भानु अंकललाई सुझाउ

सुशील पोखरेल
अष्ट्रेलिया

आदरणीय भानु अंकल,
सादर अभिवादन,

लामो समयपछि तपाईलाई यो पत्रमा केही सुझाउहरु लेख्ने जमर्को गर्दैछु । हामी जाति छौं, तपाई पनि स्वर्गमा ढुक्क बस्नु भएको छ जस्तो लाग्दैन ।
अंकल आज तपाईँको १९७ औं जन्म जयन्ती ।

हामीले हाम्रो स्कूलमा पनि धुमधामले तपाईको जयन्ती मनायौं । तपाईँको चित्र बोकेर शहर परिक्रमा गर्नेहरुको संख्या पनि आज कम थिएन । बिहानै तपाईको चित्रमा माल्यार्पण गरेर हाम्रो हेडसरले अंग्रेजीमा तपाईँको जीवनी पढेर सुनाउनु भयो । भानुभक्त नेपालीका आदिकवि हुन्, भानुलाई सम्मान गर्ने हो भने हाम्रो आफ्नो भाषाको संरक्षण गर्नुपर्छ इत्यादि । हुनत हाम्रो सरले अरुबेला पनि अंग्रेजी मै बोल्नुहुन्छ । आज मलाई अचम्म लाग्यो । नेपालीका आदिकविको जन्म जयन्तीमा अंग्रेजीमा भाषण, बोर्डिङ स्कूल हो,अंग्रेजीकै बोलाबाला भएर होला भन्ने लाग्यो । अंकल तपाईको रामायणका केही अंश हाम्रो स्कूलमा हामीले पनि पढ्नुपर्छ । तर मलाई निकै गहारो पर्छ तपाईको छन्द । बुझ्नै सकिन्न । एउटा मात्रै छन्द भएको भए त हुन्थ्यो । शार्दूलबिक्रीडित, मालिनि, स्रग्धरा, शिखरिणी, मन्दाक्रान्ता के के हुन् के के । बुझ्नै सकेको छुइन । छन्दको बारेमा मैले नेपाली सरलाई प्रश्न गर्दा वहाँले आफैँलाई पनि राम्रो थाहा नभएको कुरो जनाउनु भयो । अब म अभर परेँ । सिक्ने कसरी । बाह्वटा सब्जेक्ट अनि कम्प्यूटर क्लास । एक्सरसाइज पनि जोड्दा सातैदिन बिजी । किताबको झोला नै पद्रहदेखि बीश केजीको हुन्छ । नेपालीमा लेख्ने काम मेरो लागि अझ फलामको चिउरा चपाए जस्तो साहे छ ।

अंकल ! मेरो जन्म घर पनि तनहँु जिल्ला हो । हामी गाउँले प¥यौं । तर, सानैमा ड्याड ममसित काठमाडौं आएँ । अहिले काठमाडौमा हाम्रो आफ्नै घर छ । मेरो घरको कुरा गरौं भने मेरो ड्याडी मन्त्रालयमा अधिकृत अनि मम बैँकमा म्यानेजर । बीजि छौं हामी । बिहानदेखि बेलुकासम्म एक–अर्कादेखि अलग अलगै हुइँन्छ । घरमा नेपाली सब्जेक्ट छोडेर साइन्स, म्याथ र अंग्रेजी पढ्न जोड दिनुहुन्छ ड्याड । नेपाली पढ्यो भने ममले पाखे भन्नुहुन्छ । मैले कसरी रामायणका श्लोक पढ्ने कसरी छन्द सिक्ने । उपाय नहुदा यो पत्र र यसमा केही सुझाउ लेख्दैछु ।

अंकल ! तपाईले नेपालीमा रामायण ट्रान्श्लेशन गरेर सम्पूर्ण नेपाली जातिलाई एक सूत्रमा बाध्ने काम गर्नुभयो भनिन्छ । त्यसताक तपाईको रामायण अति लोकप्रिय थियो होला । तर अचेल रामायण पढ्ने चलनै हराए जस्तो छ । म सानो हुँदा बिहे बटुलो, धर्मकार्य र सामाजिक भेलामा स्वरमा स्वर मिलाएर रामायण गाएको सुनिन्थ्यो । तर अचेल यो चलन खुम्चिएर कहिँ कतै बूडाबूडीले खेतको खले गहमा गान्धीजीको जस्तो आइग्लाश लाएर काठको खटियामा रामायण सजाएर रोकिँदै रोकिँदै श्लोक बाँचेको सुनिन्छ ।

अंकल ! अचेल मान्छे धेरै बाठा भए । ज्यादै प्र्याक्टिकल । टाइम छैन उनीहरुलाई । भानु, रामायण र जयन्ती जस्ता विषय अब औपचारिकता मात्र भएर रहेका छन् अचेल । यस्तै औपचारिकता हरुको निर्वाहा गर्ने कामलाई हामी पनि पछ्याई रहेका छौं । चौरस्ता र चोक चोकमा तपाईका दर्जनौं शलिग बनाइएका छन् । शहर, चोक, बजार, अनि भवन तपाईँको नाउँमा छन् । तपाईको जयन्तीको दिन वर्षमा एकपल्ट मान्छे भेला भएर तपाई र रामायणको कुरा घुमाई घुमाई भन्ने चलनले अहिले अझ औपचारिक रुप पाएको छ । जयन्ती पछि तपाईको शालिगपट्टि फर्केर हेर्ने कोही हँुदैन । शालिगको फेदमा गाई र घोडाका गोबरका थाक अनि शालिग माथि परेवा र कागका सुलीको टाटा ।

अंकल ! रामायणमा तपाईले चरित्र चित्रण गर्नु भएको जस्तो भाईको लागि राज्य छोड्ने दाजु, दाजुको अधिकार भित्रको राज्य हो भन्दै खराऊ प्रतीक राखेर पूजा गर्ने भाई, अब कहाँ छन् र ! यहाँ त दाजु भाई नै सम्पत्तिको लागि परस्परमा मारामार गर्नेहरु भने प्रशस्त देख्न पाइन्छन् । आज्ञाकारी शिष्य हनुमानको साटो अचेल छात्रले गुरुलाई ठोक्छन् । पतिब्रता सीताको ठाउँमा लोग्नेलाई लात मारेर पराया ज्याङ्गोसित पोइल जाने सीताहरुको पनि कमी छैन यहाँ । प्रजाको निम्ति मरिमेट्ने दशरथ जस्ता राजा अब कहाँ छन् र ! “दरवार मार्गमा दश हजार जति प्रदर्शनकारी छन् भने गोली ठोकी दे” भन्ने अथवा आफ्नो निरङ्कुश सत्ता जोगाउन लाखौं जनता लखेटेर “यिनीहरु इलिगल इमिग्राण्ट्स हुन्” भनी शरणार्थी बनाउने राजाहरु भने अझ सत्तासीन छन् ।

भानु अंकल ! तपाईलाई एउटा सुझाउ टक््रयाउँदैछु । तपाई कवि हुनुहुन्छ । तनहँु जिल्लाको चँुदी बेँसी जस्तो अभेक ठाउँमा त तपाई त्यसै बस्नसक्नु भएन । वर्षौं धुलो पाटी कोरेर पातीको मसिले पहाडे कागचमा रामायण लेख्नुभयो । त्यतिखेर न टाइपराइटर थियो त न कम्प्यूटर नै । डर्टपेन र डाइरीको त कुरै भएन । अहिले स्वर्गमा पनि तपाई चुप लागेर बस्नु भएको छैन होला । केही न केही गरेर देखाउने तरखरमा हुनुहुन्छ होला । यसै कारण मेरो सुझाउ तपाईको लागि सान्दर्भिक हुन सक्ने छ भन्ने लागेर लेख्दैछु । कुनै समय तपाईले रामायण ट्रान्श्लेशन गर्नुभयो । अब एउटा अन्याधुनिक अंग्रेजी रामायण लेख्नु प¥यो भन्ने मेरो सुझाउ हो । अब त्यसका पात्र छान्न तपाईलाई गहारो पर्ने छैन । देउ देउताको कुरोभन्दा मान्छेको कुरो गर्दैछु । यस्ता क्यारेक्टरका माध्यमले नयाँ प्रकारको अंग्रेजी रामायण लेख्नु हुने सुझाउ हो मेरो । नितान्त नयाँ पात्र । संसारको सबैभन्दा घिनलाग्दो क्यारेक्टर हिटलर, अतिप्रिय केनेडी, बुद्ध, गान्धी अनि नानक जस्ता क्यारेक्टर एकातिर छन् भने गन्धर्ब माइकल ज्याक्शन, नारायण गोपाल, कोइली देवी, को कुरो कम रमाइलो छैन, रणक्षेत्र भनेको इराक र अफगानिस्थान खुबै सान्दर्भिक छ । साथसाथै ह्यारी पोटरको सिरियल पनि तपाईको निम्ति सहायक सामग्री हुनसक्छ । अंकल ! किताबको एकछेउमा लादेनको इन्टरभ्यू पनि छापिदिनु भयो भने यो तपाईको अत्याधुनिक अंग्रेजी रामायण अमिताभ बच्चनको बागवान् भन्दा अझ लोकप्रिय भएर विश्व कीर्तिमान स्थापना गर्नसक्ने छ । रचना गर्न तपाईलाई भाषाको समस्या हुने छैन । तपाई सँगसँगै हजारौं विद्धान् स्वर्ग पुगेका छन् । जसकसैले पनि सहयोग दिनसक्ने छन् । बाणभट्ट, दण्डी, कालिदास, भारवि, भट्टो जी दीक्षित, सेक्सपियर, होमर, बड्सबर्थ, सेली, रिचटर, देवकोटा । यी सबै विद्धान् भेला गर्नुभयो भने नेपालको संविधान सभा सदस्यको संख्याभन्दा अधिक हुनेछ विद्धानहरुको संख्या । कम छैनन् यिनीहरु । सबै त स्वर्गै गएका छन् । कुन पश्चिमी र कुन पूर्वीय विद्धान् । कुनै भेदभाउ पनि हँुदैन रे स्वर्गमा । के को कमी र अंकल । खोजी खोजी अनि रोजी रोजी लेख्न सक्नु हुनेछ । न भोक न तिर्खा । स्वर्गमा न बूडो हँुइने हो न त रोग ब्याधि लाग्ने डर । कुनै राणाको सास्तिमा जेलनेल भोग्नुपर्ने पनि होइन त्यहाँ तपाईले । गजाधर सोतीकी श्रीमतीको कचकच पनि त्यहाँसम्म आइपुग्ने होइन । अर्कोले खनेको कुवाँ देखेर अब पछुताउनु पनि पर्दैन अंकल ! किनकी त्यहाँ रंगीचंगी फूलले ढकमक्क ढाकेका एक से एक पोखरी छन् रे । आफ्नो छोरालाई ध्यान दिएर पढ है भनेर रिसाउँदै काशीमा चिठ्ठी हाँक्नुपर्ने वाध्यता पनि त छैन स्वर्गमा । मत्र्यलोकमा छँदा देउ देउताको कुरो लेख्नु भएथ्यो अब स्वर्गमा हँुदा मत्र्यलोकका मानिसको कुरो लेख्नु अझ मजा आउने छ । अनि हामी जस्ता अधकल्चे ठिटाहरुको पनि दिन फर्कने छन् । अनि अंकल ! अबको तपाईको अत्याधुनिक अंग्रेजी रामायण गिनिज बुकमा । पढ्नेहरुको तानातान ।
भूलप्रति क्षमा पाऊँ,

तपाईको
शुभेच्छुक

अनुराग शर्मा
चाबहेल , काठमाडौं

One Reply to “भानु अंकललाई सुझाउ”

  1. krishna pokharel, solukhumbu, nepal

    लेख राम्रो लाग्यो, ऐतिहासिक एबं पौराणिक पात्रलाई उभ्याएर आफ्ना कुरा उनकै मुखबाट भनाएर लेख पठनीय भएको छ, भानुले आफ्ना जीवनमा भोगेका दुख कष्ठहरु लेखका बिचमा ल्याएर नयाँ पाठकहरुलाई भानुको जीवनीका बारेमा जानकारी दिन खोजिएको छ, यौटा पत्रकारले पत्रिकामा लेख्ने सरल भाषाको प्रयोगले लेख पदने जोसुकैलाई बुझ्न सजिलो बनाएको छ, अंग्रेजी शब्द अनि बोलीचालीको भाषाको प्रयोगले कारक र विभक्ति चाँही अलिक नमिलेको हो कि भन्ने जस्तो लागेपनि बिषयबस्तुको मिठासले गर्दा पाठकले थप सामग्री पदन इच्छा गर्दा गर्दै अन्तिम हरफ आइपुग्छ, लेकका पुछारमा सुवेच्छुकको नाम अर्कैको हुँदा यो त कथा पो हो कि भन्ने भान भए पनि यो लेखकको नयाँ लेखकीय काइदा हो भन्ने मलाई लागेकोछ , .
    धन्यबाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *