भित्री-बाहिरी
टि.आर.राई आँशु
अमेरिका
विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै
बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै
धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै
जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै
भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै
बेला बेलामा नचाहेरै पनि झुटको खेती गर्दै
“तपाँईलाई कस्तो छ?” भन्नेलाई उत्तर दिँदै,
मलाई ठिकै छ, भन्नै त पर्छ मा सहमत हुँदै
कसलाई के को वास्ता! आफैलाई सम्हाल्दै
यो त बाध्यता हो नि नत्र के गर्ने र अल्मलिंदै
अपार सुविधा र औसरको प्रकाशतिर हेर्दै
कहीँ कतै थोरै ग्रहण लागेकै छ भन्ने बुझ्दै
विचारहरूको तालमेल नमिल्दा दुख मान्दै
अघि बढ्ने ती पाइलाहरूमा ठेस लगाउँदै
सधैँ झैँ आज पनि आठ घण्टा पुरा बिताउँदै
दश प्रणालीहरू अब थाकेको महसुस गर्दै
धेरै जनाको ङिच्च ती दाँतहरूलाई सम्झिँदै
जबरजस्ती निकालिएको मुस्कुराहट ठान्दै
साँचै नै ओठको तल्लो भागसम्म आई नपुग्दै
पूर्ण रूपले खतम हुने, नष्ट हुने कुरा जान्दै
उनीहरूको रहर हो की बाध्यता थाह नहुँदै
यसरी दैनिक पटक पटक निज छक्क पर्दै
बस्छ सयौँ मुस्कानहरूको हत्या भएको हेर्दै
हेर्ने सुन्दर आँखाहरू, चमक देखिन्छ ज्यादै
उसलाई देख्ने मनहरू त फोस्रो हुनेछ मान्दै
भावनाहरू विवादित छन् आफै सतर्क रहँदै
समान औसरको सदस्य भएको बेकार ठान्दै
शब्द र व्यवहारबिच लामो दूरीलाई नियाल्दै
उसको लागि त यो भ्रम मात्र रहेछ भन्ने बुझ्दै
परको क्षितिज जस्तो,स्वयम धेरै बिरक्तिँदै
तर यो कुरा प्रष्ट छ, इसाराद्वारा छर्लङ्ग पार्दै
ती मुस्कानहरूमा कुनै चासो नरहेको मान्दै
हुन त निजको पनि ती दाँतहरू,दिक्क लाग्दै
अरूले नदेखेका पक्कै होइनन् सङ्कोच भर्दै
उनीहरूले कसरी लिए पुर्णतया थाह नपाउँदै
जस्तोलाई त्यस्तै गर्ने, बानी चैँ कदापि नहुँदै
यहाँ लिनु-दिनुमा पक्कै फरक छ भनी बुझ्दै
यसलाई बुझेमा राम्रो नबुझेमा चाम्रो छ भन्दै
पल्लो गाउँको आगन्तुक, वल्लो गाउँमा सर्दै
यही नै उसको मुकद्दर हो
उ त यसको लायक बनेछ
यही नै उसको गन्तव्य हो
उसले यसरी नै हिँड्नु छ।