मनभित्रको मन
खेमनाथदाहाल
कनेक्टिकट ,अमेरिका
हिमालको मायालाई,
मेची र कालीको सुसेलीलाई,
अनुभूत गरे पनि नगरे झैँ
सुने पनि नसुने झैँ
आशाको पोको च्यापेर,
प्रवासको सपना बोकेर
सजीव निस्केको थिएँ,
अवसरहरुका पहाड चढ्न
पुरुषार्थको खेती गर्न ।
गन्तव्यको खोजी गर्दागर्दै
परिणत भएँ,
सजीवबाट विम्बमा
विम्बबाट प्रतिविम्बमा,
प्रतीक झैँ बनेँ ठाउँ ठाउँमा,
असामान्यबाट सामान्य बनेँ
पटक पटक अनायशै
धेरै पटक आवाद गरेँ
कल्पनाका संसारहरु
धेरै पटक प्राप्त गरेँ,
आफैं हराउने भौतिकताका भण्डारहरु
तथापि छैन तुष्टि, लालायित छु
पुनः प्रतिविम्बबाट विम्बमा रुपान्तरण हुन
विम्बबाट सजीवतामा स्वतःस्फूर्त पुग्न !
आज पनि मभित्रको मनमा
कर्तव्यबोधको चेतना मरेको छैन
मायाको तृष्णा मेटिएको छैन,
अझै अस्तित्वबोधको भोकले
मलाई झस्काउन छाडेको छैन,
सम्झन्छु,
केवल एक पहरेदार, परिवेशको पूजारी
आफ्नै मौलिकता र आफ्नै स्वतन्त्र पहिचानको ।
त्यसैले युगपर्यन्त,
माया र सुसेलीलाई ढुकढुकीबाट
बाहिर निकाल्न सकेको छैन
जतिसुकै पर पुगे पनि
मनले मातृभूमिको
नेटो काट्न सकेको छैन,
परदेश आवाद गरे पनि
आमाको मायाले
परेलामा आँसुको चिसो
अद्यापि सुकेको छैन ।।
२५ मे २०१० कनेक्टिकट ,अमेरिका