मनोनिग्रह

खेम खनाल
ओहायो

व्यवहार तिरै अति व्यस्त भएँ
सबले उछिने पछुवा म भएँ
गलिए पछि रात भरी सपनी
मन मन्द भयो अनि बुद्धि पनि ।१।

नछ खेत बगान र गोठ यहाँ
सब ढाक्नु छ खान र लाउनमा
घर चल्नुछ जागिरकै भरमा
अति व्यस्तछु गाँस जुटाउनमा ।२।

मन काम तिरै नमिलेर बिदा
तन गल्छ सधैँ र हुदैछु फिदा
अति कष्टछ काम भलो नबने
सुबिदा छ सधैँ धनधान्य बढे ।३।

सुख पूर्णछ जीवन भन्दछ रे
फल फल्छर के! बिरुवा नसरे
जति जेछ यहाँ बुझ तक्दिरमा
शुभ छाक जुटाउन आखिरमा ।४।

कति दागछ मानवका शिरमा
सपना सकिए पसि जञ्जिरमा
पथ बन्द भयो सब आर्जनको
भर छैन कहीँ पनि जागिरको ।५।

दिनरात बिते परिवार भनी
अति नै खटियो तन जीर्ण बनी
न त गौरव, सुन्दर काम भयो
घर धान्न तिरै बल बैँस गयो ।६।

जति आउँछ हो उति नै सकिने
बुझ पेट छ यो नभरी नहुने
सरजाम किने धन ढाल्नु छ हो
सुख वा दुख भो मन टाल्नन हो ।७।

मनमा शुभ चेत कता छ कता
अझ हुन्न यहाँ भर सादरता
अनविज्ञ हुँदा दिल खल्बलियो
बलमा सुख सार थियो सकियो ।८।

भरिलो र ठुलो न त कार्य भयो
भुलिदा भुलिँदै बल खेर गयो
पल बित्दछ वर्ष र मास गरी
बुझिएन सुधा रस राम हरि ।९।

अलि उठ्नु थियो सकिएन त खै
मन शान्त हुने भर पाउँन है
शुभ सोच खुलाउन इन्द्रियमा
दिल अर्पिदिएँ अब ईश्वरमा ।१०।

(छन्द-तोटक)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *