भूटान साहित्य परिषदका अध्यक्षको वक्तव्य
आदरणीय साहित्यप्रेमी मित्रगण तथा शुभचिन्तक महानुभावहरू,
मान्छे, मानिस वा मानवको जातीय प्रकृति नै यस्तो हो ताकि यसले सदैव सुख, खुशी , शान्ति र आनन्दको खोजी गर्दछ । यिनै भावनात्मक वस्तुप्राप्तिका लागि, स्वावलम्बन तथा पहिचानका लागि मान्छेले जीवन बलिदान पनि गर्दछ । भविष्यमा बाँच्नलाई मान्छे वर्तमानमा मर्छ पनि । मानव इतिहासको विवेचना अनुसार पूर्वेलीहरू आजभन्दा लगभग चारहजार वर्षअघि नै ‘स्व’ का लागि सचेत थिए । साँच्चै हाम्रा पूर्वजहरूको विगतले भनेअनुसार हो भने ‘‘असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतमगमय’’, भन्दै सदियौंपूर्व उनीहरू असत्यका विरुद्ध सत्य, अन्धकारका विरुद्ध प्रकाश वा ज्योति र मृत्युका विरुद्ध अमृतको खोजीमा निस्किएका थिए । त्यसपछिका कैयौं कालखण्डसम्म, आज हामी यस पुस्तासम्म आइपुगेर पनि त्यही खोजाइको गतिमा सार मिलाउँदैछौं । यद्यपि, हाम्रो खोजाइ अमूर्त छैन, निर्दिष्ट छ । पुर्खाहरूले उनीहरूका लागि खोजेको वस्तु के कति पाए, त्यसले हामीलाई पर्याप्त भएन । हामीले आफ्ना लागि आफ्नै पौरख खोज्नुपर्यो । यहाँ खोज्नु भन्नुको तात्पर्य सिर्जना/निर्माण गर्नुपर्यो । आफ्नो समय र पुस्ताको पौरख निर्माण गर्नलाई स्वत्वसहितको अस्तित्व पहिचान जोगाउनु र बँचाउनु जरुरी हुँदोरहेछ । त्यसैले आज हामी जे-जति गर्दैछौं यो सबै समग्र समाजको पहिचान तथा अस्तित्व बचाउका लागि गरिँदैछ । अस्तित्वरक्षा तथा सामाजिक पहिचानको मेरुदण्ड भनेकै भाषा-साहित्यको मूल आधारमा खड़ा भएको हुन्छ । त्यसर्थ हाम्रो निष्कर्ष आज भाषा-साहित्यको संरक्षण तथा प्रवर्द्धनतर्फ एकोहोरिने विन्दुमा अड़िएको छ । यस सन्दर्भमा आज हामी परिवर्तित परिवेशमा रहेकाले हाम्रो भाषिक-साहित्यिक शक्ति पनि छताछुल्ल हुने स्थितिमा पुगेको कुरालाई मूल्यांकन गर्दै विश्वव्यापी रूपमा छरिएर पनि हाम्रो सामाजिक गतिशीलतालाई गोलबद्ध गरी राख्न भूटान साहित्य परिषद स्थापना भएको शुभखबर यहाँहरूसमक्ष राख्न चाहन्छौं ।
देशभित्र हुँदाताकाको विगत पृष्ठभूमिलाई छोड़ेर निर्वासनकालमा भाषा-साहित्यको जगेर्ना गर्न धेरै पहलहरू भएका थिए । नेपाली भाषा परिषद-भूटान पहिले र पछि गएर नेपाली साहित्य परिषद-भूटानको रूपमा परिवर्तित संस्थाले हाम्रो साहित्यिक माहौललाई धेरै उचाइमा पुर्याएको कुरा कसैले नकार्न सक्दैन । तत्कालीन सरकारको कोल्टे नियतका कारण देशबाट विस्थापित भई लामो शरणार्थी जीवनका अत्यास लाग्दा भुट्भुटीहरूकै बाब्जुद पनि नेपाली भाषा परिषद वा साहित्य परिषदको माध्यमबाट भाषा-साहित्यको बचाउतर्फ हाम्रो समुदायले गरेको योगदानलाई पक्कै पनि इतिहासले भुल्ने छैन भन्ने हामीलाई लागेको छ ।
यद्यपि, लामो समयसम्म शरणार्थी बनेर अन्यौलपूर्ण अवस्था बिताएपछि भएका समस्या समाधानतर्फका पहलहरूले भाषा-साहित्यतर्फको हाम्रो एकिकृत सकृयतालाई अलपत्र बनाइदिए । यसका साथै साहित्यिक क्षेत्रमा विभिन्न नयाँ समूहहरू पैदा हुने क्रम पनि जारी रह्यो ।
अर्कोतिर आज हाम्रो समुदाय विश्वव्यापी रूपमा फैलिइसकेको र आधारभूत व्यवस्थापन भैसकेकोले अब उसो आफ्नो पहिचान खातिर सोच्नुपर्ने आवश्यकता पनि महसुस भइरहेको छ एकातिर भने यो परिप्रेक्ष्यमा हामीले विगतमा नेपाल, भारत र भूटानको मात्र परिवेश हेरेर मिलाएको परिबन्दले आजको विश्वव्यापी परिवेश समेट्न केही गाह्रो भएको पनि महसुस गरिएको छ । यस सन्दर्भमा हामीले विगत केही वर्षदेखि नै समग्र साहित्यिक मञ्चहरूलाई एक ठाउँ मिलाएर अघि बढ्नुपर्ने कुरा राख्दै आएका हौं । सबै तह र तप्काबाट पनि यो कुरा आएको हो ।
यस सिलसिलामा हामीले ठोसरूपमा सबै साहित्यिक मञ्चहरूलाई एक ठाउँ समावेश गरी लैजान मनन गरेजति काम गर्न नसके पनि मौजुदा नेपाली साहित्य परिषद-भूटानको प्रारूप तथा कार्यक्षेत्रलाई उन्नयन तथा विस्तार गरी लैजाने अठोट गर्यौं । विशेषतः मौजुदा नेपाली साहित्य परिषद-भूटान र भूट्नीज लिटरेचर डट्कमलगायत केही साहित्यिक व्यक्तित्वहरूको पहलमा अन्ततः यो प्रयास सफल भएरै छाड़्यो । र, विगत एकवर्षदेखि हुँदै आएका छलफल र अन्तरक्रियाका आधारमा यसै जून महिनाको ११ का दिन विगतमा नेपाली साहित्य परिषद-भूटान नाम रहेको संस्थाको उन्नयन तथा क्षेत्रविस्तार गरी यसलाई वृहत् रूप दिँदै भूटान साहित्य परिषद (लिटरेरी काउन्सिल अफ् भूटान-‘एलसीओबी’) बनाइएको छ ।
भूटान साहित्य परिषदको स्थापना गरेर अल्पकालीन उद्देश्यमा हामीले यसको कार्यगत फाँटलाई फराकिलो पारेका छौं भने दीर्घकालीन लक्ष्यमा यसभित्र नेपाली भाषाको मात्र उन्नयन नभई भूटान तथा अन्तर्राष्ठ्रिय स्तरमा समग्र भूटानीले उपयोग गर्ने भाषा-साहित्यलाई अँगाल्ने गरी यसको तह उचालेका पनि छौं । नयाँ देश र नयाँ परिवेशमा हुर्किएका हाम्रा नवसन्ततीले लिएको अंग्रेजी साहित्यको ज्ञान, भूटानभित्रकाहरूले लिएको जोंङ्खा साहित्यको मर्म र समग्रमा नेपाली साहित्यको सेरोफेरोलाई समेटेर अघि बढ्ने हाम्रो मूल लक्ष्यका साथ हामीले यो जमर्को गरेका हौं । यसको औपचारिक घोषणापछि अब यसका सम्पूर्ण गतिविधिहरू योजनाबद्ध तथा विस्तारित रूपमा अघि बढाउन समग्र भाषा तथा साहित्यप्रेमी महानुभावहरूको सहृदयता हामीलाई आवश्यक छ । जुनसुकै दृष्टिकोणमा होस् हामी समग्र भूटानीहरूबाट प्रथम तहमा सहयोगको हात पाउने कुराप्रति विश्वस्त छौं भने हाम्रो मूल साहित्यिक कार्यक्षेत्र नेपाली भएकोले नेपाली साहित्यका सबै प्रेमीजनबाट अझ दर्बिलो सहयोग तथा सहकार्यको अपेक्षा पनि राखेकै छौं । अनि समग्रमा सम्पूर्ण वैश्विक भाषा-साहित्य प्रेमीहरूबाट पूर्ण सहयोग तथा सहृदयताका लागि हामी अभिलाषी छौं, अनुग्रहित छौं ।
अन्त्यमा, परिषदका उपाध्यक्षज्यूले आगामी कार्ययोजनाका बारेमा संक्षेपीकृत उल्लेख गरिसक्नुभएकोले पुनः तिनलाई दोहोर्याउनु मैले आवश्यक ठानिनँ । यसर्थ, समग्र भाषा-साहित्यका साधक र सामाजिक भविष्यको शाख बचाउन इच्छा र जाँगर भएका सम्पूर्ण भूटानी दाजु-भाइ तथा दिदी-बहिनीहरूबाट परिषदका हरेक कार्यमा चासो तथा सरोकार राखी यथासक्य सहयोग जारी रहने पूर्ण आशा व्यक्त गर्दछु ।
आज यस कदमसम्म आइपुग्न यहाँहरूले गर्नुभएको सहयोगप्रति पुनः धन्यवाद ।
भक्त घिमिरे
अध्यक्ष
भूटान साहित्य परिषद
मितिः १८- ०६- ‘११