महानन्द नदीदेखि वासिङ्टनसम्म – २
देवी पोखरेल
एड्लेड, अस्ट्रलिया
आजको ‘म्यान अफ् द म्याच’ को उपाधि पाएका छन् – वि…वेकले ! सजी-सजाऊ मञ्चबाट पुरस्कार वितरण समारोहका उद्घोषक जोन ह्यारीले यस्तो घोषणा गर्न नपाउँदै तालीको गड्गडाहट र हिप-हिप हुर्रेको प्रतिध्वनिले सारा मैदान नै गुञ्जयमान भयो । एक तमासले सुनसान तवरमा कुनचाहिँ अमेरिकन छोराले म्यान अफ द म्याचको उपाधि पाउने हो भन्दै बसेका अभिभावक वा समर्थकहरु पनि विवेकको अपरिचित नाम सुन्नासाथ गुञ्जित तालीहरुलाई साथ दिँदै बधाई र खुशीयालीको सांकेतिक समर्थन जनाउँछन् । सबै विवेककै उमेरका खेलाडी तर, गोराहरुको बाहुल्य रहेको टिममा केवल विवेकथियो छुट्टै वर्णको । दुवै पक्षका सबै खेलाडीहरु लामबद्ध भई हार-जीत तथा विभिन्न विशिष्ट उपाधिहरु पाउने आशामा बसेका थिए। अप्रत्यासित रुपमा आफ्नो नाम सुन्नेवित्तिकै जुरुक्क उठ्यो र आकाशतिर हेरेर हवाई चुम्बनको संकेत हर्दै कृत्रिम फूलहरुको वर्षाले केही अदृश्य बनाउने लागेको मञ्चतिर लाग्यो !
यतिकैमा दर्शकहरुको ठूलो भीडबाट एक साठीको दशकको उमेर खाएका गोरा अमेरिकन नागरिक हस्याङ्-फस्याङ् गर्दै विवेक मञ्चतिर जाँदै गरेको क्रममा उसलाई एक्कासी अंकमाल गर्दै अनि हर्षविभोर अश्रुधारा बहाउँदै आकाश छुवाउँलाझैं गरी माथि उचाले। सबैको दृष्टि मञ्चको रङ्गी-विरङ्गी पुष्पवृष्टि भन्दा अलग, त्यस मानवीय प्रेमालापको दुर्लभ अनि फिल्मी दृश्यतिर मोडियो । उद्घोषक जोन ह्यारी भने दर्शकहरुको कोलाहल चिर्दै पुरस्कार वितरण समारोहको औपचारिक कार्यक्रम अघि बढाउनतिर लागे ।
विवेक र मोनिका अमेरिका पुगेकैदिन सरकारी मातहतको एउटा सुविधायुक्त अनाथालयले विमानस्थलबाटै उठाएर लगेको थियो किनकि उनीहरुका जन्मदाता आमा-बाबा साथमा थिएनन् । हरिका छोरा-बुहारी संतोष र निशाप्रति त्यस अनाथालयले हार्दिक कृतज्ञता प्रकट गरेकोमा उनीहरु एक प्रकारले खुशी थिए भने अर्का प्रकारले निकै दु:खीत पनि भएका थिए- विवेक र मोनिकालाई आफैंसँग राख्न नपाउँदा। उनीहरुले ती अवोध बालबालिकालाई बेलडाँगीदेखिनै हेरचाहपूर्वक अमेरिका पुर्याएका थिए। तर उनीहरु अनाथ बालबालिकाको लालनपालनका निम्ति अमेरिकी सरकारले मानवीय नाताले देखाएको सद्भाव र शुभेच्छाबाट प्रभावित हुँदै सबैभन्दा बढी प्रफुल्लित भएका थिए। विवेक र मोनिकाको रेखदेख, शिक्षा-दीक्षा र त्यहाँ उसोको पूर्ण जिम्मेवारी त्यसै अनाथालयले लिने कुरा बुझेपछि संतोष र निशाले सोही बेहोराको पत्रमा हस्ताक्षर गरिदिएका थिए। त्यसोत अनाथालयले घरपरिवार र आफन्तहरुलाई भेटाउन ल्याउने अनि समुदायका महत्वपूर्ण कार्यक्रममा सहभागी गराउने वाचा पनि गरेको थियो।
विवेक र मोनिका विश्वकै शक्तिशाली प्रजातन्त्र अनि अर्थतन्त्र भएको मुलुक या संसारभरका मानिसहरुको सपनाको देश भनेर चिनिएको देश अमेरिकामा भव्य सुविधासम्पन्न अनाथालयमा जीवनयापन शुरु गर्नपाएकोमा मख्ख थिए । ती अवोध नाबालकहरु समय-समयमा सिलगढीको चम्पासरिको धुलोमा लपेटिएको सम्झन्थे त कहिले महानन्द पूलमुनिको अस्तव्यस्त जीवन सम्झन्थे अनि छोटैसमयका लागि भए पनि शरणार्थी शिविरमा बिताएका पलहरु सम्झिंदै एक-आपसमा भावनाका शब्दहरु साटासाट गर्दै आफूलाई अमेरिकाजस्तो देशमा पुनर्जीवन पाउने सौभाग्य मिलेकोमा गौरवशाली मान्थे । केही वर्षअघि मात्र औपचारिक शिक्षामा प्रवेश पाएका ती अवोधहरु अमेरिका पुग्ने वित्तिक्कै स्कूल जाने अनि अरुले जस्तै अंग्रेजी फरर बोल्न सक्नेहुने सपना पूरा हुने वातावरण बन्दै गएको महशुष गर्न थाले । अनाथालयले तिनीहरुलाई लगेपछि एकसाता यता-उता घुमाएर सियाटललगायत आसपासका क्षेत्र चिनाउनका साथै केही दिन शरणार्थी शिविरको धङ्धङे हटाउन र नयाँ परिवेशमा घुलमिल हुनका निम्ति आरम गर्न मौका दियो। यसपछि अनाथालयका कर्मचारीले विवेक र मोनिकालाई स्कूल भर्ना गराउन भनेर सियाटल प्राईमेरी स्कूल लगे। सामान्य औपचारिकता पुरा गरेपछि सोझै भर्ना भएको कुरा उनीहरुलाई साथमा रहेका दोभाषेले बताए। उमेर अनुसारको तहमा पढ्न पाउने भएपछि खुशी भए अनि केही वर्ष अघि पञ्चवती ईंलिस स्कूलको सेक्टर ई स्कूलमा भर्ना हुँदाका केही क्षणको याद गर्दै दिदी-भाइ एक आपसमा मुस्कुराए ।
अमेरिकी स्कूलमा पढ्न पाएकोमा खुशी मात्र भएनन् विवेक र मोनिका, उनीहरु आफूलाई संसारका भाग्यमानी अनाथ मान्नथाले। दुवैजना नबिराई स्कूल जानथाले । एक दुई शिक्षक-शिक्षिका र सहपाठीहरुको भाषा नबुझेर केही अप्ठ्यारो भएको महशुष गरे । तर विस्तारै बुझ्न थाले, शिक्षण पध्दतिसँग परिचित भए, साथीहरु बनाए अनि स्कूलमा धेरै रमाइलो हुने कुरा थाहा पाए। यस कारणले उनीहरुलाई स्कूल छुटाउन मन पर्न छाड्यो । उनीहरुलाई अनाथालयको बसले बिहान पुर्याउँथ्यो भने बेलुका लिन पनि आउँथ्यो। यसरी स्कूल जाँदा उनीहरु कहिले खुरुरु कुदेर स्कूल पुगेको त पानी झरीमा रुज्दै वा खाता-किताबको झोलाले शीर ओताएको सम्झिन्थे भने कहिले चट्टीमा बसेर पढेको र घरमा टुकी बालेर होमवर्क गरेको संझिन्थे । भर्खरै मात्र कमप्यूटर देखेका उनीहरु, कमप्यूटरकै सहायताले कक्षामा पढाएको र साथीहरुले कमप्यूटरबारे सबै कुरा जानेको देखेर अचम्म मान्थे । शिक्षकहरुको दृष्टिकोण र पहिलो तीन महिने शैक्षिक प्रतिवेदनले उनीहरु स्कूलभरिमा छिट्टै सिक्ने, सिक्न उत्सुकता देखाउने, सबैसँग चाडैं घुलमिल हुने, अतिरिक्त क्रियाकलापमा भाग लिन चाहने अनि सबैलाई समान सम्मान गर्ने आदत रहेको देखायो । यसमा उनीहरुले स्कूलबाट स्याब्बासी त पाएनै अनाथालयले भने दुवैजनालाई एउटा कमप्यूटर पुरस्कार दियो। यसपछि कमप्यूटर चलाउने सिकेर बेला मौकामा फेसबुक खोलेर शिविरमा सँगै खेलेका साथीहरु, चिनेका आफन्त र अग्रजहरुलाई खोज्न थाले । विवेकले त मलाई फेसबुकमा मित्र बन्नका लागि अनुरोध पठाएछ, जसलाई मैले सोझै स्वीकारेँ !
अनाथालयको खेल्ने समयमा विवेकको बढी झुकाव फुटबलमा रहेको उनीहरुको हेरचाह गर्ने कर्मचारीहरुले पाए। उसले स्कूलमा पनि धेरै यही खेलमा चासो राख्ने शिक्षक-शिक्षिकाबाट संकेत पाए। उसले साथीहरुसँग फुटबल खेल्दा नजानिँदो हिसाबले आकर्षक कलाहरु देखाउँथ्यो। विवेकको जस्तो कला त्याहाँ कसैको थिएन- त्यसैले उसका साथीहरुले घरलगायत स्कूलमा सबैलाई सुनाए। मोनिकाको भने खेलभन्दा लेख्न-पढ्न र चित्रकला बनाउन रुची रहेको उसको यी क्रियाकलापमा देखिएको एकाग्रताले बुझियो । मोनिकाको कलाप्रतिको लगनशीलता वरदान सावित हुँदैगयो, जब उसले आफूले सिलगढी र बेल्डाँगीमा व्यतीत गरेका जीवनको कथा चित्रण गरिन् चित्रकलामार्फत र सबैलाई चकित बनाइन् । यस सफलताले मोनिकालाई समय-समयमा चित्रकला प्रतियोगितामा लिने प्रेरणा मिल्यो। यसै सिलसिलामा एक प्रतियोगितामा उसको एउटा मार्मिक चित्रकला प्रथम पनि भयो जुन चाहिँ न्यूयोर्कको प्रख्यात आर्ट ग्यालरी ‘एन वाई क्यानभास’ को ‘द ईमेजस अफ द लस्ट वर्ल्ड’- प्रदर्शनीका लागि छनौटमा पर्यो । राम्रा चित्र बनाउँछु भनेर पनि राम्रो थाहा नपाएकी मोनिकाले त्यतिको ठूलो सफलता पाएको थाहा त पाइन् तर मजाले सबै कुरा बुझिनन्, बुझ्न पनि चासो देखाइनन् । तर स्कूल र अनाथालय भने यति छोटो समयमा मोनिकाले गरेको प्रगतिमा हर्ष मनायो।
विवेकको फुटबल खेलमा लगाव र उसको उदीयमान कलाले अनाथालयका निर्देशक जोसेफ हरम्यान सबैभन्दा बढी आकर्षित भए । उसको खेल रुची र कलालाई मलजल गरी उत्थान गरे भविष्यमा नामी खेलाडी हुने अनुमान जाहेर गरे । उनले स्कूलकी प्रिन्सिपल रोसी गिलमोरसँग सल्लाग गरी सियाटल जुनियर फुटबल क्लबमा आवद्ध गराइदिने वाचा गरे । यसो गर्नुभन्दा पहिले हरम्यानले विवेकको खले हेरे, साँच्चैउसमा अद्भूत कला र कलिलै उमेरमा धेरै फुटबल ज्ञान रहेको पाए।विवेक र मोनिकाबाट अतिनै प्रभावित भएका निर्देशक हरम्यानले सोही दिनदेखि उनीहरुका अभिभावकको रिक्तस्थान पूर्ण गरिदिन धर्मपिता हुने घोषणा गरे । उनले विवेकलाई कहाँबाट यस्तो कलात्मक खेल खेल्न सिकेको भनेर सोधे, उसको जवाफ थियो-सिलगढी र बेल्डाँगीमा साथीहरुसँग डोरीले बाँधेको प्लास्टिकको गोल खेलेर अलिअलि सिकेको ! प्लास्टिकको गोल खेलेर कमाएको अपरिपक्व कलाले उसलाई अमेरिकामा क्लबको खेलाडी बनाउँछ भने वास्तवमा कसैले पनि अनुमान गरेका थिएनन् । सियाटल जुनियर फुटबल क्लबले विवेकको कला परीक्षण गर्यो अनि सोझै क्लबका आगामी खेलमा सामेल गराउने जानकारी दियो । विवेकले खेलेका विभिन्न खेलमा उसको प्रदर्शन र सुधारमा नजर राख्ने र मुल्यांकन गरियो जसको फलस्वरुप उ नजिकिँदै गरेको अन्तरराज्य यू-१५ फुटबल प्रतियोगिताको टोलीमा छनोट भयो। जोसेफ हरम्यान खुशीले गदगद् भए ।
विवेक र मोनिकाका धर्मपिता वा अनाथालयका निर्देशक जोसेफ हरम्यानले उनीहरुका ठूला बाबा हरी र उनको परिवारलाई मोनिका र विवेकले पाएको सफलताको अवगत गराउँदै अनि विवेकले खेल्ने आगामी राष्ट्रियस्तरको खेलमा दर्शक बनीदिन निमन्त्रणा पठाउँदै चिठ्ठी काट्यो।