भूकम्प र म

कथाकार
कथाकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

अचानक मेरो फोनको घण्टी बज्यो । म काममा थिएँ त्यतिबेला । यसो फोन उठाएर हेरेँ । नेपालबाट आएको रहेछ । यहीँ छेउछाउको अथवा अमेरिकाका साथीभाइको फोन थियो भने सायद म उठाउने थिइनँ होला किनकि काम गरेको समयमा फोन उठाएर गफ गर्नु राम्रो मान्दैनथ्यो मेरो कम्पनीले । यसो यताउती हेरेँ कोही देखिन अनि फोन उठाएँ । फोन उठाउनेबित्तिकै “दाइ” भन्दै रोएको आवाज आयो । म पनि अत्तालिएँ । के भएको भनेर सोध्ने आँट पनि आएनछ । पछि सोधेँ के भयो भनेर अनि रुँदै उसले भनी “दादा यहाँ त भूकम्प आएर सबै घरहरू ध्वस्त भएका छन्, मैँले पढ्ने कलेज पनि आधा ढल्यो । बल्लतल्ल होस्टेलबाट भागेर चौरमा आएर बसेकी छु साथीहरूसँग”।

मैँले केही भन्नै सकिनँ, सधैँ अर्ति उपदेश दिने गर्दथें , सधैँ सही र गलतको परिभाषा सिकाउने गर्दथें । तर आज केही भन्नै सकिनँ मैँले,बोल्नै सकिनँ म । एकैछिनमा मुख खोलेँ अनि भनेँ, “अलि खुल्ला ठाउँमा गएर बस्नू । नआत्तिनु, केही हुन्न।” मैले अरू भन्न पनि सक्दिन थिएँ किनकि ऊ नेपालमा अनि म समुन्द्रपारिको देश अमेरिकामा । यत्तिकैमा उसले सोधी, “दादा त्यहाँ भूकम्प गएको छैन?” यो प्रश्नले लाग्थ्यो उसले संसारभरि भूकम्प गएको आभास गर्दै थिई अथवा संसार सकिन लागेको महसुस गर्दै थिई । मैँले प्रश्नको उत्तर दिएँ, “यहाँ आएको छैन” । यति भनेर मैँले फोन राखिदिएँ अनि मनमनै प्रार्थना गरेँ “मेरो कर्मभूमि नेपालमा गएको भूकम्प रोकियोस् अनि कसैको हताहती नहोस्” ।

म काम सकेर घर आएँ अनि समाचार हेरेँ । समाचार सुनेर मेरा आँखा रसाए । धेरै जनधनको क्षति भएको खबर सुनें । मैँले केही सोच्न सकिनँ । मन रोइरह्यो , रोइरह्यो । चाहेर पनि मैँले केही गर्न सक्ने अवस्था नै थिएन । मैँले बहिनीलाई फोन गर्न खोजें, फोन लागेन । यसले झन डर पैदा गर्‍यो । चार दिनसम्म बहिनीको अत्तोपत्तो भएन । चार दिनका दिन मलाई उसैले फेसबुकमा मेसेज लेखिछ “दादा म ठिक छु । अहिले गाउँ आएर बसेकी छु” । यो खबर पाएपछि मन अलिक शान्त भयो तर हज्जारौंको मृत्यु अनि घाइते, करोडौंको क्षति अनि लाखौँ घरबारविहिन भएको खबरले मन पोलिरह्यो । मैँले सक्ने सहयोग गर्नुपर्छ भनेर रेडक्रस अनि विभिन्न संस्थाहरूबाट सकेजती पैसा पठाइदिएँ अनि अहिले पनि मेरो कर्मभूमि नेपालप्रति प्रार्थना गर्दै बसिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *