भूटानका नेपालीहरूको सन्दर्भमा रूबाई विधाको सुरुवात

दुर्गाप्रसाद रिमाल
अल्बेरी, अष्ट्रेलिया

हामीले हर भोगाई, यात्रा र भेटबाट केही सिकिरहेका हुन्छौ । त्यो भन्दा मज्भूत कुरा त सिकेको सिप र देखेको सपनालाई कार्यान्वयन गर्दै तत्काल समयसँग इमानदार जीवन जिउँन सिक्नु हो । भेटिएका हर वस्तु, व्यक्ति र परिस्थितिबाट केही सिकेर, त्यही सिकाइलाई विभिन्न माध्यमबाट अरूलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । हाम्रो जीवनलाई मृत्युको हातमा हस्तान्तरण गर्नु अगावै समयको मार्गदर्शन  मा आफू निष्ठावन बाचेर अरूलाई आगामी यात्रा सहज बनाउने हेतुले यात्रा तय गरिदिनु पनि जीवनको सार्थकता हो ।

हिजो हाम्रा पुर्खाहरूले बाचेको समय र देखेको सपना भन्दा आजको समय र देख्ने सपना फरक हुन सक्छ तर लक्ष्य एउटै छ; आफूले आफूभित्र आफूलाई खोज्ने । यही सन्दर्भमा, मैले आफूभित्र युगौँ पुरानो विश्व प्रसिद्ध साहित्यिक चेत भरिएको रूबाई काव्यको मोह भेटाए । नेपाली साहित्यका कयौँ धरोहरहरू जस्तै म पनि यस बिधासगॅ इमानदार बाच्न खोजिरहेको छु । नेपाली रूबाईको प्रवधनमा लागि परेको छु ।

यसै क्रममा सन् २०१९ को फेबर्वरी महिनामा यही रूबाई सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जोडिन अष्टेलिया राज्यको ताजमनिया प्रान्तमा अवस्थित लगंसिस्टनमा पुगेको थिए । पुनर्वासपश्चात् लगंसिस्टनलाई आफ्नो कर्मथलो बनाएर नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई सदैव हृदयमा बोकेर हिँडिरहेको भाइ ओबेत साम्पाङ र क्रिएटिभ जोर्नी फाउन्डेसन अष्ट्रेलियामा आबद्ध भाइ-बहिनीहरूबाट पाएको यो आतिथ्य, सद्भाव, माया र प्रेरणाले अझ केही गर्ने हौसला मिल्यो । यसै क्रममा धेरै अघिदेखि मनमा खड्किएको एउटा बिचार व्यक्त गर्ने अवसर जुर्‍यो । त्यही सोचलाई सम्भावनामा परिणत गर्ने मनसायले सन् २०१९ जुलाई २० शनिवारको दिन मेरो रूबाई सङ्ग्रह ‘समयको आयु’ को विमोचन युनिभर्सिटी अफ तासमनीयाँको Annex theatre (जहाँ हलिउडका केही चर्चित कलाकारहरूको समेत प्रशिक्षण र उत्पादन भएको जीवित इतिहास छ) भइरहँदा, यिनै ऊर्जाशील भाइ-बहिनीहरूलाई साक्षी राखेर एउटा ऐतिहासिक रूबाई सङ्ग्रह प्रकाशन गर्ने बिचार प्रकट गरे । नेपालबाट अथितिकोरूपमा आउनुभएको नाट्यकर्मी, चलचित्रकर्मी साथै साहित्यकार प्रकाश आगंदेम्बेले आफ्नो भाषणको क्रममा मेरो बिचारमा सहमति जनाउनु भयो । त्यस्तै गजल मुशायराका संयोजक तथा मेरा आत्मीय मित्र जीतेन्द्र मल्लले थप हौसेला प्रदान गर्नु भयो । यसरी मेरो मनको एक कुनाबाट उब्जिएको रहरले यथर्तामा परिणत हुने सौभाग्य पायो र गत वर्ष सन् २०२१ मा नेपाली रूबाई इतिहासमै पहिलो संयुक्त रूबाई कृति ’खैयामलाई प्रश्न’ प्रकाशन भयो क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रकाशनमा । यस कृतिको संयोजन म आफैले गरेको छु भने सम्पादन आदरणीय प्रकाश आगंदेम्बे दाजुले गर्नु भएको छ । विश्वभर छरिएर रहनु भएका २२८ रूबाईहस्तीका रूबाइयात समावेश यस कृतिमा धेरै नाम चलेका गायक/सङ्गीतकार साथै साहित्यकारकादेखि साहित्यमा भर्खर उदाउदै गरेका साहित्य सर्जकहरूको रूबाइयात समावेश छन् । अत्यन्त खुसी छु । यो घडीमा लगंसिस्टनका ऊर्जाशील भाइ-बहिनीहरूलाई पनि खुब सम्झिरहेको छु ।

मेरो लक्ष्य मनको वह पोख्ने थिएन, भूटानका नेपालीहरूमाझ रूबाई विधाको खोज गर्नु थियो तर यो विषय उठान गरिरहँदा अलि भावुक भएछु । क्षामा चाहन्छु ।

अब थोरै नेपाली साहित्यको कुरा गरौँ । इतिहास पल्टाएर हेर्ने हो भने नेपाली साहित्यका प्रायजसो सबै विधा अन्य भाषाबाट सापट लिएको पाइन्छ । फरक युगको फरक काल खण्डमा नेपाली साहित्यमा भित्रिएका धेरै साहित्यिक विधामध्यको एक जवान विधा हो- रूबाई । एघारौँ शताब्दीका फारसी कवि उमर खैयामको आविष्कार हो रुबाइ । यसै रूबाईलाई उन्नाइसौँ शताब्दिका अँग्रेजी स्रष्टा एडवर्ड फिट्जेराल्डले अँग्रेजीमा अनुवाद गरे पश्चात् विश्वप्रसिद्द हुन पुग्यो र सबैको लोकप्रिय बिधाकोरूपमा स्थापित हुन पुग्यो। यसरी उर्दू शैलीमा प्रचलित शायरीको यो विधा आज आएर सबैमाझ प्रचलित छ । चार पङ्क्तिमा आधारित रूबाईको पहिलो, दोस्रो र चौथौँ मिसरामा काफिया मिलाएर सामाजिक, लैकिकं, रत्यात्मक, राजनीतिक, धार्मिक, आध्यात्मिक र रहस्यात्मक विषयहरू समेट्न सकिन्छ । अझ सरल रूपमा भन्नु पर्दा A-A-B-A को संरचनामा लेखिने विधा हो यो । आज आएर सबैको रोजाई बन्नुको अलवा नेपाली साहित्यमा पनि उत्तिकै लोकप्रिय बन्न पुगेको छ । रूबाईबारे यहाँभन्दा धेरै लेख्न चाहिन । म भन्दा विग्य र अनुभवी अग्रजहरूले आफ्नो धारणा प्रष्टसगॅ राख्नु भएको छ । (थप जानकारी कोलागि साहित्यकार प्रकाश आंगदेम्बे लगायत अग्रजहरूको अगिल्लो लेखलाई उल्लेख गर्न सक्नहुनेछ )

नेपाली साहित्यको सन्दर्भमा:
दार्जिलिङका ओकियुयामा ग्वाइनले तिनै खैयामका रूबाइयात लाई बि.सं २००८ सालमा नेपाली भाषामा अनुवाद गरेपछि औपचारिक रूपमा रूबाई नेपाली साहित्यमा भित्रिएको पढ्न र बुझ्न सकिन्छ । त्यसपछि पनि अन्य स्रष्टाहरूले खैयामका रुबाइयातलाई विभिन्न समयमा अनुवादहरू गर्नु भएको तथ्य भेटिए पनि बि.सं २०६१ अघि नेपालमा मौलिक नेपाली रुबाइ सृजना भएको पाइएन । बि.सं २०६१ मा प्रकाश आङदेम्बेद्वारा सृजित रुबाई सङ्ग्रह ‘ग्यास च्याम्बरमा बुद्ध’ प्रकाशन भएपछि कृतिगत रूपमा मौलिक नेपाली रूबाई भित्रिएको यथाथर्तालाई अस्विकार्न सकिन्न । यसरी पूर्व नेपाल अन्तर्गत झापा दमकबाट मौलाएको नेपाली रूबाई लेखनको अभ्यास वि.स. २०७६ सम्म आइपुग्दा सुदूर पश्चिम अन्तर्गत डोटीका सर्जक जितेन्द्र मल्ल लगायत अन्य नेपाली साहित्यका इमानदार पहरेदारको रोजाईको विधा बन्न पुग्यो र नेपालभरि ख्याति कमाउन सफल भयो । यसरी मुल्याकंन गर्ने हो भने रूबाई विधाले नेपाली साहित्य जगतमा राम्ररी स्थापित भएको प्रस्ट देख्न/हेर्न सकिन्छ ।
बि. सं २०६१ सालबाट रङ्गकर्मी तथा साहित्यकार प्रकाश आङ्देम्बेसगँको सङ्गत र वहाँको सृजनात्मक प्रभावले नेपालको पूर्वी झापा र मोरगंमा अवस्थित ७ भूटानी शरणार्थी शिविरमा रूबाई बिधाले फैलिने र लोकप्रिय हुने अवसर पाएको सत्य हो । म पनि त्यही माहौलको एक सारथि हुँ ।

यसरी बिस्तारै भूटानका नेपालीहरू (जो शरणार्थीकारूपमा नेपालमा सरण लिएका थिए/छन्) माझ प्रसिद्ध हुँदै हुँदै गयो । यसै परिवेश (atmosphere) लाई साक्षी राखेर हेर्नु पर्ने बाध्यता हामीमाझ भए पनि विश्वकै पुरानो साहित्यिक विधा- रूबाई यसरी भूटानका नेपालीमा आई पुग्नुको साथै परिचित भएको सत्य हो ।यसै सन्दर्भको सेरोफेरोमा रहेर म मेरो विषयवस्तुमा प्रवेश गर्न चाहन्छु ।
भूटानका नेपालीहरूको सन्दर्भमा रूबाई विधाको सुरुवात: भूटानका नेपालीहरूको साहित्यिक इतिहासलाई निफन्ने हो भने त्यति लामो छैन पृष्ठभूमि । त्यसमाथि पनि रूबाई विधाको उपस्थिति झनै छोटो छ । बिं.स. २०६० र यसको आसपासमा भूटानी शरणार्थी शिविरभित्र (जो पूर्वी नेपालमा अवस्थित थियो/छ) रूबाईले प्रवेश गरेको इतिहास जीवित छ, यही सेरोफेरोदेखि म आफै पनि यो विधामा निरन्तर लागिरहेको छु भन्न पाउँदा गर्व बोध भएको छ । फुटकर लेखनीय हिसाबले रूबाईलाई भूटानका नेपालीमाझ कसले भित्र्यायो भन्ने यकिन नभए पनि तल उल्लेखित रूबाईकृतिहरू प्रकाशित छन् हालसम्म:

१) सूर्य ग्रहण (वि.स. २०६४, कार्तिक) एस.बि. ताम्लिङ । प्रकाशक: लिम्बु साहित्य प्रतिष्ठान, पान्थर नेपाल
२) जुन हराएको रात (वि.स. २०६६) प्रवासी कृष्ण घायल
३) अन्तिम पत्र: फुच्चे काव्य (वि.स. २०६५) ए.के. राना साम्पाङ । प्रकाशक: Sampang’s Brotherly Hands
४) ‘प्रयास’ (वि. स. २०६७) विदुर पौडेल । प्रकाशक : रूबाइ मञ्च भुटान र उदयमान विद्यार्थी सङ्गठन
५) ‘रहर ऐनासरी’ पासाङ जिम्वा तामाङ
६) ‘खबर यस्तै छ’ (वि. स. २०६८) दावा लामा ‘विश्वास’
७) ‘जानु कहाँ हो’ (वि. स. २०६८)धर्मेन्द्र क्षितिज तिम्सिना । प्रकाशक: मिडिया नेटवर्क भूटान
८) त्रिकोण: संयुक्त रुबाई सङ्ग्रह (वि. स. २०७०) धर्मेन्द्र तिम्सिना‘क्षितिज’ डि.पी. दुलाल, जे.एन. दाहाल । प्रकाशक: काली गण्डकी साहित्य समाज गेझा १ पाल्पा नेपाल
९) ‘अनिश्चित यात्रा’ (वि. स. २०७१) राजमान मुकारुङ ‘राजा’
१०) ‘फाटेको मन’ (वि. स. २०७१) दावा मोक्तान तामाङ । प्रकाशक: झकास अन्तराष्ट्रिय युवा समूह
११) ‘शव्दअस्त्र’ संयुक्त रुबाई सङ्ग्रह (वि. स. २०६७) । प्रकाशक: रूबाइ मञ्च भूटान
१२) ‘बदमास’ (वि. स. २०७०) लक्की राशि
१३) ‘समयको आयु’ (वि. स. २०७५) दुर्गा प्रसाद रिमाल । प्रकाशकः बुलबुल पव्लिकेशन, काठमाडौँ
१४) ‘शब्द शिल्पी’ संयुक्त कृति (वि. स. २०७२) प्रकाशकः भुटनिज युथ इन आयोवा
१५)’ ‘अक्षरहरूको जुलूस’ ईश्वर ढकाल । प्रकाशक: विश्व भूटानी साहित्यिक सङ्गठन

आदि प्रकाशनमा आएको पाइन्छ ।

यसरी हेर्दा कृतिगत हिसाबले बि.स २०६४, कार्तिकमा प्रकाशित स्रष्टा एस. बि. ताम्लिङ्गको कृति ‘सूर्य ग्रहण’ लाई प्रथम कृतिको रूपमा लिन सकिन्छ । यस्तै संस्थागतहरूमा रूबाईको संरक्षणमा लागिपरेको रूबाइ मञ्च भूटान पनि छ हामीमाझ । यो अलवा पुनर्वास अघि र पछि पनि हरेक दिन रूबाई विधालाइ सृजना गर्ने सर्जकहरूको सङ्ख्या अनगिन्ती छ ।

यो प्रसङ्ग उठाइरहँदा भूटानका नेपाली साहित्यिक सर्जकहरूमाझ रूबाई र मुक्तकबिच अझ पनि अन्योलको माहौल पाइन्छ । कतिले बुझेर कतिले नबुझी आफूले सिर्जना गरेका रूबाईलाई रूबाई नभएको स्विकारेर इमानदारिता देखाएका छन् भने कतिपयले रूबाईलाई अझ पनि मुक्तक भन्न छाडेका छैनन् । तर मैले माथि उल्लेख गरे अनुसार अयथर्थता के हो भने दुई हजार वर्षभन्दा लामो इतिहास बोकेको ’रूबाई विधा’ ले २० औ शताब्दीमा आएर नेपाली साहित्यको जवान (young) विधाको रूपमा आफ्नो स्थान बनाउँदै र सबैसामु लोकप्रिय बन्दै गएको गरेको स्थिति छ । हरेक दिनको नयाँ पिडींहरूको आकर्षण र पुरानो पिडीहरूको चिन्तनले पनि यस विधाको लोकप्रियताको मापन गर्न सकिन्छ । अब हामीले यो विधाप्रति ढुक्क भएर आफ्नो साहित्यिक अस्तित्व खोज्न सक्ने हैशियात अवस्था सिर्जना भएको छ । यसरी हेर्दा रूबाईलाई रूबाईकै दृष्टिकोणबाट हामीले मूल्याङ्कन (Evaluation) गर्न सकिन्छ र रूबाई ले विश्वमा जुन उचाइ प्राप्त गरेको छ, त्यो उचाइ नेपाली साहित्यमा पनि प्राप्त गर्ने अब खासै समय नलाग्ने अनुमान गर्न सकिन्छ ।

मैले मेरो रूबाईकृति ‘समयको आयु’मा पनि यो प्रसङ्ग उठाएको छु । उज्यालो नेटवर्कले उत्पादन गर्ने रेडियो कार्यक्रम बुलबुलको १३८ औँ श्रीङखला अर्थात् सन् २०१२ अप्रिल महिनाको एउटा अन्तर्वार्तामा प्रस्तोता अच्युत घिमिरेको प्रश्नमा साहित्यकार प्रकाश आङ्देम्बेले भन्नुभएको छ “असन्तुष्टि पक्षले जे भनुन् भन्न देऊँ तर हामी प्रस्ट हुनु पर्छ यो बिधाप्रति । विश्वको चर्चित अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी साक्षी छ जहाँ ओमर खैयामका रूबाइयात विधाको पढाइ हुन्छ । कुनै दिन हाम्रो सिर्जनाहरू त्यो स्थानमा पुगेको दिन वास्तविक साहित्यको पहिचानको धज्जी उडाउनेहरूमा पश्चात्ताप पलाउने छ।” म हरेक दिन प्रकाश दाजुको यो भनाइले उत्प्रेरित हुन्छु र रूबाई सिर्जनामा निरन्तर लाग्न उत्साहित हुन्छु ।

सामाग्री स्रोत:
१।गोविन्दप्रसाद भट्टराई (पुस्तक: प्रकाश आगंदेम्बेका रूबाइयात)
२।ग्यास च्यम्वरमा बुद्ध/ प्रकाश आगंदेम्बेका रूबाइयात
३।उज्यालो नाइन्टी नेटवर्क (रेडियो कार्यक्रम)
४।मन सुब्बा (पुस्तक: समयको आयु)
५।प्रकाश आगंदेम्बे (पुस्तक: समयको आयु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *