भूक्तभोगिको अनुभव
कमलापति सुवेदी
अमेरिका
म कमलापति सुबेदी । मेरो जन्म भूटान देशको चिरांग जिल्लामा सन् १९४७ सालमा भएको हो । त्यसपछि सर्भाङ् जिल्लामा सन् १९९० सालसम्म देशको सेवा लगायत उन्नत्मुलक काम गर्दै जाँदा सरकारको नीति सन् १९८० को दशकबाट परिवर्तन भयो । त्यसै क्रममा एक देश एक भेशको हुकूम र नाराका साथ जातीय भेद्भाव गर्दै सामान्य कुराहरुको विषयलाई लिएर प्रजामाथि अत्याचार भएपछि सन् १९९० सालमा जनताबाट भूटान सरकारले अत्याचार गरेको कुरा संसारका अगाडि पर्दाफास भयो । त्यसपछि भूटान सरकारबाट विषय बुझ्नको सट्टामा सेना परिचालन गरी गाउँ शहरमा बसोबास गर्ने जन्तामाथि कुटपिट गर्ने निर्दोष व्यक्तिलाई समाती जेल चलान गर्न थालियो । त्यही क्रममा सन् १९९० को अक्टुवर २६ का दिन भूटानी सेना मलाई पक्राउ गर्न मेरो घरमा आउँदै गरेको सूचना पाई सैनिकका हातबाट बाँच्न सफल हँदै आफ्नो प्राणभन्दा प्यारो जन्मभूमि–कर्मभूमि साथै पुर्ख्यौली श्रीसम्पत्ति छोडी आफ्नो ज्यान बचाउनका निमित्त भारतभूमिमा प्रवेष गरें । भारत सरकारद्धारा भारतीय पुलिसको बलमा नेपाल प्रवेश गराईयो । नेपाली भूमिमा अठार वर्षसम्म नेपाल सरकारको सुरक्षा र अन्तरास्ट्रिय संस्था UNHCR को छत्रछाँयामा शरणार्थी जस्तो कष्टकर जीवन जन्मभूमि भूटान जाने आशामा बिताईयो । भूटानी शरणार्थीहरुको स्वदेश फिर्ति अभियानलाई पटकपटक भारत सरकारले विफल पारी दिएपछि भूटानीहरुले भयभित अवस्थामा जीवन बिताउनु पर्यो । यही अवस्थामा विभिन्न देशका सरकार तथा सँघ संस्थाहरुले तेस्रो मुलुकको अभियान अघिसारी दिएको हुँदा शरणार्थीहरुलाई नयाँ जीवनको आशा पलायो । अन्तराष्ट्रिय संस्था UNHCR को सिफारिसमा IOM को जिम्मा हुँदै अमेरिकाको भूमिमा अमेरिकी सरकारको निति अनुरुप वसोवास गर्न पाउँदा म लगायात समपूर्ण परिवार आजन्म ऋणि भएको महसुस गरेका छौँ । सम्पूर्ण भूटानी शरणार्थीहरु जुनै देशमा वसोवास गराईएको भए पनि हाम्रो दयनिय अवस्थाबाट उद्धार गर्ने देशका सरकार साथै दातृ संघसंस्थाहरुले दिएको नयाँ जीवनको स्मरण रहिरहोस भन्ने निवेदन् पनि गर्न चहान्छु ।
भूटानमा वाङचुक वंशको बाहुल्य हुनु भन्दा सयौँ वर्ष अघिदेखि वसोवास गर्दै आएका भूटानी नागरिकहरुलाई चौँथो राजाको पालो आएपछि असैह्य निति डिग्लाम्नाम्जा लागु गर्दै भेषभूषा परिवर्तन गर्नै पर्ने साथै गृनवेल्ट भारतभूटान सिमाना को एक किलो मिटर भित्र वृक्षरोपण गरिने निति लागु गरियो । सयौँ वर्ष अघि देखि भोगचलन गरेका जमिनहरु जन्ताले आफ्नो भन्न नपाई सरकारद्धारा जफत गरियो । यसरीनै जनगणना गर्ने बहानामा एकै परिवारका सदस्यहरुलाई सात तहमा विभाजन गरि क्षतविक्षत पारियो । अनादी कालदेखि पढ्दै आएको नेपाली भाषाका पाठ्यापुस्तकहरु सन् १९८९ सालमा आगोमा जलाई भाषानै समाप्त पारियो । नोकरीका ठाउँहरुमा योग्यताको कदर नगरी जातीय भेदभाव तथा नातावादमा नोकरी दिने चलन चल्यो । जातीय संकार संकृति भाषा पोशाक आदिको थिचोमिचोबाट जन्तामा अस्तव्यस्त असान्ति फैलाएर सरकार आफैले आन्दोलन निम्त्यायो । आफ्ना सन्तान सरहका धर्मप्राण निर्दोस नागरिकहरुलाई सैनिकद्धारा अत्याचार गराउने अमानविय यातनादिने साथै मार्ने र घरमा भएका वालवृद्ध आदि परिवारका सदस्यहरुको रोदनिय पुकार नसुनि घरबाट निकाल्ने गरियो । चलअचल साझा सम्पत्ति एवं देशको हकहितबाट इच्छा बिपरित जवरजस्ती निर्दयता पूर्वक रुवाउँदै सैनिकद्धारा देशनिकाला गरिएका भूटानीहरु आज संसारका विभिन्न आठ देशहरुमा विभाजन भई विछोडको पिडा सहन वाध्य छन ।
आफन्तहरुबाट बिछोडिने क्रममा म पनि अमेरिकाको एक राज्यमा आईपुगेँ । यहाँ धेरै देशका मानिसहरुसँग भेट भयो । आफु अंग्रेजी भाषा बोल्न नजान्ने भएकाले आफ्ना छोराछोरीबाट बुझ्दा ती मानिसहरुपनि आफु जस्तै सरकारले देश निकाला गराईएका र आफ्नो जस्तै पिडा दायक कथाव्यथा भएको थाहा भयो । यी मानिसहरुपनि हामी भूटानी जस्तै आन्दोलनको चपेटामा परि साँडेको जुदाई बाछाको मिचाई भन्ने उखान जस्तै आफुले देश छोड्नु परेको पूर्ण कारण थाहा नभएको जस्ता पनि भेटियो । यसबाट के थाहा भयो भने भूटान सरकार जस्तै अरु केही देशका सरकारहरु पनि निरङ्कुस हँदा रहेछन् भन्ने थाहा भयो । जुन बेला भूटान सरकार द्धारा लखेटिएका भूटानी नागरिकहरु भारत सरकारले तुरुन्तै नेपालको सिमानामा अलपत्र अवस्थामा छोडीदिएकॊ थियो । त्यस अवस्थामा नेपाल सरकार द्धारा माई नदिको किनारमा बस्न आदेश दिइयो । जस समयमा खान नपाउँदा विभिन्न रोग साथै अरु समस्यहरुले वाल वृद्ध नवजात सिसुहरुको अकालमै मृत्यु भयो । तथ्याड्क अनुसार सबै भन्दा धेरै घट्ना भएको एक दिनमा ३८ जना सम्मको देहान्त भएको हो । कुनै परिवारको त वंशनै समाप्त भयो । यसै क्रममा अरु परिवारले पनि एक न एक सदस्य गुमाएको पिडा बोकी आज विभिन्न मूलूकहरुमा आफ्ना बितेका सन्तानहरुलाई सम्झी भावविह्वल भई दिन बिताई रहेका बुझिएको छ । यथार्थमा भन्नु पर्दा यी दुःखदाई घट्नाहरु भूटान सरकारका कारणबाटै भएका हुन् भन्नु पर्दछ ।
जन्मभूमिबाट सैनिक प्रयोग गरि लखेटिएका देशभक्त नागरिक वृद्ध वृद्धाहरु के भन्नु हुन्छ भने यति लामो समयसम्म नेपालमा बसियो । आज अर्कै संसारमा पूगियो र पनि आफ्नो आत्माले बिर्षन नसकेर होला यो वैकुण्ठमय सुखसुबिदामा रहेर बाँच्न पाएको भएता पनि सपनामा आफूले भोगचलन गरेका खेत बारी बगान घर पाल्तु पसु आदि सम्पत्ति आफूले छोड्दाकै जस्ता देखिन्छन भनेर धेरै जसोले भन्ने गर्नु हुन्छ । म आफै पनि भूटान आमाको सन्तत्ति भएर नै होला धेरै जसो सपनामा आफ्नो अचल सम्पत्ति पाल्तु पसु आदि मात्र नदेखेर भूटानको राजधानि थिम्पुको राजदरवार टासिछोजोङ्ग भित्रै पसेर घुमिरहेको पनि देख्तछु । भूटानी वृद्धवृद्धाका गुनासा कस्ता पनि छन् भने हामीलाई भुटान सरकारले अत्यचारका साथ देश निकाला गर्यो आज सात समुद्र पारी पुग्दा पनि राति राति हाम्रो हंस चाहि भुटानै पुग्दछ भने जन्मभूमिको महत्व साधारण होईन रहेछ । हुन त लक्ष्मणले लंका सुनको रहेछ यतै बस्ता हुदैन दाई भन्दा रामचन्द्रले लंका सुनै सुनको भएता पनि भाई “जननी जन्म भूमिश्च स्वर्गा दपि गरियसी” भन्नु भएको थियो । देशभक्त भूटानीहरुको मनोभावना बुज्दा अवसर मिले आमाकै काखमा पुगेर बस्न लालाहित भएका देखिन्छ । हुनपनि त आफ्नो देश जन्मभूमि पैतृक् थलो पैतृक सम्पत्ति मातृभाषा जातिय संकार आफ्नो वंश आफुले रगत पसिना बगाएर कमाएको सम्पत्ति आदि उल्लेख गरिएका कुराहरु मानवमात्रका जीवनकालमा अत्यन्तै महत्वपूर्ण हुन्छन् पनि । यसो हुँदा महत्व बुझ्ने सज्जन व्यक्तिहरुका लागि जतिनै सुख्सुविधा भएता पनि तुच्छ मानेर यी कुरा गर्नु आफ्नो बिचारमा पनि जीवनको ठूलो चोट सहन बाध्य भईएको हुँदा भूटानी सज्जन वृन्दका गुनासाहरु स्वभाविक नै ठानेको छु ।
मानिसहरुमै घट्ने गरेको एउटा उखान पनि यहि जोड्न मन लागेको हुँदा उल्लेख गरिएको छ । ठूला वृक्षका आडमा बसे सूरक्षीत रहिन्छ भन्ने बिस्वासमा भूटानले भारतिय सेना तिब्बत र भूटानका सिमानामा राख्ने हुँदा देश सूरक्षीत रहने ठानेर भूटान सरकारले मन्जुर गरेको रहेछ । भारत सरकारले चाहिँ भूटान सरकार सहित आफ्ना पन्जा भित्र पर्यो भन्ने ठानेर भूटानको समतल भूमि भूटान सरकारले थाहा नै नपाई सिमाना भूटानको बिचमा पुर्याई स्वाट्ट निली दिएछ । त्यस पछि आफ्नो भूमि फर्काउन भूटानले ठूलो प्रयत्न गर्दा पनि जोड नलागेपछि भारतले केहि सानो तिनो रकम ठेक्का स्वरुप दिने लोभमा फँसाएर गरिएको सन्धी पत्र आज पनि जिवितनै राखिएको छ । यसरीनै चीनले तिब्बतीयहरुको देशनै सलक्क भित्र्याएर मार्च ३१ १९५९ साल देखि दशौ लाख तिब्बतीहरु दलाई लामा सहित भारत तथा नेपाली भूमिमा शरणार्थी जीवन बिताउँन बाध्य छन । छिमेकी देश कब्जा गर्ने क्रममा भारतले सिक्किम र नेपालको पनि केहि क्षेत्र कब्जा गरेको ईतिहाँस आलै छ । अझैपनि घरझगडाले गर्दा नेपाल र भूटानको पुरानो घाउमा नयाँ रोग लाग्न नस्कला भन्ने परिस्थिति छैन ।
भूटानको संरक्षण र दिसानिर्देसन गर्दै आई रहेको विशाल गणतन्त्र भारतले राजा तथा भूटानी सरकारको मात्र रक्षा गरेको छ । भूटान सरकारले भूटानी नागरिकहरुलाई जुन बेला देखि देश बिहिन गरायो त्यही समय देखिनै भारत सरकारले चाहि भूटानी नागरिकहरुप्रति पूर्ब रिषिबी भएझै भारतिय भूमिमा पाईला पर्ने साथसाथै अमानविय यातनाका साथ आफ्नो सिमाना कटाएर नेपाल प्रवेश गराईएको ईतिहाँस जीवितै रहेको छ । केहि दिन पश्चात तिनै भूटानी नागरिकहरु स्वदेश फर्कन्छौ भन्दै बाटो लाग्दा नेपाल भारत सिमानामा हजारौको संख्यामा भारतिय सेना तैनाथ गरि १४४ धारा लागु गरिएको घोषणा गरि भूटानी शरणार्थीहरुलाई स्वदेश जान बाट रोक लगाईयो । साथै भारतिय सेना द्धारा उत्श्रींखल ब्यावहार गरि गोली बारुदको प्रयोग गर्नुका अतिरिक्त भूटानीहरुलाई घाइते बनाई केहि शरणार्थीको हत्या समेत गरेर भूटानीहरुको भविष्यमा आघात पुर्याएको आलै छ । यसै क्रममा भूटानीहरुलाई स्वदेश फर्कन भारतले बाधा पुर्याएपछि नेपाल सरकारले उपाय सोचेर नेपाल भूटान वार्ता द्धारा शरणार्थी समस्या समाधान गर्ने पक्षमा वार्ता सुरु भयो । मन्त्रीस्तरिय तह तहका वार्ता हुँदा पनि भारत मुखि भूटान सरकारले वार्ताको निकाशमा पुग्न नचाहेर वार्ता वार्तामै समस्या अल्झाई राख्ने भूटानको विशालु भावना बुझेर नेपाल सरकारको टोली पटकपटक भारत सरकार समक्ष त्रिपक्षिय वार्ताका निमित्त पुकारा गरियो । तर भारत सरकाले पुकाराको वास्ता नगरि “ये भूटाननेपाल दो देशका समस्या हे भारतका यिस्मे कोहि जरुरतनहि हे जाहिये भूटान सरकारका साथ वार्ता किजिए” भन्दै धेरै पल्टसम्म नेपाल सरकारलाई बिमुख पारेर फर्काई आफू जोगिएको यथार्थता पुरानो भएकै छैन।
यहि संदर्भमा भन्नु पर्दा भारतले भूटानलाई कतिसम्म काबुमा राखेको छ भन्ने उदाहरण स्वरुप हालमा विभिन्न मुलुकमा पुनर्बास गराईएका भूटानी शरणार्थीहरुलाई स्वदेश फर्काउ भनेर भारत सरकारले भन्ने बितिकै बिना प्रतिउत्तर भूटानले आदेश मान्ने सम्मको स्वामित्वमा भारतलाई भूटानले सम्मान गर्ने गरेको छ । हालमा पनि भूटानी शरणार्थी समस्याको दिगो समाधान गर्ने अभियानमा विभिन्न राष्ट्रका सरकार लगायत हरेक संघसंस्थाहरु अरबौ धन राशि खर्च गरि जुटि रहेका छन् । तर पनि हिन्दुस्थान भनेर चिनिएको भारतले हिन्दु तथा बुद्धिष्ट भूटानी शरणार्थीहरुको कल्याणका निम्ति कुनै क्षेत्रमा पनि साथ नदिनु र सन् १९९० साल देखि आजसम्म भूटानी शरणार्थीहरु प्रतिको कुद्रीष्टि र गरिएको कुव्यवहार संसारका अगाडि गुण गाउन म विवश छु ।
यहि सिलसिलामा भूटानभित्र चलिरहेको परिस्थिति भन्नुपर्दा प्रजातन्त्रको बहाली भयो नयाँ संविधानको निर्माण भयो साथै निर्वाचित सरकारको पनि घोषणा भयो । तर पनि आज भूटानभित्र रहेका चारलाख जति नेपाली जातिको मातृभाषा संस्कार संकृति लिपि साथै पाठ्यपुस्तक सन् १९८९ सालमै आगोमा जलाई नेपाली जातित्व नै समाप्त गर्न खोजिएको प्रयास आज पनि गोप्य राखेको जस्तो देखिन्छ । किनभने भूटानमा प्रजातान्त्रिक सरकारको उदय भएता पनि नेपाली भाषालिपि आदिको पुनःउत्थान गरिने लक्षण देखिएको छैन । कारण सन् १९९० साल देखि बन्द गरिएका विध्यालयहरु अठार वर्षपछि मात्र क्रमसः खोलिदै छन् । तर भूटानमा अनादि कालदेखि सरकारि कार्यलय लगायत संपूर्ण क्षेत्र ओगटेर मान्यता प्राप्त तीनवटा भाषालिपी आज भने जोङ्गखा र अंग्रजी भाषाका मात्र पाठ्य पुस्तक विध्यालयहरुमा पठन् पाठन् गराईदै छ । तथा सरकारि कार्यलयहरुमा पनि इनै दुईवटा भाषाले मात्र स्थान पाएको हुँदा भूटानमा रहेका नेपाली जातीहरुलाई आफ्नो मातृ भाषाबाट बन्चित गराईएको आज दुई दसक नै बित्यो । त्यस कारण भूटानमा जातीत्वको संरक्षण सरकारले नगरेर सन् १९८० को दशकमा चलाईएको नारा एक देश एक भेष भन्ने जुन थियॊ त्यसैलाई मन्द गतिमा अंगाल्न लाउने पक्षमै सरकार बलवान रहेको बुझिदैछ । यता संसारका विकाशउन्मुख देश तथा विज्ञ मानिसहरुको भनाई प्राणीमात्रको अधिकार स्वतन्त्र रहनु पर्छ भन्ने छ भने भूटानमा चाहीँ एकाइसौं सताब्दिमा पनि मानव जाती माथिनै प्रजातन्त्रको मखुण्डो भिरेको भएता पनि भूटान सरकारले जनावर सरह ब्यावहार गर्न हिच्किचाएको छैन । कुनै पनि देशभक्त नागरिकहरुको बोल्ने साहस नपुग्दा र बोले छिमेकिहरु कसैले पनि नसुनीदिने भएकाले गर्दा जे गरे पनि सहेर बाच्न बाध्य हुनु परेको यथार्थता छ ।
यो लेखको सारंसमा आफुलाई सन्तोष जनक र न्याय पूर्ण मानिने तथा भविष्यको सुधारका सोचमा आफ्नो विचार प्रस्तुत गरेको छु । विभिन्न देशका नागरिकहरुलाई आआफ्ना सरकारले देश विहिन गराई घरको न घाटको बिना सहारा दिशा विहिन अवस्था देखि लिएर विभिन्न दातृ संघसंस्थाहरुले साथ दिदै विसौ वर्ष आफ्नो सन्तान सरह प्रेम पुर्वक पालन पोषण गरे । आज विभिन्न मुलुकहरुमा पुर्याई सोहि देशको नागरिक बनाइने सम्मको जिम्मेवारिमा अरबौको धनरासि खर्च गरि सुरक्षा र व्यवस्था गराउनमा समर्पित हुने सरकार तथा दातृ संघसंस्था प्रति सदभाव स्रद्धा सुमन रहनु पर्ने समस्त शरणार्थी मात्रको मूल कर्तब्य हो भन्ने ठानेको छु । साथै असजिलो लाग्दा लाग्दै पनि मनमा लागेका कुरा भन्नु पर्दा यो लेख द्धारानै प्रकट गर्न चाहन्छु । शरणार्थीहरुलाई स्वदेश बाहेक अरुनै मुलुकहरुमा भित्र्याएर बसोवास गराउने निति कालन्तर सम्म राखिरहँदा देशहरुले हरेक क्षेत्रमा घाटा बिहोर्नु बाहेक केहि समय पस्चात असान्तिहरुपनि खेप्नु पर्दैन भन्न सकिदैन् । किनभने प्राणी मात्रमा जनसंख्याको वृद्धि हुने क्रम प्राकृतिक देन नै भएको हुँदा र पृथ्वीको नाप दिनानुदिन दैवि प्रकोप जस्तै भलबाढि सुनामि भुकम्प आदिबाट सागुरिने क्रम नरोकिने भएकोले गर्दा कुनै न कुनै दिन देशहरुमा असान्ति विखण्डन आपत्तिजनक गतिविधिहरु भित्रिदैनन् भन्न सकिदैन् । अब पनि शरणार्थीहरुलाई स्वदेश बाहेक अरु मुलुकहरुमै आश्रय दिने क्रम राखि रहँदा आफ्ना नागरिकहरुलाई देश बिहिन गराउन सक्षम सरकारहरुमा अझै हौसला बडेर केहि समय पछि यसरी नै अरु जनसंख्या वृद्धि पस्चात देशमा रहेका नागरिकहरुलाई पनि यो दशा गराउदैनन् भन्न सकिदैन । त्यसो हुँदा बार मसला एकै लसुन भन्ने उक्ति झै जुन देशका सरकारले आफ्ना नागरिकहरुलाई देश निकाला गर्छ भने तुरुन्तै फर्काएर त्यही देशमा पुर्याई सरकारसँग सौहार्द पूर्ण वार्ता गरि दोषिलाई न्याय संगत दण्ड दिनु उत्तम मान्निछ । यसका साथै निर्दोष व्यक्तिलाई शान्ति सुरक्षाका साथ आफ्नो श्रीसम्पत्ति र नागरिक हक्अधिकारको प्रत्याभूति गराउने सक्षम शक्ति सम्पन्न अधिकार प्राप्त संस्था खडा गरि शरणार्थी हुनबाट रोक लगाउने हो भने हामी जस्ता न्यायका भोका नहुने तथा शरणार्थीहरुको दिगो समाधान साथै उज्वल भविष्यको मार्ग निर्माण हुन सक्ने आफ्नो अनुभव यहाँ विस्तार गर्दछु ।
माथि उल्लेख गरे अनुसार शरणार्थीहरुलाई बिना निर्धारित समय सम्म अस्थाई रुपमा गाँसबास र कपासको व्यबस्था गरि रहनु पर्दा अत्याधिक् धन रासिको खर्च हुने साथै अनावस्यक ठाउँहरुमा पनि खर्च गर्न बाध्य हुनु पर्दो रहेछ । यसरीनै धन रासिको केहि मात्रमा सहि सदुपयोग हुने तथा देश निकाला गराईएका मानिसहरुले पनि कम दुःख भोग्दा स्वदेश फर्कन पाउने कल्याण कारी उपाय बन्न सक्लाकि भन्ने आफ्नो छोटो विचार यहाँ प्रकट गर्न चाहन्छु ।
यो लेख कसैमा मार्ग निर्देश सुझाव तथा कुनै उपदेश हुने मनसाय राखि लेख्न खोजिएको होईन । आफ्नो शरणार्थी जीवन कालमा देखिएका भोगिएका मनमा लागेका दुःख पिडा चित्त नबुझेका कुरा र उकुस मुकुस भएका कुरा आफ्नो अनुभव सहित यहाँ प्रकट गर्न खोजिएको मात्र हो । यो लेख सम्बन्धित् प्रसंगवस कसैको प्रसंसा अथवा चरित्र साथै कसैको कमि कमजोरि आदि यथार्थको प्रस्तुतीमा औँलिन पुगेका हुन सक्लान । तर बुझ्नु पर्ने कुरा के हो भने समय काल अवस्था आदि कुराले मानिसमात्रमा सताई रहने भएको हुँदा लेखको सन्धर्बमा असैह्य अमिल्दा असजिला सब्दहरु उल्लेख हुँन पुगेका भए लेखकको विचार कसैमा पनि आघात नपुगोस भन्ने मनसाय राखेको हो । तर लेखका सन्दर्भमा कसैमाथि अचानक आघात पुग्नगएको भए अन्यथा नसोची दिनु हुन पाठक वृन्दहरुमा यहि लेखद्धारा सहस्र बन्दना सहित क्षमा प्राथि रहेको ब्याहोरा पनि अवगत गराउन चाहन्छु ।