‘भूपाली’ शब्दबारे केही प्रसंग
भक्त घिमिरे
केही दिनअघि एकजना मित्रले एउटा सामाजिक सञ्जालमा एक भारतीय इतिहासकारले सन् २००९ मा हामीलाई ‘भूपाली’ भनी सम्बोधन गरेर पुस्तक लेखेको बताउँदै प्रतिक्रिया जनाएका थिए । यतिमात्र हैन, केही वर्षदेखि नै यो शब्दको व्युतपति र प्रयोगको सवाललाई लिएर हाम्राहरुबीच व्यापक चर्चा र घम्साघम्सी चलिरहेको छ । यो कुरा यस पंक्तिकारलगायत सञ्चारजगतमा पहुँच राख्ने जोकसैलाई थाहा भएकै हो । ती मित्रले सामाजिक सञ्जालमा सो शब्दसित सम्बन्धित बनाएर उल्लेख गरेका भारतीय इतिहासकारको नाम डाक्टर रुपकुमार वर्मन हो । भारतीय इतिहासकार डाक्टर रुपकुमार बर्मनमात्र हैन; कलकत्तास्थित जदभपूर यूनिभर्सिटीबाट सिभिल इञ्जिनियरिङ गरेर केही वर्षदेखि पश्चिम बंगालको दुर्गापुरस्थित राष्ट्रिय प्राविधिक संकायमा एसोशिएट प्रोफेसर रहेका डाक्टर अमिया के. सामन्ताद्वारा “लिखित गोर्खाल्याण्ड आन्दोलन-जातीय विखण्डनबारे एक अध्ययन”, नामक पुस्तक (एपीएच पब्लिसिङ हाउस, नयाँ दिल्लीको मातहतमा एस.बी. नागियाद्वारा सन् १९९६ मा प्रकाशित) को पृष्ठ ५७ मा पनि हामीलाई ‘भूपाली’ भनेरै सम्बोधन गरिएको छ । डाक्टर सामन्ताका अनुयायीको रूपमा दह्रिएका डाक्टर बर्मनले उनकै शब्दावली पछ्याए, कुनै नयाँ कुरा गरेनन् । यिनी दुईजना त हाम्रोबारे केही लेख्ने एकदमै नयाँ लेखकहरू हुन् । यीभन्दा धेरै धेरै पुरानाले पनि हामीलाई नानाभाँती शब्द प्रयोग गर्दै गलत सम्बोधन गरेर इतिहासलाई त्रूटीपूर्ण बनाएका छन् । हामीलाई भारतीय राजनीतिका हस्तीहरुले जहिल्यै पनि उनीहरुको विस्तारवादी आकांक्षाको बाधकस्वरुप सोचेर असमञ्जस खडा गर्न हरसम्भव प्रयास गरेका छन् ।
डेभिड फिल्डरेनी भनिने एक गोरा फिरंगीले सन् १८३३ मै ‘भूटान’ शब्दको व्याख्या गर्दै लेखेका थिए–‘‘भूटान शब्दको साधारण अर्थ भोटियाहरू अथवा तिब्बतीहरूको देश हो । अझ सही अर्थमा ‘भूटान’ होइन, ‘भोटस्तान’ लेखिनुपर्छ । फारसी र अरबी अर्थमा ‘स्तान’ भनेको ठाउँ हो । हिन्दू, अफ्गान र बेलूचहरूका पछि ‘हिन्दुस्तान’, ‘अफ्गानिस्तान’ र ‘बेलुचिस्तान’ भनिन्छ भने भोटियाहरूका पछि पनि ‘भोटस्तान’ नै हुनुपर्छ ।’’ फारसी र अरबी भाषाबाट नभई संस्कृत भाषाको ‘भू-उत्थान’ (उच्च भूमि) वा ‘भोटान्त’ (भोटको अन्त्य) शब्दबाट ‘भूटान’ शब्दको व्युत्पति भएको हो भन्ने कुरा डेभिडले ख्याल गरेनन् । सामाजिक इतिहाससँगै स्थानीय भाषा, शब्द र शब्दार्थहरू ठिम्याएरमात्र कसैको इतिहास लेख्न सकिन्छ, जुन क्षमता र गुण डेभिडमा थिएन । देशको नाम फारसी वा अरबी भाषामा राखिनका निम्ति देशमा फारसी र अरबी मूलका जनताको बाहुल्यता हुनुपर्ने वस्तुगत वास्तविकतातिर विचार नपुर्यााई डेभिडले हडबडमा यसरी एउटा स्वतन्त्र राष्ट्र भूटानलाई तिब्बतमा लगेर मिसाइदिएका थिए । ‘भोट’-को अर्थ संस्कृत भाषामा तिब्बत हो । ‘भोट’ शब्द संस्कृतबाहेक तिम्बती वा भूटानको जोङ्खा भाषामा कतै पनि उल्लेख भएको पाइन्न । र, भूटानचाहिं तिब्बतको अंग कहिल्यै पनि थिएन-होइन, अधिकांश तिब्बतबाट भागेका अनि केही धार्मिक-राज्यसत्ता चलाउन पठाइएका लामाहरूले निर्माण गरेका टुक्रा राज्यहरु मिलाउँदै पछि गएर नवनिर्माणकालमा बहुजातीय, बहुभाषीय डेमोग्राफीयुक्त बनेको ऐतिहासिक छुट्टै राष्ट्र आजको भूटान हो भन्ने कुरा डेभिडले छुट्याएनन् । डेभिडले पुस्तक लेखेको समयदेखि आजसम्ममा भूटानको भौगोलिक-राजनीतिक कायाकल्प भइसकेको छ ।
हामी विषयगत प्रसंगभन्दा बाहिर पो गयौं कि ! फेरि विषयमै केन्द्रित बनौं है त । भारतीय अर्का लेखक राम राहुलले सन् १९९७ मा आएर पनि जातिवादी उद्दण्डता उराल्ने मनाशयमा-“भूटानको राजनीतिक इतिहास”, नामको पुस्तक (सन् १९८३ मा प्रकाशित ‘रोयल भूटान-अः पोलिटिकल हिष्ट्री’-को दोस्रो संस्करण-१९९७ को पृष्ठसंख्या ५५)-मा लेखेका छन्, “भूटान ड्रूक्पाहरूकै मुलुक हो, त्यहाँका नेपालीहरूले राजनीतिक सुधारका लागि गरेका भनिएको आन्दोलनको सट्टा उनीहरूले धेरै लामो अवधिसम्म भूटानमा बस्न दिइएकोमा ड्रूक्पाहरूलाई धन्यवाद दिनुपर्थ्यो ।” यसरी जातीय आधारमा राष्ट्रको पहिचान गराउँदै भूटानलाई ड्रूक्पाहरूको पेवा देश बनाउँदा अन्य जातिहरूको अस्तित्वमा आँच आउने कुरा उनलाई थाहा थिएन र ? के रामराहुल बसेको देश आजको भारत एउटै जातिको पेवा राष्ट्र हो ? ‘ड्रूक्पा’ जातीय शब्दको ब्युत्पति र अर्थबारे आधारभूत व्याख्या पनि उनले गर्नुपर्ने थियो जुन काम तिनले गरेनन् । उनले यसरी अनावश्यक र अयथार्थ लेखेर भूटानको सार्वभौमसत्ता-सामाजिक संरचनामाथि सोझो हमला बोलेका थिए । उनको कलममा फिजीमा महेन्द्र चौधरीको नेतृत्वलाई दिल्लीले प्रोत्साहन दिएको, श्रीलंकामा दिल्लीले ‘शान्तिवाहिनी’ सेना पठाएर एलटीटीई-विद्रोहको दमन गर्दा भारतीय राजनीतिमै उथलपुथल आएको आशयका कथाहरू आँटेनन् । भूटान कुनै विशेष जातिको पेवा देश होइन । यसरी ‘नेपाली’-हरूले ‘ड्रूक्पा’-हरूलाई धन्यवाद दिएर नेपालको बाटो समाउनुपर्ने घोर-अन्ध जातिवादी विचार व्यक्त गर्ने उनले भूटानका आदिवासी डोया, खेङ्पा र ब्रोक्पाहरूसमक्ष धनुष्टड्ढार जम्ले-हात ठोक्न लगाएर ‘ड्रूक्पा’हरूलाई तिब्बत पठाउनचाहिं सकेनन् !
अब फेरि कुरा गरौं डाक्टर रूपकुमार बर्मनबारे । उनले हाम्रो इतिहास कोट्याएर हामीलाई ‘भूपाली’ सम्बोधन गर्नुमा कुनै पनि ऐतिहासिक खोज समेटिएको छैन । यो केवल भारतीय प्रशासनले हामीलाई उल्लेख गर्ने प्रशासनिक कोड हो र, उनले प्रशासनकै तथ्यांकहरु पैंचो लिएर त्यो एकाउण्ट लेखेका हुन् ।
हामी सन् १९९० ताका शरणार्थी बनेपछि भारतको पश्चिम बंगाल राज्य सबैभन्दा अधिक प्रभावित बनेको थियो । अनि शरणार्थीहरुले गरेका देशफिर्ती आन्दोलनहरुको प्रत्यक्ष असर पनि पश्चिम बंगालमै केन्द्रित थियो । नेपालका शरणार्थी शिविरहरु पश्चिम बंगालनजिकै थिए भने बंगालका गुप्तचरहरू शिविरहरूमा प्रशस्तै चल्ता-फिर्ता थिए । यसरी उनीहरुले गोप्य सांकेतिक भाषामा हामीले नबुझ्ने गरी हामीलाई नै जनाउन प्रयोग गरिने शब्द बनेको थियो ‘भूपाली’ । यही लेखभित्र राखिएको चित्रमा यो शब्दबारे गरिएको व्याख्या पनि हेर्नुहोला !
अब डाक्टर रुपकुमार बर्मन र यस शब्दको संयोजनबारे पनि केही कुरा गरिहालौं । सन् १९९६ मा एएमसीसी भनिने भूटानी संगठनले शरणार्थी शिविरहरुबाट व्यापकरूपमा घरफिर्ती अभियानको प्रयास गरेको थियो । हज्जारौं भूटानीहरु शिविरबाट भूटान जाने अभियानको यात्रामा बढेपछि पश्चिमबंगाल प्रशासनले अवरोध गरेको थियो । हज्जारौं शरणार्थी यात्रीहरुलाई पश्चिमबंगाल प्रशासनले दार्जीलिङ, जल्पाईगढी, आलिपूर, कुचबिहारलगायत कलकत्ताको मुर्सीदावाद जिल्लासम्मका कारागारहरुमा कोचेर राखेको थियो । यस अभियानको विश्वभर चर्चा चलेकै थियो । तर यो चर्चामा हामीलाई सबैतिर भूटानी शरणार्थी वा दक्षिण भूटानीहरु भनिए पनि भारतीय प्रशासनले भने कसैले नबुझ्ने गरी प्राविधिक शब्दावली बनाएर ‘भूपाली’ भनेको थियो । र, यही समयमा डाक्टर रूपकुमार बर्मन जल्पाईगढीको आलिपूरद्वारमा इतिहासको विद्धार्थी थिए ।
सन् १९९६ मा जल्पाईगढीको आलिपुरद्वारबाट इतिहासमा अनर्स उपाधिको शिक्षा हासील गरेपछि सन् १९९९ मा दार्जीलिङस्थित उत्तर बंगाल विश्वविध्यालयबाट इतिहासमै स्नातक गरेका थिए रुपकुमार बर्मनले । यसपछि उनले सन् २००६ मा डाक्टर उपाधि हासील गरे । उनी सन् २००२ देखि नै पश्चिम बंगालको कलकत्तानजिकै जदभपूर विश्वविध्यालयमा इतिहासको लेक्चरर नियुक्त भइसकेका थिए । सन् २००९ देखि उनी जदभपूर विविमै एसोशिएट प्रोफेसरको रूपमा कार्यरत छन् । दक्षिण एशियाली समाजका अनेक जाति तथा जनजाति, क्षेत्रीय आन्दोलनहरु र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवाधिकारको सवाल उनका शैक्षिक विषय हुन् ।
अब के बुझ्नुपर्ने भो भने अनुसन्धानको नाममा सरकारी गुप्तचर बनेर काम गर्दादेखि आफ्नो शैक्षिक जीवनकालभरि प्रशासनको मुखबाट, स्थानीय अखबारबाट यही शब्दमात्र सुनेका अनि भारतीय सरकारको लगानीमा काम गर्ने एकजना निजामती कर्मचारी रूपकुमार बर्मनले अहिले आएर एउटा प्रायोजित थेसिस लेख्दा अर्कै शब्द खोजेर किन लेखुन् ! र, हामीले के प्रष्टै बुझ्न जरुरी छ भने कुनै पनि प्राविधिक प्रयोगका लागि राखिएका प्रशासनिक शब्द र चिन्हहरुले कुनै पनि जाति-समाजको विराशत खुल्ने गरी तात्पर्य उल्लेख हुन सक्दैन ! उचित भाषिक पुष्टिको आधार नभएका प्रशासनिक-प्राविधिक शब्दहरु- ‘अल्फा’, ‘ब्रेभो’, ‘चार्ली’, ‘डेल्टा’, ‘इको’-जस्ता अंग्रेजी पंक्तिहरुले पनि केही न केही अर्थ त बुझाउँछन् नै तर, तिनकै आधारमा प्रामाणिक, ऐतिहासिक धरातल निर्माण गर्न सकिन्न । ऐतिहासिक आधारमा ‘भूपाली’ पनि यी माथिका अंग्रेजी शब्दभन्दा बेग्लो मूल्य बोक्ने पंक्ति होइन ।
हामीले हाम्रो ऐतिहासिक विराशतको कुरा उठाइसकेपछि यो शब्दको थप चर्चा आवश्यक भइगयो । भूटानको संक्षेपीकृत अंश ‘भू’ र नेपाली शब्दको संक्षेपीकृत अंश ‘पाली’ जोडेर यसलाई ‘भूपाली’ बनाइएको जिकिर गरिएको यस पंक्तिकारलाई थाहा भएको थियो । यसरी पनि यो शब्दको ब्युत्पतिसंयोगमा हाम्रो पृष्ठभूमि जनाउने अर्थ खुल्दैन । यसरी जाने हो भने हाम्रो पहिचानमा पहिले भूटान वा भूटानी भनेर पछि नेपाली शब्द जोड्नुपर्ने हुन्छ । यस शब्दको प्राविधिकीकरण गर्दा हामी भूटानी नेपाली हुन पुग्छौं । हामी पहिले भूटानी भएर पछि नेपाली बनेका हैनौं । पहिले नेपालीत्वको पृष्ठभूमि बोकेर हाम्रा पुर्खाहरु भूटानी हुन पुगेका हुन् । बसाईँसराहरुको सामाजिक इतिहासलाई केलाएर हेर्ने हो भने जहिले पनि जातिको परिचय विगतको राष्ट्रियतासित जोडिएको हुन्छ र, वर्तमान राष्ट्रियता उसको राजनीतिक पहिचान तथा नागरिकतासित जोडिएको हुनुपर्छ । हाम्रो जातीय पहिचानको सवालसित गोर्खा र गोर्खाली शब्दको प्रसंग पनि जोडिएको छ । यो शब्द सर्वसम्मत छैन तथापि चर्चाको विषय त छँदैछ अझै । तर, आजको परिवेशमा गोर्खा र नेपाली पर्यायवाची शब्दभन्दा बढी केही पनि होइनन् । निवर्तमानलाई प्रथम दर्जामा मूल जनाउँदै र्वतमानलाई पूर्णविन्दुमा राखेर नै संसारका सबै जातिहरुले आफ्नो पहिचानलाई किटान गरेका हुन्छन् । नत्र त हामी यही रीतमा आफ्नो विगत खोज्दै ढुंगेयुगीन कबिलासम्म पुग्नेछौं । यसरी माथिको सान्दर्भिकता बमोजिम अब हामी अमेरिकन भूटानीज नभई भूटानीज अमेरिकन हुने छौं । यसर्थ भूपाली शब्दको व्युत्पतिस्रोत अनुसार ‘भूटानी नेपाली’ हामी थिएनौं भन्ने कुरा बुझ्नुपर्छ । जातीय तथा सांस्कृतिक हिसाबमा हामी ‘नेपाली मूलका भूटानी’ वा ‘नेपालीभाषी भूटानी’ थियौं भने ‘भूटानी’ मात्र थियौं राजनीतिक तथा राष्ट्रियताको हिसाबमा । जहिलेसुकै कुरा गर्दा हामीले आफूलाई ‘भूटानी’ बाहेक केही भन्नु आवश्यक छैन । विस्तारपूर्वक व्याख्या गर्नुपर्ने ठाउँमा हामी नेपाली भाषा र जातीय-सांस्कृतिक पृष्ठभूमि भएका भूटानी हौं भन्दा पुगिहाल्छ । अहिले त अझ ‘निर्वासित भूटानी’ वा ‘गैर-आवासीय भूटानी’ को प्रसंग पनि चल्न थालेको छ । अब यस शब्दमा वर्णविन्यास र मात्रा विन्यासका कुरासमेत जोडेर अर्थ खोज्नुपर्ने जरुरी छैन । स्थूल अर्थमा मात्र केन्द्रित रहेर कुरा गर्दा यस शब्दका पुष्ट, लाक्षणिक, प्राविधिक, सांकेतिकसहित धेरैवटा अर्थहरु छन् । पुष्ट अर्थमा यो भारतको भोपाल (भूपाल) भनिने एउटा सीमित क्षेत्रमा अवस्थित सांस्कृतिक लोकलयमा आधारित सांगीतिक राग हो । त्यसपछिका कुनै पनि अर्थहरु लाक्षणिक, प्राविधिक र सांकेतिकमात्र हुनसक्छन् र पुष्ट अर्थबिनाका शब्दहरुले हाम्रो विराशत कदापि वक्न सक्दैनन् ।
(माथिको प्रसंगमा उठेका डाक्टर रूपकुमार बर्मनसँग सम्पर्क गर्नपरे यो इमेल- rupkumarbarman@gmail.com- प्रयोग गर्नुहोला अनि ‘भूपाली’ शब्दको तात्पर्य उल्लेख प्रामाणिक दस्तावेज हेर्नुपरे यो लिंक- http://en.wikipedia.org/wiki/Bhupalis– मा क्लिक गर्न सक्नुहुनेछ)