महाभारत- दृश्य २
दुर्योधन तिम्रो बेला आएको छ;
आगो झोस्ने
लाहाको घरमा-
तिमी स्वयंले घोषणा गरेका छौ
आगो भएर आउँछु भनेर,
समय आएको छ,
ढिलो नगर
आगो भएर आऊ,
पाण्डवहरु क्षणभरमा खरानी भएर जानेछन्-
अब त तिमीलाई शिखण्डी पनि नचाहिएला हो,
अब त तिमीलाई शकुनी पनि नचाहिएला हो,
यदि कतै पाण्डवहरु-
लाहाको घरबाट भागी जान्छन् भन्ने डर लागेको छ भने
आदेश होस् भिष्मपितामहलाई उत्तरतिर किल्ला बनाएर बस्ने,
आदेश होस् दोर्णचार्यलाई पश्चिमतिर किल्ला बनाएर बस्ने-
आदेश होस् कर्णलाई पूर्वतिर किल्ला जमाएर बस्ने,
आदेश होस् अश्वत्थामालाई दक्षिणतिर किल्ला जमाएर बस्ने,
धेरै बेर पर्खिनु पर्दैन
पाण्डवहरुको समाप्ति हेर्न-
ए आगो लाग्यो ! आगो लाग्यो !
लाहाको घरमा
पाण्डवहरु जलीसके-
ए योद्धा हो ! रथ हाँक, रथ हाँक
ए योद्धा हो ! झण्डा बोक, झण्डा बोक
विजय उत्सवको बेला हो यो,
झण्डा फरफराऊ हर्ष उल्लासको-
नाच बाइपंखी नाच, नाच उर्वसी नाच,
चढ ओलम्पस पहाड माथि र
नाच सोमरस पिउँदै, नचाऊ डायनसियस्,
नचाऊ सोमरस पिउँदै, नचाऊ डायनसियस्-
घन्कियोस ओलम्पस पहाड,
घन्कियोस् कुरुक्षेत्र-
सदा समर विजयी राजा दुर्योनको यशगानले,
पहाड थर्कियोस, पृथ्वी घन्कियोस्, आकाश घर्कियोस्-
सदा समर विजयी राजा नाम
जय होस्, जय होस्
पाण्डवहरु मरिसके……
फिक्री नमान दुर्योधन !