महादेवको अगाडि फिष्टाको टिरटिर्

लेखक
लेखक

भक्त घिमिरे
अमेरिका

सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन पशुप्राणीमा पनि यो कुरो लागू हुन्छ । यद्यपि, यो बुझाइ केवल प्रत्यक्ष अर्थमा सीमित रहन्छ । परोक्ष अर्थमा आफ्नै आमाले पनि बच्चा रोएको रुचाउँछिन्, रुचाउनुपर्छ । कहिलेकाहीँ बच्चा नरोएमा भोक-तिर्खा लाग्यो-लागेन भन्ने पनि भुल्छिन् । बच्चाको रुवाईको सङ्केतबाट मात्र आमाले पीडा-व्यथाहरु थाहा पाउँछिन् । यसको अर्थ के हो भने शब्द नआए पनि आवाजले बोल्छ मान्छे, बोल्नुपर्छ । तपाईँले बोलेर वा सङ्केत गरेर आफ्नो अभिव्यक्ति दिएपछि मात्र दोस्रोबाट प्रतिक्रिया आउनसक्छ ।

सम्झनुहोस्, तपाईँ फुटबल मैदानको छेउमा उभिएर खेल हेरी रहनुभएको छ । कसैले तपाईँको खुट्टामाथि टेकेर तन्किँदै खेलाडीको चमत्कारितामा रमाई रमाई हल्लिरहेको छ । के तपाईँले ‘मेरो खुट्टा टेकियो ! के गरेको ?’ भनेर सतर्क गराउनुहुन्न र? तपाईँले यति भन्नुभएन भने उसलाई के थाहा र उसको खुट्टाले तपाईँलाई दुःख दिएको छ ! यति भन्दा निः उसले नटेरेमा तपाईँले उसलाई चिमट्नु हुन्छ । सभ्य मान्छे भए तपाईँले त्यति भन्दा ऊ ‘माफ गर्नुहोस्, मैले देखिनँ’ भनेर खुरुक्क खुट्टा झिकिहाल्छ । त्यति भन्ने ह्याउ नभएको अधबेस्रो छ भने पनि थपक्क खुट्टा झिकेर भीडमा हराइहाल्छ ।

तपाईँले त्यति भन्दा पनि टेरेन भने तपाईँ त्यसलाई पक्कै पनि सकी नसकी मुक्का कस्नुहुन्छ ! नत्र सहयोगीहरुलाई बोलाउनुहुन्छ र त्यो मान्छेप्रति आक्रोश व्यक्त गर्नु नै हुन्छ । यो मानवीय प्रवृत्ति हो । साधु, सन्त र योगीले पनि रिस-रागको सीमा हद पुगेपछि आक्रोश व्यक्त गर्छन् । किताबी उपदेश उनीहरू अरूसमक्ष बाँडिरहन्छन्, ‘रिसरागले आफैँलाई हानि पुऱ्याउँछ’, भनेर । तर, ‘रिसका बेला वेद उनीहरू पनि पढ्दैनन्’, गायत्री जपेर उनीहरू पनि बस्दैनन् । आफूमाथि पीडा भएपछि उनीहरू पनि कुनै ध्यानमा बस्दैनन् । पौराणिककालदेखि चलिआएका ‘वरदान’ र ‘श्राप’ का प्रसङ्ग पनि यही सन्दर्भमा केन्द्रित छन् । यस्तै क्रिया र प्रतिक्रियाको परिणतिबाट संसारमा ठुल्ठूला युद्धहरू हुन्छन्, साम्प्रदायिक दंगाहरू हुन्छन् । यसको तात्पर्य आफ्नो पीडा र खुसी दुवै व्यक्त गर्ने मुख्य साधन, सङ्केत वा इसारामार्फत बोल्ने प्रक्रियालाई कुनै न कुनै तरिकामा सबै मान्छेले अपनाउनै पर्छ ।

बोल्नु भनेको मान्छेको भावना बुझ्ने मूल आधार हो । तर, बोल्नुमा एकोहोरो भए एकपक्षको मात्र बोलवाला बढ्छ । बोल्नुभित्र ‘सुन्नु’ पनि लुकेको हुन्छ । नसुनेर बोलेको बोल्यै गरे त्यो ‘बोल्नु’ हुँदैन ‘हाँक्नु’ हुन्छ । त्यो ‘भाषण गर्नु’, ‘हैकम चलाउनु’ वा ‘निरंकुशता लादनु’ हुन्छ ।

हामी खास्सै बोल्ने समाजका मान्छे होइनौं । हाम्रो समाजका धेरै मान्छेहरू बोल्न चाहँदैनन्, चाहनेहरु पनि बोल्न सक्दैनन् । बोल्नेहरु थोरै छन् तर, उनीहरू शासन गर्न चाहन्छन्, एकछत्र शासन । ती दिमागहरुले शासन गर्नलाई, बोल्न र सुन्न नभई सुनाउन मात्र राम्रो सम्झन्छन् । अर्कोथरी भन्छन्,‘शासक भनेका देउता हुन्छन् । देउतालाई चलाउनु हुँदैन । देउता रिसाएमा प्रलय हुन्छ ।’ अझ कोही त शासक शासितबीच ‘पहरो र कुइँनो’ को तुलना गर्दै भन्छन्,‘कुइँनोले ठेलेर पहरो हल्लिँदैन ।’ यही क्रमले एउटा युग बितेर गएको छ ।

यस सन्दर्भमा एउटा गाउँको कुरा गरौँ । त्यस गाउँमा ‘स्वर्ग जाने विमानका टिकट बेच्ने’ केही महापण्डितहरु बोल्थे । मुखिया र ‘डासु’हरू बोल्थे । ‘डासु’हरुका अघिपछि लाग्ने धुपौरेहरु पनि गाउँमा ठुलै स्वरले बोल्थे । निर्धा र निमुखाहरुमाथि हुकूम गर्ने डिट्ठा र जमिन्दारहरु बोल्थे । मुख्तियार र चप्राशीहरु बोल्थे । कानमा नाङ्ले सुन झुण्ड्याउने र छातीमा सौभाग्य, नौगेडी र केके भिरेका गाउँका आइमाईहरु पनि धेरै बोल्थे । काजी र मण्डलका स्वास्नीहरु पनि बोल्थे । तर, तल्लो तहका आइमाईहरु बोलेमा गाउँमा ‘पोथी बासिहाल्थ्यो ।’ ‘तल्लो जात’काहरुका अगाडि ‘माथिल्लो’ जातकाहरु ठाँट कसेर बोल्थे । त्यहाँ ‘धेरै हुने’ थोरै मान्छे बोल्थे । थोरै हुने र केही नहुनेहरु सुन्थे । हुनेखाने र बठ्याइँ छाँट्नेहरुका जिब्रा मात्र थिए, सुन्ने कान थिएनन् । कर्जा र ऋणमा डुबेका बनीबुतो गरिखानेहरुका सुन्ने कान मात्र थिए, बोल्ने जिब्रै थिएनन् ।

हो ! त्यो गाउँमा थोरै मान्छे बोल्याबोल्यै गर्थे, धेरै मान्छे सुन्यासुन्यै गर्थे । भव्य महल र रिमिक्क परेका पक्की घर अनि बुट्टादार झ्याल भएका घरका मान्छेहरू बोल्थे, बोलिरहन्थे । तिनीहरुसँग ‘धन’ नामको शक्ति थियो, एउटा बलिष्ठ र हिंस्रक बाघजस्तै । त्यसैले उनीहरूको थाङ्ने कुरा भए पनि सबैले ध्यान दिएर सुनिरहन्थे ।

‘बोल्नेको पीठो बिक्छ…’, यो आहान् ती सुन्नेहरुले बेला-बेलामा भन्थे । यस भनाइमा ‘बोली’को महत्व लुकेको छ । कति सत्य कुरा, हो कि? बोल्न नसक्ने निमुखा व्यक्तिमा जतिसुकै राम्रा विचार भए पनि, अरूका भन्दा असल माल भए पनि महत्वहीन हुन्छन् ! बोल्न सक्ने चण्डालले काम फत्ते गरिसक्दा पनि निमुखाले कि त थाहै पाउँदैन, थाहा पाए पनि लाटाले पापा हेऱ्याजस्तो ट्वाँ परेर हेरिरहन्छ । सुनेर बस्नेहरु मौजुदा परिस्थितिका दास हुनुपर्छ ।

“बोलेर मात्र के गर्ने, मुखै दुखाउनु त हो; हामी बोलेको कल्ले सुन्छ र? उठेर बोल्दा हावाले उडाउँछ, बसेर बोले पहाडले छेक्छ ।” गरिब भनेर हेलाँ गरिएका निर्धा जीवहरुको यो कथनमा कति धेरै दुःख लुकेको छ, हो कि…?

यसरी हाम्रो समाजमा विभिन्न मान्छेले, धेरै समूहले, जातिहरुले जानेर वा नजानेरै आफूजस्तै अर्कालाई सतारहेका छन्, थिचोमिचो र हेलाँ गरिरहेका छन्, लुटिरहेका छन् अनि चुसिरहेका छन् । यस्तो अवस्थाका विरुद्ध हामी बोल्नुपर्छ त ! नत्र भोलि हाम्रै सन्तानले हाम्रो विरुद्ध बोल्नेछ । ‘प्रौढ जमातले विद्रोह गर्न सकेन अब नवपिढीले गर्ला निः…’ भनेर ढुक्क भएका अभिव्यक्ति कता-कता सुन्न पाइने गरेको छ । तर नवपिढीको त्यो चरणको आशातीत विद्रोह पहिले आफ्नै घर-परिवारबाट सुरु हुनेछ भन्ने कुरो त्यो प्रौढ जमातलाई थाहा नहुनसक्छ ।

यो अवस्थाले हामीलाई समय नबिताइकन आजै बोल्नुपर्ने बुझाउँछ । ‘सबै कुरा सहनुहुन्न । चुपचाप नबसेर आवाज उठाउनुपर्छ ।’ सबै गुट र समूहका अगुवाहरु यसै भन्छन्, ‘आवाज उठाउनुपर्छ ।’ तर, आवाज उठाएकै कारण कसैले देशै त्याग्नुपर्ने अवस्था आएको तथ्य हाम्रै सामुन्ने छ । त्यसैले बोल्ने बेला आफूले बोलेका कुराको जग कतिको बलियो छ भन्ने पनि याद गर्नुपर्छ । अनुमानका भरमा कल्पनाको नक्सा बनाएर बोल्न हुँदैन । हामीबीचमा बोल्न चाहनेहरुमध्ये केही नचाहिंने गरी, सिमाना नाघ्ने गरी बोल्नेहरु पनि नभएका होइनन् । बोल्ने बेला जहिले पनि आफूलाई एउटा हतियारको रूपमा तुलना गर्नुहोस र ‘हतियारमा लाग्ने धार हुनु जरुरी छ तर, बिँडमा पनि धार भए समाउने ठाउँ नै हुँदैन । त्यो हतियार काम लाग्दैन’, भन्ने कुरा ध्यानमा राख्नुपर्छ । हाम्रो बोल्ने वा बातगर्ने उपयुक्त खूबी नभएर आज हाम्रो समाज नै डुब्ने स्थिति पुगेको हो । मन्दविष घोलिएको शिष्ट शैलीको अन्याय भएमा शिष्ट शैलीकै कूटनीतिक प्रतिकार हुनुपर्ने र क्रूर शैलीको अन्यायमा प्रतिकारको स्वर पनि खरो र कठोर बनाउनुपर्ने हुन्छ । तर, पहिलो चरणमा हामी साँचो कुरा खुलेर बोल्नै चाहँदैनौं ! बोलीमा नरम खोल हालेर, अझ बाहिरबाट ‘घिउ दल्दै’ बोल्ने अनि अलि पर नदेखिने ठाममा पुगेर खस्रो कुरा काट्ने बानीले समाजमा यो विचलित परिणाम आएको हो ।

समाजमा हामीलाई शोषक, शासक, मुखिया, मण्डल, काजी, सरदार, मुख्तियार सबैले बोल्न होइन, नबोल्न नै हौस्याउँथे । साहु-महाजन बाजेहरु, ठुलो गोठ पाल्नेहरु, जमिन धेरै हुनेहरु, घरमा टीनको छानो टल्काएकाहरु सबै हामीलाई नबोल्न नै दबाब दिन्थे । उनीहरू ‘निम्न दर्जाका’ हरुलाई ठग्न, सताउन नै बोल्दा रहेछन् । हामीलाई भने ‘नबोल्नु नै जाती, बोल्यो भने छुच्चो भइन्छ ।’-‘बोल्यो कि पोल्यो’-भनेर झुटो कुरा पढाउँदा रहेछन् । हामी बोल्दा ‘साना मान्छेले ठुलो कुरा गर्न सुहाउँदैन’-भनिदिँदा रहेछन् । कुनै ठालुको सामु भएर हाकाहाकी बोल्दा ‘महादेवका अगाडि फिष्टाको टिरटिर्’ भनेर हेपाह प्रवृत्तिको नमुना पेस गर्दारहेछन् । एक जमाना थियो निमुखाले सोझो कुरा गरेमा ‘पाटा मुडेर सिमाना कटाइन्थ्यो ।’ हाम्रा आमा-दिदी, बहिनीहरू बोले ‘पोथी बास्यो’ भनेर ढोल पिटिन्थ्यो । तर, धनी र पदासीन मान्छेले जे जसो गरेपनि ‘सधैँ कर्तव्य’ नै गरिरहेको हुन्थ्यो !

ठूलाठालुहरुले हामी नबोलेकै मन पराउँदा रहेछन् । नतमस्तक भएर आज्ञापालक बनेको हेर्न चाहँदा रहेछन् । बोल्दा गिज्याउँदा रहेछन् । कहिलेकाहीँ बोल्नेलाई कुटपिट्, छेकथुन र आक्रमण गरी ज्यानैसमेत लिँदा रहेछन् । कति नबुझेर, कति हिच्किचाएर, कति डराएर हामी चुप बसेका रहेछौं; सिँगाने किरा गुँडुल्किएर बसेजस्तै, मरेको स्याल लत्रिएजस्तै । हाम्रो समाजको मुख्य चलनमा ‘ठूलाठालुको सेवा गर्नु र गाली सहनु अनि निचोरिएकाहरुलाई देखी नसहनु’ नै ‘धर्म’ रै’छ । सानालाई ढाल्नसके पनि ठुलालाई कहिल्यै नठेल्नु, दान गर्नु, मान गर्नु र ध्यान गर्नु, अर्काको अस्तित्व रक्षाको लागि ज्यान दिनु र आफ्नो स्वाभिमान बिर्सनु नै ठुलो धर्म रै’छ । साना तथा गरिबलाई माया र प्रेम गर्नु अनि सद्भावना राख्नु ‘महापाप’ हुँदोरहेछ । यसो गरेमा मरेपछि ‘नर्क’ र ‘रौरव’ वा ‘कुम्भिपाक’ कता-कता पुगिने ‘निश्चित’ रै’छ ।

‘ठूलाहरु’ सोझै आएर घोडा चढे पनि बोकेर केही क्षण दौडिनु साना र निमुखाहरुको दायित्व रै’छ । ठालुहरुको डोली बोकेर थाकेपछि हुर्मत हुँदै असिनपसिन भएर रुञ्चे हाँसोमा ङिच्च दाँत देखाइदिनु बोकाहाहरुको ‘कर्तव्य’, ‘सेवा’ र धर्म रै’छ । तर, साना भनिएकाहरुलाई नजिक आएर छुनु त कुरै छाडौं सोझो अनुहार हेरेर दोहोरो बातचित गर्नु नै ‘पाप’ ! दुखिया र निमुखाहरुलाई जति जति घृणा गर्नसक्यो, जति पर सारेर किनार लाउन सक्यो उति ठुलो ‘धर्म’ बुझिँदो रै’छ । यति गर्नसके मरेपछि ‘बैकुण्ठपूर’, ‘ईन्द्रपूर’, ‘ब्रह्मलोक’, वा कता-कता पार जाइन्छ रे !

अब समाजका यस्ता बन्धनहरु जबरजस्ती चुँडाउनुपर्छ । हामीले आफ्ना कुरा गर्न सक्नुपर्छ । अरूले रटाएका कुरा बोल्नेहरु त हाम्रो समाजमा धेरै छन् । ती बोलेको सुन्दैमा ‘हाम्रो समाज बोल्दैछ’ भन्न मिल्दैन । कारण सुगाले बोलेका शब्दहरू ‘स्वर’ मात्र हुन्, बोलीचाली वा बातचित होइनन् । बातचित भनेको दोहोरो कुराकानी वा अन्य दोहोरो अभ्यासबाट मात्र सम्भव छ । अहिलेसम्म हाम्रो बोली नै छैन भन्न खोजिएको पनि होइन । तर, समाजमै बोलचालको चलन भने बसेको छैन । फाट्टफुट्ट बोली फुटेको मात्र छ । तर, धेरैअघि फुटेको हाम्रो बोली कहिल्यै दोहोरो हुनसकेन । एकोहोरो मात्र भयो । जसले जान्यो त्यसले मात्र बोल्यो । ‘जसले जान्यो उसले हान्यो’ भन्ने त उखानै छ । सुन्नुपर्नेले सुन्यो कि सुनेन; बुझ्नुपर्नेले बुझ्यो कि बुझेन भन्ने परवाह कहिल्यै गरिएन । ‘सुतिरहेको मान्छेलाई कसरी दौडिने’ सिकाएर हुन्छ र ? ‘बिहान चाँडै उठ्नुपर्छ’ भन्ने सिकाएर पो अरू कुरातिर अघि बढ्नुपर्छ!

आज बोल्ने र सुन्नेहरुका बिच भयंकर ठुलो खाल्डो छ । बोल्नेहरुको मिजास र तह सुन्नेहरुसित मिलेको छैन । बोल्नेले बोल्यो तर, सुन्नेहरुबाट प्रतिक्रिया आउन महिनौं कुर्नुपर्छ । कहिलेकाहीँ वर्षौं लाग्छ । आजको युग सूचना र सञ्चारको युग हो । सबैले यसको उपयोग गरी आफैँलाई संसारका हरेक गतिविधिमा सरोकारवाला बनाउन सक्नुपर्छ । विषयगत रूपमा बोल्ने र सुन्नेका बिच तालमेल हुनुपर्छ । विचारको उपयुक्त लेनदेन हुनुपर्छ । अनिमात्र बोलीको अर्थमा सन्तुलन हुनसक्छ । गाउँ, समाज, राज्य र देश हुँदै अन्तर्राष्ट्रिय स्तरमा हाम्रो बोली पुऱ्याउनलाई, बोलीचालीको क्रम स्थापित गराउनलाई थिचिएका-मिचिएहरुको आवाज पनि झाङ्गिनुपर्छ । हाम्रो बोली बलिया थांग्राहरुमा लहरिएर फिँजिन सक्नुपर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *