महाभारत–दृश्य १
शिवलाल दाहाल
रातभर घृणा, आवेग र महत्वकाङ्क्षा
मन्थनेर बिहान
कालकुट विष वमन गर्छौ तिमी
शब्द–शब्दमा,
वाक्य–वाक्यमा,
चेतना र विवेकलाई बन्दकी राखेर
विज्ञाप्त छ महाभारतको कथा
विज्ञाप्त छ तिम्रो मुकुट पहिरिने महत्वकाङ्क्षा
हो ,
तिम्रा कौरव आँखा अगाडि
सधैँ पाण्डवको अनुहारमा कालो पोतिएको हुन्छ,
तिम्रो मुकुट मोहका अगाडि
कसैको केही जोर चल्दैन दुयोर्धन,
तिमी सधैँ अजेय सम्झन्छौ र
अस्वीकार गछौँ पाण्डम अस्तित्व-
एउटा विशाल साम्राज्यमा एक टुक्रा धर्तीको स्वमित्व
युद्धका नाममा तिमी साम, दाम, दण्ड–भेद जे पनि प्रयोग गर्न तयार छौ,
तिम्रा नरभक्षी हिंस्रक आँखा अगाडि..
युद्ध र रक्तपात विज्ञाप्त छ
र सुर्याउदैँ छौ भिष्मपितामह, सकुनी, कर्ण–द्रोण,
शैल्य र कृपाचार्यहरु
भिष्म, द्रोण, कर्ण कसैको पनि बफादारीताप्रति फिक्री लिनु पर्दैन
तिम्रो राजसी आज्ञाप्रति उनीहरु नतमस्तक छन्;
जहिल्यै पनि शखंनाद गर्न उनीहरु तयार छन्
जहिल्यै पनि धनु उठाउन उनीहरु तयार छन् ।
तिम्रा युद्ध– पिपासु आँखा अगाडि
पाण्डवहरु सुतिरहेका छन्
हो यति बेलै हो,
बिगुल फुक्ने बेला
हो यति बेलै हो
नगरा बजाउने बेला
हो यति बेलै हो
शंखनाद गर्ने बेला
हो यति बेलै हो – पाण्डवहरुको सातो खाने बेला
जोड जोडले बजाऊ शंख,
जोड जोडले बजाऊ नगरा,
जोड जोडले बजाऊ बिगुल
र निम्त्याऊ युद्ध
घन्कियोस् कौरव गानले कुरुक्षेत्र
कौरव राजा दुर्योधनको जयहोस्
कौरव राजा दुर्योधनको जयहोस्…!