भगवान् (भाग १)

कथाकार
कथाकार

आईपी अधिकारी
एड्लेड, अष्ट्रेलिया

‘खाली अप्ठेरो पर्ने ठाउँमा चैँ मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए ।
‘बा तपाईँ अलि बोल्न जान्दाछौ र पो अघि वडा’को त । भोलि राजनीतिमा लाग्ने सपना बोकेको मान्छेले यही मौका हो मान्छेहरुसित तर्क गर्न सिक्ने,’ किरणले बा’लाई सर्कायो ।
‘नापिस ! ५० बाट उकाले लागेपछि राजनीतिमा लाग्नुछ मलाई’ ।
धर्म कर्म र परम्परामा कर्मठ राधेश्याम गाउँमा गफाडी तर छुच्चा मान्छेका रूपमा चिनिन्छन् । पुराना पुस्ताले खुबै सम्मान गर्छन् तर युवाहरू पिटिक्क हेरिसहदैनन् । नयाँ देशमा आएको धेरै भ’को छैन तर भविष्यमा मेयर लड्ने आकांक्षी राधेश्याम युवाहरूको मन जित्ने प्रयास गर्छन् । भोट बैङ्क बनाउने कल्पनामा ।
‘आज पनि परिबन्धमा पर्नु भो कि के हो?’ खन्तरे बा’ले सोधे ।
‘झन्डै मारे नि ठिटाहरुले । अचम्मै लाग्छ, के खान्छन् त्यस्तो अचाक्ली नचाहिँदो कुरा खेल्छ दिमागमा ?’
‘के गरे नि आज चैँ?’
‘कृष्ण जन्माष्टमी आयोजना गर्ने छलफल हुँदै थियो । सबैले भगवानलाई छुन र फूल चढाउन पाउनु पर्छ भन्दै बुरुक्क उफ्री त हाले’ ।
‘सबैलाई आफ्नो धर्म र संस्कार मान्ने अधिकार हुन्छ भनियो हामीलाई यता ल्याउने बेला । तर यहाँ नर्कको यात्रा गराउने भए अधर्मीहरुले’, कुइकेल माइलाले गनगन गरे ।
‘त्यही त! आफ्नो संस्कार अनुसार कर्म गर्न नपाइने भयो’, किरणले थप्यो ।
‘कसले रोक्यो र तपाईहरुलाई धर्मकर्ममा?’, तन्नेरी रमन फुत्तै घर भित्र पस्यो । ‘घनेलाई खोज्दै आ’को, अरू नै रमाइला कुरा सुन्न पाइने भइयो’ भन्दै रमन सोफामा बस्यो । निकै बेरदेखि गफिएका बुढाहरु केहीबेर चकमन्न बसे । कोही कोही सित बोलेन ।
‘तपाईहरु त चुप लाग्नु भो नि । मैले केही बिराएँ?’
‘गतिलो काम कहिले गरेका छौ र बिराएँ भनेर प्रश्न गर्छस तँ?’
‘तपाईँहरुले यो चैँ तैंले बेकाम गरिस भनेर देखाइदे पो सुधार्ने मौका पाइन्थ्यो त । कसरी जन्ने आफ्नै गल्ती?’
‘कृष्ण अष्टमी आयोजना गर्न लागेको, सबैले प्रवेश पाउनु पर्छ भनेर तेरो भाइ बुरुक्कै उफ्रिर’को छ । गएर ठाउँमा राख न भाइलाई’ ।
‘केटाकेटी मान्छे कुरा बुझेन होला अनि बम्क्यो नि । अब ठुलाले बुझ्नु पर्यो। केमा अप्ठेरो थापेछ फेरि?’
‘कृष्ण जन्मोष्टमीको दिन भगवानको विशेष अर्चना गर्दैछौं। हामी त्यस्तो पुण्य कर्ममा कसरी सबै मान्छेलाई छिर्न दिन सक्छौँ?’
‘त्यो निर्क्योल गर्ने काम चैँ मेरो हैन । कसले के गर्न हुन्न भनेर खुट्याउने अधिकार मैले पाएको छैन’ ।
‘भाइ, धर्म संस्कारको बारेमा कुरा गर्दा अधिकारको विषय उठाईरहनु परोइन । धर्म थाम्नु सबैको कर्तव्य हो । अरू तर्क नगर, हाम्रो जन्मोत्सवमा तल्लो जातकालाई लिएर तेरो भाइ आएछ भने हामी तँलाई पनि समाजबाट हटक गर्छौँ’ ।
‘ठिकै छ नि त म त्यसलाई सम्झाउँछु । तपाईँलाई थाहा नै छ, यसता कुरामा उ प्रश्न माथि प्रश्न तेर्स्याउँछ । उसको प्रश्नको चित्तबुझ्दो जवाफ मैले दिन सकें भने त ऊ बाटोमा आउँछ नि है न र ! तपाईँहरु जस्तो विद्वानले हामीलाई सिकाउनु पर्‍यो नि यिनीहरू जस्तालाई कसरी सम्झाउने भनेर,’ रमनले भन्यो ।
‘के सिकाउँनु पर्यो र मैले तँँलाई,’ राधेश्याम बा ताते ।
‘तल्लो जातका को को हुन् र किन ती तल्लो जातका भए भनेर उस्लाई बुझाउन सक्नु परेन बा? तपाईँ पनि त्यतिकै ठुला कुरा गर्नु हुन्छ’ ।
रमनको तर्कले गफ सुन्दै छेउमा बसेका कुइँकेल बा’को कन्सिरि तातेछ क्यार । कड्केर बोले, ‘निचा कुलमा जन्मेपछि कोही माथिल्लो जातको हुन सक्छ । तेरो यो कसतो प्रश्न हो?’
‘भगवान् श्रीकृष्णले गीताको अठारौं अध्यायको ४१ र ४२ श्लोकमा भन्नुभएको छ, मानिस जन्मे पछि उसका कर्ममा आधारमा उच वा निच हुन्छ । हाम्रो धार्मिक ग्रन्थ महाभारतमा भनिएको छ, ‘ईश्वरको प्रार्थना नगर्ने अशुद्ध हो, नीचा जातको हो । अब तपाईँ कसरी जन्मका आधारमा कसैलाई उच र कसैलाई निचा भन्न सक्नुहुन्छ ?’
सबै चुप लागे । रमनको उत्तर कसै सित थिएन । वास्तवमा यो विभेदबारे उनीहरूलाई कलिलो दिमाग हुँदै सिकाइएको हो । सानो र ठुलो हुनुको कुनै अर्थ वा प्रमाण उनीहरूलाई सिकाइएन । अब आज नयाँ पुस्ताले प्रश्न गर्दा उनीहरुसित त्यसको उत्तर कहाँ छ र । निकैबेर त्यहाँ चकमन्नता छायो । रमनले वातावरण नियालो । कसैले कसैलाई हेरिरहेका थिएनन् । सबै एकटकले टोलाइरहेका थिए ।
रमनले फेरी भन्यो, ‘हाम्रो संस्कारले सिकाएको के हो भने ईश्वरको वास भएको स्थान जहिल्यै शुद्ध र पवित्र हुन्छ । त्यही भएर तपाईहरुले हामीलाई घरमा सानो मन्दिर राख्ने संस्कार सिकाउनु भयो । त्यही भएर हामी कुनै शुभकामका लागि ईश्वरको वास हुने विश्वास गरिएको मन्दिर जान्छौं’ ।
‘हामीले त्यसलाई होइन भनेका छैनौँ,’ खन्तरे बा बोले ।
‘हो बा, म तपाईँको कुरा सही मान्छु । यो कुरा तपाईँले हामीलाई सही नै सिकाउनु भएको छ । त्यो बाहेक अर्को राम्रो कुरा हामीले तपाईहरुबाट के पनि सिकेका छौँ भने संसारका हरेक प्राणीमा ईश्वरको वास हुन्छ’ ।
‘तैले ऐले मात्र सही कुरा बोलिस,’ खन्तरे बा’ले थपे ।
‘अब बा’ मलाई भन्दिनु होस, ईश्वरको वास भएको सबै मानिस कोही सानो, कोही ठुलो कसरी भयो । कोही शुद्ध, कोही अशुद्ध कसरी भयो ?’
‘सबै कुरामा धर्मको मात्र प्रधानता हुन्न । हामीले संस्कार र परम्परा पनि हेर्नु पर्छ,’ राधेश्यामले उत्तर दिए । ‘ हामी हाम्रा पुर्खाले बसालेको संस्कार र परम्परा त्याग्न सक्दैनौं।’
‘तपाईँको भन्नुको अर्थ ईश्वरको वचन भन्दा हाम्रा पुर्खाले बसालेको सामाजिक व्यवस्था उत्तम हो?’ रमनले प्रश्न गर्यो।
‘हाम्रो संस्कार भनेको हाम्रो परिचय हो । हाम्रो परिचयले ‘हामी’ हुनुको अस्तित्वबोध गराउँछ । हाम्रो संस्कार नै हाम्रो जातीय पहिचानको आधार हो । हामी आफैले आफ्नो संस्कारलाई भुल्यौ भने हामी हाम्रो अस्तित्वलाई कसरी जीवन्त राख्न सक्छौँ? के हामी अरूमै विलाएर सकिने हो? हामीले हाम्रोपनलाई जीवन्त राख्नु पर्दैन?,’ राधेश्यामले निकै गहकिलो तर्क राखे ।
‘मैले आफ्नो अस्तित्व र पहिचानलाई नास्नु भनेकै छैन, भन्नै सक्दिन । तर संस्कार जोगाउँने नाममा के हामी सती प्रथालाई पुन: सुरु गर्न सक्छौँ? के श्रीमतीले हरेक दिन बिहान उठेर श्रीमानको खुट्टा धोएर पानी खानु पर्ने प्रथा दोहोर्याउन सक्छौं?,’ रमनको प्रश्नको जवाफ कोहीसित थिएन । उसले अरू थप्यो, ‘तपाईँ अब उप्रान्त फलाम लागेको चेयरमा बसेर टेबलमा खान खान पाउनु हुन्न । हाम्रो संस्कारले त्यो मान्दैनथ्यो । तपाईँले औंशी र पूर्णीमाको दिन गाईको गोबरले घर लिप्नु पर्छ । सिलाएको लुगा लगाउन पाउनुहुन्न । सक्नु हुन्छ यी सबै हाम्रा संस्कार थाम्न?’
‘ती सबै थाम्न कहाँ सकिन्छ त । समय अनुसार परिवर्तन हुन्छ, फेरबदल हुन्छ नै’ ।
‘बा म पनि त्यही त भन्दै छु नि । समय अनुसार हाम्रो शैली बदल्नु पर्यो। संस्कारमा परिवर्तन ल्याउनु पर्यो। हामी हिजो जहाँ थियौँ, जस्तो अवस्थामा थियौँ, आज त्यो अवस्थामा छैनौँ, त्यो वातावरणमा छैनौँ । परिस्थिति र परिवेश अनुसार हामीले नयाँ संस्कार र आचरणको विकास गर्न सक्नु पर्छ,’ रमनले बुझाउन खोज्यो ।
टकटक टकटक । ढोकामा कसैले हिर्कायो ।
रमनले ढोका खोल्यो । दुईजना युवाहरू बाहिर उभिएर राधेश्यामको बारेमा सोध्दै थिए । तिनीहरू भित्र आए । गफ गर्दै जादा थाहा भयो राधेश्याम बा’ले तिनलाई दिउसो पार्कमा भेटेका रहेछन् । अङ्ग्रेजीमा के भने नबुझेपछि आफ्नो परिचय पत्र देखाएका रहेछन् । उनीहरूले भने, ‘हामीले उहाँलाई साँझमा घरमा इशुको वचन सुनाउन आउछौं भन्दा हुन्छ भन्नु भा’थ्यो’ ।
रमनले नेपालीमा राधेश्याम बा’लाई विस्तार लगायो ।
‘अब उनीहरूले के के भने के के भने । मैले त ओके ओके मात्र भनेको हु । कहाँ घरमा बोलाको हुँ र’, राधेश्यामले आफ्नो अङ्ग्रेजी नजान्नुको गुनासो पोखे । रमनले त्यसलाई उल्था गरिदियो।
रमनले ती युवालाई सोध्यो, ‘को हुन प्रभु इशु?’
‘मानव जगतका मुक्तिदाता । हामी सबैको उद्धार कर्ता । ज-जसले उनलाई आफ्नो ठान्छ, सबैलाई उहाँले स्वर्गमा वास दिनु हुन्छ । हाम्रो जीवन सार्थक बनाउनु हुनेछ,’ एउटाले भन्यो ।
‘त्यसको प्रमाण के छ?’
‘होली बाइबल’ ।
‘त्यसतो त सबै धर्मका ग्रन्थहरुमा लेखिएको छ । बाइबल, त्रिपिटका, गीता वा कुरान सबैको सार त्यही हैन र?’ रमनले थप प्रश्न गर्योा ।
‘बाइबल सबै भन्दा पुरानो धर्म ग्रन्थ हो । ईश्वरको सच्चा वाणी समेटिएको एक मात्र ग्रन्थ हो’ अर्काले भन्यो ।
‘प्रभु इशु संसारमा आउनु भएको कति अघि हो?’
‘आज भन्दा दुई हजार वर्ष अघि’ ।
रमनले भन्यो, ‘तर बुद्ध दुई हजार पाँच सय वर्ष अघि संसारमा आएका थिए हैन । अनि हिन्दुको वेद पाँच हजार वर्ष अघि लेखिएको भनेर त विज्ञानले पनि प्रमाणित गरिसक्यो हैन ?’
युवाहरू केही बोलेनन्।
‘प्रभु इशुले जिवनकालमा विश्वका कुन कुन ठाउँको भ्रमण गर्नु भयो?’ रमनले अर्को प्रश्न गर्‍यो ।
यसको पनि युवाहरूसित जवाफ थिएन । उनीहरू आफूलाई थहा नभएको बताए ।
‘प्रभु इशु जीवनकालमा धेरै मध्ये दक्षिण एसियाको पनि भ्रमण गरेका थिए रे जहाँ उनले कृष्णनीति बारे शिक्षा लिएका थिए रे । त्यसलाई पश्चिममा ल्याउँदा तपाईहरुले ‘कृष्णनीति’ लाई ‘क्रिष्ट्यानिटी’ बनाउनु भयो । बाइबल र गीता सँगै राखेर दाजेर पढ्नुहोस् । तपाईँले कति समानता पाउनुहुनेछ’, रमन आफूले जानेको कुरा सुनायो ।
उसले थप्यो, ‘वास्तवमा कृष्ण, इशु, महम्मद वा बुद्ध कोही पनि भगवान् हैनन् । यी महामानव हुन जसले शान्त, सुसंस्कृत, सभ्य र सम्पन्न मानव समाज निर्माणका लागि आवश्यक आधारहरु हामीलाई सिकाए । यिनको आराधना गर्दा हामीले केही पनि प्राप्त गर्ने हैनौं । यिनीहरूले प्रतिपादन गरेको सिद्धान्त र आदर्शलाई आत्मासाथ गर्न सक्यौं भने आफ्नो जीवन सार्थक बनाउन सक्छौँ, सभ्य मानव समाजको निर्माण गर्न सक्छौँ’ ।
रमनको व्याख्या सुने पछि उपस्थित कसैले बोल्ने आँठ गरेन । कोठामा धेरैबेर शून्यता छायो ।

क्रमश:‍ ……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *