भुसभित्रको आगो
देवेन्द्र भट्टराई
काठमाडौँ
‘भूटानीहरूका माझ पुनर्बासको चिठ्ठा एउटा जटिलता भएर उदायो । नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार भनेझैं हामीमाझ केवल दुइटा विकल्प उभ्याइयो— कि त पुनर्बासमा जाने वा दुई दशकदेखि बाँच्दै आएको शरणार्थी जीवनसँग खुसी हुने । भाषा, साहित्य अनि आफ्नो संस्कृतिलाई आफूभन्दा प्यारो मान्दै यसैको रक्षार्थ आन्दोलन गर्दा देश निकाला बनेका हामी एउटा फरक महत्वको निवा बाँच्ने लालसामा कुम्लो-कुटुरो कस्नतिरलाग्यौं । अन्तर्राष्ट्रिय उडानहरूले सामान्यतया निर्धारण गर्ने गरेको २३ केजीको लगेजमा कति नेपाली किताब अटाए, कति धर्मग्रन्थ अटाए, कति दौरा-सुरुवाल र सारी-चोलो अटाए— मलाई थाहा छैन । यद्यपि यो क्रम रोकिएको छैन, चलिरहेको छ निरन्तर ।’ एकरितको शरणार्थी जीवनमा पुनर्बसोबासको विकल्प देखेर झापाली बेलडाँगी शिविरबाट युरोपेली मुलुक नर्वे पुगेका २७ वर्षे भुटानी नागरिक रमेश गौतमको मनको गुम्फन हो यो । ‘फ्लिक्निङ’ (शरणार्थी) हैसियतमा राष्ट्रसंघीय पुनर्बसोबास कार्यक्रममा परेर नर्वे पुगेका उनलाई यतिखेर जब कोही पराईले ‘तिम्रो देश कुन हो ?’ भनेर सोध्छ, तब उनी नराम्रोसँग झस्कने गर्छन् । उनी मात्रै होइन, यस्तै पुनर्बसोबासको विकल्प रोजेर अमेरिका, युरोप, अष्ट्रेलियातिर छरिँदै पुगेका नेपालीभाषी भुटानीहरू अहिले आएर झस्कन थालेका छन् । ‘हामी को हौं ? हाम्रो अस्तित्व के हो ? हाम्रो आकाश-धर्ती कुन हो ? हामी भुटानी, नेपालीभाषी भुटानी अथवा कथित अन्तर्राष्ट्रिय नागरिक के हौं ?’ यस्ता असंख्य प्रश्नका भारले किचिएर उनीहरू निसास महसुस गर्न थालेका छन् । झन्डै ७० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुगिसकेको यो घडीमा यो संख्याभित्रका कवि, लेखक र चिन्तकहरू अहिले आएर ‘भर्खरै सातो फिरेको बालकझैं’ बनेका छन् ।
भूटान साहित्य परिषदले राजधानीमा आयोजना गरेको परामर्श-गोष्ठीमा इन्जिनियरिङ विद्यार्थी गौतमले आफूहरू ‘न हराएको न देखिएको’ स्थितिमा रहेको बताए । गुगल-ग्रुप र केही अनलाइन पोर्टलमा भुटानी नागरिक हुनुको आफ्नै तुष्टि पोखिरहे पनि यथार्थको पाटो अर्कै छ । नेपालमा रहेका केही आफन्त भेट्न आएका गौतमको पीडा उनको पासपोर्टमा उल्लेखित छ, जहाँ लेखिएको छ— ‘भुटान जान प्रतिबन्ध ।’
भूटानमा रहेको नेपाली साहित्यको प्रबर्द्धन गर्न सन् १९९३ मा गठित साहित्य परिषद्का अध्यक्ष भक्त घिमिरे अहिले अमेरिका पुगेका छन् । परिषद्का प्रकाशन सचिव रमेश गौतम नर्वे पुगेका छन् भने प्रशासनिक सचिव यतिराज अजनवी अष्ट्रेलियामा छन् । संस्थामा सक्रिय गंगाराम लामिटारे पाताल प्रवासमा छन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, भुटान च्याप्टरका अध्यक्ष आईपी अधिकारी अष्ट्रेलिया पुगेका छन् । ‘हामी छोपिएका छौं, थिचिएका छौं,’ साहित्य परिषद्का उपाध्यक्ष शिवलाल दाहालले भने— ‘भुटानी नेपालीभाषीको हकहित र एकमुष्ठ सिर्जना संकल्प कसरी सम्बर्द्धन गर्ने भनेर हामी चिन्तित छौं ।’ हाल झापा विर्तामोडमा रहे पनि अब केही महिनापछि अमेरिका उड्ने तयारीमा रहेका दाहाल शनिबार ‘समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिंँदो सन्दर्भ’ बारेमा मनका गुम्फन पोखिरहेका थिए ।
‘भूटानले हामी नेपाली भाषीमाथि गरेको अत्याचारको घाउ मनमा गडेको छ, विश्वको जुनै ठाउँमा पुगे पनि घाउ विसेक हुने संकेत छैन,’ गौतमको अनुभव छ— ‘हामी पछिका सन्तानले त्यो हाम्रो मातृभूमि -(भूटान) हो भनेर हेक्का राखिदिएनन् भन्ने हाम्रो पुस्तैनी हैसियत के रहला भन्ने चिन्ता हामीमाझ फैलिएको छ ।’ उनका बुझाइमा झन्डै एक लाख भुटानी शरणार्थीको समुदायमाझ खुलेका ५० भन्दा बढी संघ-संस्थामाझ एकताको स्वर कहिल्यै सुनिएको थिएन । स्वेच्छिक घरफिर्तीको नारासमेत ठूला र मान्यवर भनिएका भूटानी नेताहरूमाझ पनि ‘ओठेभक्ति’को विषयमात्रै बन्यो । यसबेला सधैंको अन्योलमा अल्झिरहनुभन्दा पुनर्बसोबासको विकल्प रोजिएको उनको स्वीकारोक्ति थियो ।
आज पुनर्बसोबासमा गएका भूटानी शरणार्थीहरूमाझ आफू ‘अनागरिक’ बनिरहेको पीडाबोध त छ नै । अर्कातिर मातृभूमि चिराङ वा साम्चीबाट जोडिएको त्यो माटोसँगको पुस्तैनी अबका दिनमा ‘अज्ञात’ बन्ने हो कि भन्ने चिन्ता पनि छँदैछ । उदाहरणस्वरुप ‘भणटान न्युज सर्भिस’का सम्पादकसमेत रहेका यिनै रमेश गौतमको छिन्नभिन्न मनोदशालाई हेरौं । रमेशका बुबा, सानीआमा, भाइहरू पुनर्बसोबासको त्यान्द्रोमा उनिएर डेनमार्क पुगेका छन् भने उनी आफ्नी आमा र दिदीका साथमा नर्वेमा छन् । अब यसबेला यो गौतम परिवारले चिराङको गाउँमा रहेको आफ्नो घरखेतको ‘नोस्टाल्जिया’मा डुबिरहने कि पारिवारिक पुनर्मिलन खोज्ने ? अथवा नेपाली भाषा, साहित्य र संस्कृतिको ‘अपनत्वबोध’ गरिरहने ? आफ्नै चेतनाका बलमा अबको बाटो पहिल्याउने दिशामा हिँडेका रमेश गौतमजस्ता युवा शरणार्थीको संख्या औंलामै गन्न सकिएला । शरणार्थी हैसियतमा रहेका गुन्टुर ग्रासले नोबेल पुरस्कार पाएको अथवा ग्वाटेमालाकी शरणार्थी लेखिका रिगोबेर्टा मेन्छुले नोबेल शान्ति पुरस्कार पाएको घटना रमेशसम्मको आजको पुस्तालाई थाहा छ । तर यसैगरी एक लाख भूटानी नागरिक ‘अनागरिक’ हैसियतमा अमेरिका र युरोपको वासिन्दा बनिसकेपछि तिनीहरूभित्र छोपिएर बसेको आक्रोश र गुम्फनले कस्तो रूप लिन सक्ला ? जवाफ फेरि रमेश गौतमले दिएका छन्— ‘हाम्रो आवाज भनेको भुसको आगो हो, कुनै दिन यसको तातो सबैले थाहा पाउनेछन् ।’
साभार: कान्तपुर