रताका निम्ति आवाज उठाइरहेका शरणार्थी पत्रकार टि.पि. मिश्रले यसै वर्ष एक पुस्तक लेख्नुभएको छ– बिकमिंग अ जर्नालिष्ट इन एग्जायल । यो संघर्ष र यथार्थको एउटा दरिलो संगम हो । यस पुस्तकले आम पाठकले पढ्न नपाइरहेका विषयवस्तुबाट केही तथ्य उद्घाटित गरेको छ ।
भूटानी शरणार्थी पत्रकारिता र पत्रकारहरूको अवस्थाका सम्बन्धमा तयार पारिएको यो पुस्तकले दमनका बीचमा पनि कसरी प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्न सकिन्छ भन्ने मार्ग दर्शन गरेको छ । वर्तमान पुस्ताका लागि अवस्थाको जानकारी दिने, पुराना पुस्ताको अभिलेखीकरण गर्ने अंग्रेजी भाषाको यो पुस्तक भावी पुस्ताका लागि प्रेरणा प्रदान गर्न सहयोगी सिद्ध हुने विश्वास गर्न सकिन्छ । लेखक मिश्रसंगै अन्य ५ जना पत्रकार र एक जना सामाजिक विश्लेषकले पनि निर्वासनको पत्रकारिता वा पत्रकारिताको थालनीका विषयमा यस पुस्तकमा कलम चलाएका छन् ।
१३० पृष्ठको यो पुस्तको मूल्य २०० नेपाली रुपया राखिएको छ भने यसको पूर्ण भाग www.tpmishra.com बाट डाउनलोड गर्न सकिन्छ । पुस्तकलाई थप परिस्कृत गर्न सकिने पर्याप्त ठाउँ देखिएकोले युवा लेखकबाट आगामी दिनमा थप खुराक पस्कने ठाउँ बाँकी नै रहेको अपेक्षा गर्न सकिन्छ ।