डिल्लु चम्लागाई
ओहायो, अमेरिका

थाहा छ ऊ अवश्य आउँछ
हरेक पल आउँछ सधैँ झैँ
मेरै वरिपरि सुसेल्दै आउँछ
मलाई निस्स्वार्थ पार्न थाल्छ
मेरा अङ्गअङ्गको स्पर्श गर्छ
गहनाहरूसँग बहेली खेल्छ
धेरै भइसक्यो क्रम जारी छ
मलाई सहनै पर्ने मज्बुरी छ
सुतेका बचेराहरू ऊ उठाउँछ
चिथोर्छ, पछार्छ, म के गरूँ
किन ? आफै बोल्न सक्दिन
मलाई उसको बानी परिसक्यो
नङ्याउँछ तर पनि म बोल्दिन
ऊ आउँछ फेरि भोलि आउँछ
जान्छ रहर पुर्‍याएर म बोल्दिन
यसरी नै ऊ अर्को साल आउँछ
तर म कहिल्यैपनि हार मान्दिन
मैले जिउनु छ जीवन बचाउनु छ
हरेक साल मलाई लागिरहन्छ
मैले जित्नु थियो जितेको छु
सम्हाल्नु थियो सम्हालिएको छु
माटोमा म आफै उभिएको छु
घाम र पानी सधैँ सहेको छु
त्यसैले आज हेर म निडर छु
किन कि? ऊ शिशिर थियो र
म आफै एउटा बुढो रूख थिएँ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *