भोलि फेरि
गोविन्द रिजाल
मनिला, फिलिपिन्स
म दोधारमा छु । जाउँ कि नजाउँ । भोलि मलाई दोस्रो पटक मैत्री समाजले बोलाएको छ । मैत्री समाज सम्झने बित्तिकै पहिलो पटकको घटना मेरो यादमा नाँच्न थाल्छन् ।
भुटान सरकारका प्रियतम साथीहरु मिलेर आयोजना गरेको मैत्री समाजको भेलामा मलाई पहिलो पठक निमन्त्रणा दिएको छ, जसले मलाई दोधारमा पार्यो यो विषय लिएर पहिलोपटक । न जाउँ घुलमिल गुणगान सुन्नु पर्ने । के गरौं के नगरौं !
यस्तैमा मसंग मिल्ने र मेरो यथार्थ पृष्ठभूमि जानेका साथीहरु पनि त्यो भेलामा रहने हुँदा खासै अप्ठारो मान्नु पर्नै दुगर्ती नआउलान् भन्ने ठानी त्यो निमन्त्रणा स्वीकार गरेँ र लागें भुटान मैत्री समाजको जमघटतर्फ ।
झण्डै ५०-६० जना भुटानप्रेमी मानिने जिग्मेप्रेमीहरु भेला भएका रहेछन् । तिनीहरुमध्ये ५-६ जनाले भुटानभूमि टेकिसकेका रहेछन् र अरुहरु पनि भुटान जान इच्छुक रहेछन् । एक जना, भुटानको विकास क्रान्तिमा पुस्तक लेख्न तम्सिएका पनि रहेछन् ।
हामी पुगेको केही क्षणमै कार्यक्रम सुरु भयो । मैत्री समाजका अध्यक्षले तयारी स्वगत मन्तब्य राखे र त्यहाँ उपस्थितमध्ये गण्यमान्य ब्यक्तिहरुको बढिबढाउका साथ परिचय दिए । उनले दिएको परिचयवाट ठूलै लाग्ने एक जना वृद्धा रहिछिन् जसको श्रीमान स्वतन्त्र हुने बखत बङ्लादेशलाई संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गर्दै अन्तरराष्टिय सहयोग जुटाउन खटिएका बङ्गलादेशी अधिकारी थिएछन् ।
उनी भुटानप्रति कृतज्ञी रहिछिन् । उनका अनुसार बङ्गलादेशको स्वतन्त्रताको समर्थन छिमेकी राष्ट्रकातर्फबाट भुटानले प्रथम मत दिएको थियो रे । बङ्गलादेशी वृद्धाले रोचक मन्तब्य राखिरहेकै बेला एक जना स्वयंसेवकझैँ लाग्ने आयोजकका एक जना सदस्यले मलाई पनि केही शब्द राखिदिन भने ।
म केहि अन्कनाएँ र सोधें, “मैले के भन्नु र?” “ आफ्नो मनखुसी जे भने पनि हुन्छ” उनले भने। कुनै दिन बोलौँला तर आज म तयार छुइनँ भन्दा धरै पाइनँ । त्यसपछि क-कसले के-के बोले मेरो मस्तिष्कमा रहेनन् । म के भन्ने र कुन शब्द प्रयोग गर्ने भन्ने सोचाइमा डुबुल्की मारिरहें । सधैँ समूहसामु प्रस्तुत हुनु अघि पोष्टमास्टर्स क्लवबाट सिकेका नियमबमोजिम कागजमा बुँदागत शैलीमा लेखेर तयार हुने बानीले खुल्लारुपमा सोच्न सक्ने बानीलाई विस्थापित गरेको धेरै भइसकेको रहेछ । मन-मनै वाक्यहरु बनाउँदै जान्छु; नयाँ नयाँ विचारमा चडेर नौलो-नौलो वाक्य र शब्दहरु हामफाल्दै आउँछन् । तल राख्ने कि माथि, पहिले कुन वाक्य शुरु गर्ने र अन्तममा कुन वाक्यले बिट मार्ने भन्ने मन-मनै किचलो छाँगोबाट खस्यो: यी सबै जना भुटानप्रति यति धेरै सकारात्मक छन् कि यिनको मनमा मैलो छ्यापेर के काम? धन्यवादै धन्यवादको शब्दडङ्गुर थुपारिदिए झन्झटै साफ- विचार आयो । एक छिन शान्त भयो मन, नराम्रो चट्टानमा पछारिएझैँ । मन न हो, फेरि अर्को तरङ्ग पस्यो र तुफान चलायो मनभित्र । त्यो जिग्मे, जसले ऊभन्दा पहिलो त्यही ठाँउमा जन्मेका उसका दाजु, दिदी, काका, बाबु , आमा, हजुरबाबु, हजुरआमा सम्मान जनतालाई क्रुर बनेर दुःख दियो, देशवाटै लखेट्यो, विदेशी भन्यो, आप्रवासी बनायो, त्यस तानाशाहलाई किन राम्रो भन्ने ? उसको कुकर्म लुकाउन म किन भागिदार बन्ने ? पत्याउन या नपात्याउन मैंले २० वर्षसम्म अमानवीय जीवन जिएको छु । म किन जति कुटे पनि पुच्छर हल्लाउँदै मालिकको पाउमा लिप्त हुने खिच्चा कुकुरको मति लिएर बाँच्नु । जिग्मेको कृत्रिम खुसियालीमा न मेरो समर्थन छ न त्यो देखावटी नीतिमा विश्वास नै ।
जसले जेसुकै सोचुन् म सत्य बोल्छु भन्ने अठोटका साथ आँट पलाएर आयो । यतिकैमा मान्यजनहरुको मन्तब्य सकिएछन् र छोटो वक्तब्य राख्न खुशी भुटानी शब्दहरुले सम्बोधन गर्दै खुसियालीको रहस्य बाँड्न भनी मलाई सभासामु बोलाइयो । रक्तसञ्चार तेज भयो, घाँटीभित्र भ्यागुता कुद्न थाले, आनुहारमा लाली चल्यो, मेरो टाइमा सानो माइक टँसाइयो र म बोल्न थालेँ ।
भुटान मैत्री समाजका अध्यक्ष, सभाध्यक्ष, भुटानका परममित्रहरु, महिला तथा सञ्जनवृन्द । यो पावन भेलामा मलाई बोल्ने मौका दिएर तपाईँहरुले सहि गर्नु भयो वा गलत, म भन्न सक्दिन । अन्त्यमा जे सन्देश लिएर घर फर्कनुहुन्छ त्यो म भन्न सक्दिन, त्यसैले म शुरुमै भुटान र भुटानीहरुको तर्फबाट र मेरो हदयबाट हार्दिक धन्यवादका साथ शितल अभिवादन । यो सभामा उपस्थित मध्येको सबैभन्दा अनौठो ब्यक्ति हुँ म । किन कि मेरो जन्म भूाटनमा भएको थियो । मेरो आधा जीवन भुटान मै बित्यो । भुटान सानो देश हो । दुई विशाल राष्टहरु भारत र चीनको विचमा कुँजिएर बसेको छ । भुटानमा राजाको शाषण चल्छ । अहिले दुईजना राजाहरु छन्ः महाराजा र युवा राजा । दुई जना बाबु छोरा भएकाले मिलेर साशन गर्छन् । देशमा सबै कुराहरु राजाहरुको कृपा र इशारामा मात्र चल्छ । राजाको इच्छा विपरित केही पनि चल्दैन । मान्नुहोस् राजाहरुले चाहेन्न् भने हावा चल्दासमेत पातहरु हल्लिने छैनन् । राज्यमा राजा हुनुमा धेरै राम्रा पक्षहरु छन् । जनताले भविष्यको चिन्ता लिनु पर्दैन, विकासको फिक्री गर्नु पर्दैन | कुनै कुराको योजना वा निर्णय लिने जोखिम मोल्नु पर्दैन । राजाले चाहे चौकिदारलाई प्रधानमन्त्रि र मन्त्रिलाई गोठालो बनाउन सक्छन् | चौकिदारलाई प्रधानमन्त्रि र मन्त्रिलाई गोठालो बनाउन सक्छन् हुकुममार्फत । गरीवलाई धनाड्य र पापीलाई महात्मा बनाएका कथाहरु प्रसस्तै छन् । १९९८ ताका यस्तै करामत देखाए महाराजाले प्रत्येक वर्ष एक जना मन्त्रीलाइ दलहरु खेली, चुनाव गराए र प्रजातन्त्र भनी घोषणा नै गरिदिए ।
राजाले पदोन्नति मात्र छैन दुर्गति पनि गराइदिन्छन्, उनले भनेको नटेरे । त्यस्तै गरे १९८० को दशकको अन्त्यतिर । आफूले दिएको आदेश नपत्याएको भनी एक चौथाई जनतालाई तारो बनाए, तिनको घरवार लुटे, कतिलाई जेलमा सडाइदिए कतिलाई देशवाटै हुत्याइदिए । आज दुई दशकपछि पनि ती लाखौँ भुटानीहरु नेपाल, अमेरिका र अन्य मुलुकमा अनागरिक र राष्ट्रहीन भएर भौँतारिइरहेका छन् । ती लाखौंमध्येको एक जना अहिले तपाईंहरुको सामु बोलिरहेका छ ।
यसैविचमा देशमा अनेक अनिष्ट र संकट आइपरे जसलाई सभ्य पार्न राजाले नयाँ हुकुम दिएका छन् । जस अनुसार सबै खुसी हुनै पर्ने । अहिले राजाको त्यहि आज्ञाअनुसार देशवासीहरु खुसी हुनै परेको छ । जो खुसी हुन चहाँदैनन् वा सक्दैनन् तिनीहरु देशद्रोही, राजद्रोही, आतंककारी हुने छन् र कि देशवाट निकालिने छन् कि त जेलमा सड्ने छन् । राजा…………’
मैंले बोल्दै गरेको माइक मर्छ ध्वानि बन्द हुन्छ र बोल्ने समय सकिएको संकेत आउँछ मलाई । अन्त्यमा धन्यवाद सुनाउन नपाए पनि धन्यावादको इसारामा शिर निहुराएर म आफ्नो सिटतर्फ लागेँ । सबैले मलाई हेरिरहे त्यो सभाको सबैभन्दा अनौठो मानवलाई जीवनामा पहिलो पटक दैविक आन्नदको अनुभूति भयो । मन गर्वले फुलेर आयो । सभाका केही मान्छेले मात्रै सहानुभूतिपूर्ण नजरले हेरे। अधिकांश नजरहरुमा क्रोध दौडिरहेको थियो मानौं उनीहरु बदला लिन तयार छन् । त्यो घटना घटेको एक वर्ष भएछ ।
भोलि मलाई मैत्री समाजले दोस्रो पठकमा बोलाएको छ । म दोधारमा छु जाउँ कि नजाउँ । र गएँ भने के बोलौं भनेर ।
तपाइले ठिक गर्नु भयो. लंगदाको देशमा खुट्टा खुम्च्याउनु बन्ने कथन राम्रो होइन . तपाई स्वाभिमानी हुनु हुन्छ , आँट गर्नु भयो, साबित गर्नु भयो , शिर निहुर्याएर नमन गर्दछु /
.
तुलसी
RijaljI, J garnu bhayo thik garnu bhayo. Pheri pani ysai gardai janu hola.