भानुभक्तको जन्म- २०३ औं जयन्तीमा उनको स्मरण
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनहुँको रम्घा गाउँमा विक्रम सम्वत् १८७१ असार २९ गते भएको थियो । भानुभक्तले आफ्नो परिचय स्वयम् दिँदै यसरि लेखेका छन् –
पहाडको अतिबेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया ।
खुब उच्चाकुल आर्यवंशि हुनगै सत्कर्ममा मन दिया ।
विद्यामा पनि जो धुन्धर भई शिक्षा मलाई दिया ।
तिनको नाति म भानुभक्त भनी यो जानी चिन्ही लिया ।
बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका भानुभक्तले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट प्रेरित हुँदै नाम कमाउने प्रेरणा पाएका थिए भन्ने बुझिन्छ । यस सम्बन्धमा भानुका अत्यन्त प्रसिद्ध पंक्तिहरुमा एक सामान्य घाँस काटेर जीविका चलाउने गरिब व्यक्तिको परिश्रम र लगनशीलताबाट मानवले शिक्षा लिनु पर्ने सन्देश स्पष्ट देख्न पाइन्छ यी निम्न पङ्तिहरुबाट –
भर् जन्म घाँस तिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन यस्तो ?
नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण मानवीय मर्यादाका प्रतीक भगवान् श्रीरामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति भएको भन्दै उनले जनमानसमा उक्त शिक्षालाई तरोताजा गर्ने स्तुत्य प्रयास गरेका छन् । कर्म (काम) जीवनको आधार हो त्यसैले सत्कर्म गर्न समाजलाई आह्वान गर्दै जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् । नेपाली वाङ्ग्मयका लेखक तथा कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता,समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा गगन नक्षत्र बनेका भानुलाई आ-आफ्ना विवेक र बुद्धिले भ्याएसम्म त्यस महासागरबाट कतिले गाग्रीले उघाएका छन् त कतिले लोटा, कचौरा, गिलास, पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।
भानुभक्तको रामायण, भक्तमाला र बधूशिक्षा आदि प्रसिद्ध ग्रन्थहरु हुन् ।
१. रामायणका केही आरम्भिक पंक्तिहरु यस प्रकार छन् :
एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी
ब्रहमा ताहि थिया पर्या चरणमा खुसी गराया पनि ।
क्या सोधछौ तिमी सोध भन्छु म भनी मर्जि भयेथ्यो जसै
ब्रम्हाको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै । आदि आदि
२ .प्रश्नोत्तर मालाबाट:
अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण कुन छ मलाइ याहाँ ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाउ ।।१।।
३.भक्तमालाबाट :
प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम भज्न्याछु विषयहरूमा छाडि ममता ।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजी डुलियो ।
सिताराम भज्न्या हो शिव शिव उसै आज भुलियो ।।१।।
समाजको वास्तविकता छायांकन गर्दै कवि भन्छन् – मानवले आज आफ्नो कर्तव्य भुलेको छ,धर्म कर्म छोडेको छ,आस्था विर्सिएको छ । लोभ-लालच,मोह-माया,र विषय-वासनामा भुलेको संसारले समय छँदै कर्तव्य कर्म पुरा गर्नु पर्दछ भन्दै समयको सदुपयोगमा तदारुकताका साथ लागि पर्नु पर्ने निर्देश गरेको पाइन्छ ।
सिताराम् भज्न्या छु भनिकन प्रतिज्ञा अघि गरी ।
गयाको होस आइस कति दिन भजिस भन अघि सरी ।।
यसो भन्नन ख्वामित मकन यमराज तेस बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा ।।२।।
अन्य प्रसिद्ध पंक्तिहरु :
चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।
यति छन् भनी गन्नु काहाँ धनी ञाँ,
खुसी छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।
“नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्’ लेखनाथ पौडेलको त्यस बेलाको घोषणा अब पुरानो भई सकेको छ । अब भानु मात्र नेपालमा काहाँ छन् र उनीले संसारमा फैलिनु पर्दछ । किनकि रवि र कविलाई संसारका कुनै बधाहरुले रोक्दैन, हो ग्रहण अवश्य लाग्न सक्छ तर फूलबारीको फूललाई फलाउने फूलाउने उत्तरदायित्व मालीको हुन्छ अत: आज सक्षम मालिहरुको आवश्यकता छ,मल जलको गोडमेलको जरुरत छ !
वस्तुत: आचार्य भानुभक्त संस्कृत मूलका विद्यार्थी भएकाले उनका रचनाहरुमा पारम्परिक छंद लयका साथ तात्कालीन नेपालको भाषिक लयको छाप स्पष्ट देखिन्छ ।
वस्तुत: कुनै पनि साहित्य किन न होस्, साहित्यले धर्म, संस्कृति, परम्परा, सामाजिक रिति- रिवाज र इतिहासलाई बोकेको हुन्छ । त्यसैले त साहित्यलाई समाजको दर्पण भनिन्छ, जुन दर्पणमा समाजको छवि देख्न सकिन्छ । अत: साहित्यले समाजको हित गर्दछ “हितेन सहितं साहित्यम् “ भनिएको हुँदा यदि साहित्य समाजको हित गर्ने खालको भएन भने त्यो साहित्यले समाजलाई बिगार्छ । आधुनिक समकालीन साहित्यको परिस्थिति हेर्दा साहित्यिक तत्वबाट धेरै टाढिएको पाइन्छ । छंद अलंकार, भाषिक शुद्धता आदि आदि कुराहरू ओझेल पर्दै गएका छन् ,जो हानिकारक हो । हो नयाँ नयाँ लेखन हुनु पर्छ, सबै विधाहरुमा प्रयास गर्नु पर्दछ, त्यसका साथ-साथै रचनाकारहरुले भाषा, व्याकरण र साहित्यको मूल अध्ययन गर्न र शुद्ध लेखन सक्नु पर्दछ । भाषामा शैलीमा मर्यादाको सीमा उल्लङ्घन गरिनु हुँदैन । आजको फेस्बुके साहित्यमा भाषिक शुद्धता र व्याकरण धराशायी भएको पाइन्छ । कवि लेखक र नवोदित रचनाकारहरूले ध्यान दिएर भाषा र व्याकरणलाई ध्यान दिन आवश्यक देखिन्छ । किनकि पाठकले जस्तो देख्छ त्यस्तै सिक्दछ । साहित्य दर्पण हो, दर्पणमा आफ्नो छवि जस्ताको त्यस्तै देखिन्छ । अत: समस्त नवोदित प्रतिभाहरुलाई उक्त विषय प्रति ध्यान दिन आग्रह छ । पोस्ट गर्ने विषय-वस्तुलाई जानकार व्यक्तिद्वारा सम्पादन गराएर मात्र पोस्ट गर्न सकिन्छ !
भानुभक्तका बारेमा जति नै कुरा गरे पनि सकिने छैनन् ! समय समयमा चर्चा हुँदै गर्नु पर्दछ । आजलाई भानु स्मरण गर्दै नव पिँडीलाई आफ्नो भाषिक गौरव र अस्मिताको रक्षा गर्नु नै आफ्नो धर्म हो र आफ्नो पहिचानलाई रक्षा, सम्बर्धन गर्न अघि आउँ भन्ने आह्वानका साथ पुनर्वासमा छरिएका हामी नहराऊँ, हाम्रा नव सन्ततिले भाषा न भुलुन्; यसका निम्ति हामीले कम्मर कसौं भन्दै ‘भूटानी नेपाली साहित्यको’ अस्तित्व रोप्न हाम्रो साहित्य परिषदलाई हातेमालोद्वारा फलाउँ फुलाउँ भन्ने विशेष आग्रह छ ।