भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

लेखक
लेखक

रमेश गौतम 
नर्वे 

विषय प्रवेश

आज हामी १९७ औँ भानुजयन्ती मनाउँदै छौँ। आजभन्दा लगभग पचास वर्ष आगाडी सिक्किमको गान्तोकबाट भानुजयन्ती मनाउने परम्पराको श्रीगणेश भएको थियो । त्यसअघि र त्यसपछि गरी भानुभक्तसम्बन्धी अनेकन् लेख, खोज, आलोचना, प्रल्यालोचना आदि प्रकाशित भएका छन् । यी सबै कुराहरूले नेपाली भाषालाई अझ समृद्ध बनाउन सहयोग गरेका छन् ।

‘भानुभक्त रम्घामा जन्मिए, हजुरबाबाट शिक्षा ग्रहण गरे, घाँसीको प्रेरणाले रामायण लेखे आदि’- यी सबै कुरा हामीलाई मोतीराम भट्टले भनेका हुन् १८८४ सालमा “सुन्दरकाण्ड” र १८९१ मा “जीवनी: कवि भानुभक्तको” प्रकाशित गरी। भानुभक्त एक साधारण कवि थिए उतिबेलाका आम साधारण नेपाली रैतीजस्तै। कविताको भाषामा बोल्न थालेपछि यी कविले जे कुरामा पनि कविता देखे; जहाँ गए पनि कविता लेखे। हाँस्दै गरेकी नारीलाई देखी ‘अलच्छिना’ भने पनि वा एक रात बास नपाउँदा गजाधर सोतीकी श्रीमतीलाई ‘नरक जानलाई बिदा भएकी’ भने पनि उनले उतिबेलाको समाजलाई कवितामा उतारे।

त्यसो त भानुभक्तले बुहारीलाई मान्छे नगन्ने उतिबेलाका सासूहरूलाई शिक्षा दिन ‘सासुशिक्षा’ लेखेनन्; उति बेलाका आम नेपाली पुरुष जस्तै उनी पनि एक पुरुष देखिए। भनिन्छ, घासीबाट प्रेरणा पाएको कुरा, ‘मो भानुभक्त धनी भईकन आज यस्तो’ आदि कवितांश लेखेको कुरा मोतीराम भट्टको परिकल्पनाको कथा हो। भानुभक्तसम्बन्धी यस्ता अनेकन् आलोचनाहरू अद्यापि जीवित छन् तथापि सीमित मान्छेले बुझ्ने संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा भावानुवाद गरी भानुभक्तले नेपाली साहित्यको विकाश र उन्नतिको जग बसालेका हुन्। पृथ्वीनारायण शाहले नेपालको राजनैतिक एकीकरण गरेजस्तै भानुभक्तले सम्पूर्ण नेपालीहरूलाई साझा भाषाको एउटै डोरीले बाँध्ने काम गरे। यो एकीकरण राजनीति जस्तो सीमित रहेन। उतिबेला भारतीय उपमहाद्वीपमा छरिएर रहेका तमाम नेपाली भाषीहरूलाई एकत्वको भावनात्मकताले बाँध्न भानुभक्तीय रामायण सफल भएको छ।

१९२४ सालमा दार्जीलिंगमा स्थापित ‘नेपाली साहित्य सम्मेलन’ले १९४० मा ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशन गरी भानुभक्तसम्बन्धी खोजकार्यलाई अझ फराकिलो क्षितिज प्रदान ग-यो। नेपाली साहित्यका त्रि-मूर्ती सुर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानले यहाँ यस युगलाई असल नेतृत्व प्रदान गरे। यता नेपालमा १९४५ सालमा उतिबेला पटना विश्वविद्यालयबाट सम्बन्धनप्राप्त त्रिचन्द्र कलेजमा नेपाली विषयमा अनर्सको पढाइ सुरु गर्ने प्रस्ताव ‘अनर्स स्तरलाई सुहाउँदो नेपाली पुस्तक नभएको’ भनी अस्वीकृत भयो। यस तिक्तताले नेपाली विद्वानहरुमा अद्वितीय ऊर्जा थपिदियो र उनीहरू जसरी भए पनि नेपाली भाषालाई स्तरीय भाषाको समूहमा प्रवेश गराउन कम्मर कसेर लागी परे। लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, मृगेन्द्रशमशेर, रुद्रराज पाण्डे, पुष्कारशमशेर, बाबुराम आचार्य आदिका भाषा, साहित्य र व्याकरणका पुस्तकहरू यस कालखण्डमा सिर्जित अमूल्य निधि हुन्। यो समयसम्म भूटानबाट भने कुनै पुस्तकाकार प्रकाशनमा आएन; नेपाली भाषा बोलीचालीको माध्यम मात्र रहिरह्यो।

सन्दर्भ: हामी र हाम्रो समाज

आज नेपाली साहित्यको उन्नति सह्रानीय गतिमा अघि बढिरहेछ। भानुभक्तीय काल यस उन्नतिको आधारशिला थियो। यसै कालको जगमा आजको नेपाली साहित्यको उन्नति उभिएको छ। नेपाली साहित्यको व्योम विस्तृत भएको छ। यही नेपाली साहित्यको एउटा खहरे हामी पनि हौँ। त्यसो त हाम्रो साहित्य केवल नेपाली साहित्य मात्र होइन। हामीले हाम्रो साहित्यभित्रका धेरै भाषाहरूलाई समेट्नु पर्ने टड्कारो आवश्यकता छ। यो एउटा चुनौती हो र अवसर पनि हो। यही विन्दु नै हाम्रो प्रस्थानविन्दु हो; भाषिक उन्नति र साहित्यिक परिष्कारको एउटा कोसेढुंगा हो।

नेपाली भाषालाई मात्र आधार मान्ने हो भने पनि आज हामीसँग विभिन्न फरक भूगोलमा तीन प्रकारका पृथक् समाज खडा छन्। भूटान भित्रको समाज भाषिक उन्नतिको हिसाबले नब्बेको दशकमा जे थियो त्यही छ। विद्यालयमा नेपाली भाषा पढाइँदैन। पुस्तकालयहरूमा नेपाली भाषाका किताबहरू पाइँदैनन्। गाउँबेंसीको भाषा दशकौँअघि जे थियो आज त्यही छ। तिमीलाई ‘बधाई’ छ है भन्दा त्यहाँका बच्चाले बुझ्दैनन्। त्यहाँका पाठकहरू अङ्ग्रेजी लेखहरूको पर्खाइमा हुन्छन्। हाम्रा वेबपृष्ठका नेपाली अक्षर त्यहाँ पढिँदैनन्। र एउटा पीडास्पद हर्ष- त्यहाँ पनि नेपाली भाषा बोलिन्छ!

अर्को समाज अवरसरहीनताको डढेलोमा पिल्सिएको छ। आफ्नै पुर्ख्यौली थलोमा बिरानो भएको छ। सातवटा ससाना भूटानहरुको घेरामा सीमित यो समाज सम्भावनाका प्रयोगशालाहरूमा साधनारत छ। साहित्यिक विकाशका दृष्टिले विगत डेढ दशकमा उर्वरशीलताका आयामहरू चुम्न सफल यो समाज आज नजानिँदो गरी विभाजित बन्दै छ; संसार भरि छरिँदैछन् यहाँका मान्छेहरू।

र तेस्रो समाज साइबर संस्कृतिभित्र छ। भूटानी मनमा पुनर्बासले एउटा पृथक् मानसिकतालाई जन्म दिएको छ। हाम्रा बालबालिकाहरू सम्पूर्ण अवसरहरूको नजिक छन्; सम्भावनाको क्षेत्र फराकिलो भएको छ। आजको पुस्ता एकातिर अत्याधुनिक प्रविधिको फाइदा लिँदै रमाइरहेको छ भने अर्कोतिर विकृतिउन्मुख पनि हुँदैछ। छिट्टै अमेरिकन, अष्ट्रेलियन वा युरोपियन बन्ने सपनामा आजको युवा पुस्ता पुस्तान्तरणको खाडल फराकिलो पनि बनाउँदै छ। पुनर्बासपछि एकातिर असीमित ई-पुस्तकालयबाट सहज रूपमा लाभान्वित हुँदै हाम्रो साहित्य विकशोन्मुख छ भने एर्कोतिर भाषा सिकाइको क्रम ओझेलमा परेको छ; हाम्रा बालबालिकाहरूले नेपाली भाषा पूर्ण रूपमा बिर्सन सक्ने चिन्ता गाढा भएको छ।

यस अवस्थामा भानुजयन्ती र यस्तै साहित्यिक गोष्ठी र सम्मेलनहरूलाई भाषा सिकाइ र साहित्यिक परिमर्जनकालागि सहायकका रूपमा विकाश गर्न सके एउटा विन्दु र कालखण्डमा हामी सफल भएको मान्न सकिनेछ।

र अन्त्यमा,

यस परिवर्तित/परिवर्तनशील सामाजिक परिपाटीमा साहित्य कसरी लेखिन्छ, मूल्याङ्कन गर्नु पर्ने भएको छ ।

2 Replies to “भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य”

  1. Bhakta

    This seems a fantastic writting gautam ji! Samajik astitwa ra sukhad bhavishya ko lagi bhasa ra sahitya nai sabaithok ho. Yo kura hamraharu le kahile bujhne hun thah 6auna! Bujhauna lai estai lekh haru lagatar prakash gardai janu par6a hai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *