“माईखोलादेखि पुनर्वाससम्म”को चिरफार

तिलक राई
बेलडाँगी

हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस रूपमा लिपिबद्ध नभएको अवस्थाको गलत फाइदा उठाउने काम भइरहेको छ । यस सवाललाई हामी भूटानीहरूले महशुस गरे पनि सही इतिहासको खोज गरी लिपिबद्ध गर्न भने सकेका छैनौँ । यो बिडम्वनाको कुरा हो ।

अहिलेको भूटान अस्तित्वमा आउनुभन्दा पहिलाको अवस्था कस्तो थियो ? त्यहाँ बसोबास गर्ने जनसंख्या कस्तो थियो ? झनै अचम्मको कुरा के छ भने, एउटै देशको नाम ‘भूटान’ र ‘ड्रुक’ कसरी हुन गयो ? यसबारे कहीँ कतै तर्कसंगत छलफल भएको पाइँदैन । यसको तात्पर्य के हो भने, भूटानी इतिहास लेखनमा कुनै खोज गरी सत्य तथ्यमा आधारित इतिहास लेख्ने हिम्मत कसैले गरेको छैन । भूटान र भूटानीबारे लेखिएका किताबहरू छन् तर ती सबै कि दरबारको निर्देशनमा उनीहरूकै गुणगान लेखिएका छन् या सतही मनगढन्ते कुरा लेखिएका छन् । इतिहास लेख्नु भनेको खोज्नु हो । खोज्नु भनेको अनुसन्धान गरी सत्य तथ्य हो कि होइन भनेर प्रमाणित गर्नु हो र त्यसको प्रमाण पेस गर्नु पनि हो । यस्तो संवेदनशील विषयलाई लेखकहरूले आ–आफ्नो तरिकाबाट सत्य–तथ्यलाई बङ्ग्याउने गरी पुस्तक लेखेका छन् । ती मध्ये दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित ‘माईखोलादेखि पुनर्वाससम्म’ नामक पुस्तक बजारमा आएको छ । आज यसै पुस्तकलाई चिरफार गरेर हेर्ने प्रयास गरिएको छ ।

तिम्सिनाले पुस्तकको नाम चाहिँ अति सुन्दर जुराएका छन्भ । यहाँ दु:खको साथ लेख्नै पर्छ कि नाम जतिकै सुन्दर विषयलाई समावेश गर्न सकेको भए यसको सौन्दर्य र लेखकको कार्यप्रति प्रश्न उठ्ने थिएन होला । यस पुस्तकमा समावेश भएका विषयहरूलाई गहिरो गरी अध्ययन गर्दा हरेक सवालको जवाफ लेखकले तथ्यको आधारमा दिने दिशामा ध्यान नदिने हो भने लेखकलाई जीवनभर असक्षमताको प्रश्नले औला उठाइरहने छ ।

यस पुस्तकको नाम र आवरण हेर्दा जो कोहीलाई पनि लाग्छ, यो पुस्तक भूटानी शरणार्थीहरूको कथाको एउटा दस्ताबेज हो । लेखक स्वयंले प्रकाशकीयमा लेखेका छन् —“भूटानमा भएको हत्या, दमन, माईखोलामा बस्दाको अवस्था, शिविरहरू स्थापना, साहित्य क्षेत्रमा गरेको योगदान, स्वदेश फर्कने आन्दोलनमा भएको दमन, हत्या, शरणार्थी हकहितको क्षेत्रमा कार्यरत सङ्घ–संस्था, भूटानी शहीद, भूटानी अधिकारकर्मी नेताहरू, तेस्रो देशमा पुगेर उच्च तहमा पुगेका शरणार्थीको बारेमा सकेसम्म खोज्ने प्रयत्न गरेको छु ।” वा ! साँच्चै राम्रो कुरा उठान भएको छ तर पुस्तकभित्र प्रवेश गर्दा यो कुरालाई लेखकले पुष्टि गर्न सक्छन् त ? पहिलो गाँसमा ढुङ्गा भने झैँ प्रकाशकीयमा लेखकले आभार प्रकट गर्ने क्रममा भूटानी पूर्व सैनिक क्याप्टेन कुलबहादुर गिरी, क्याम्प सचिव कृष्ण राई भनी उल्लेख गरेका छन् । मेरो जानकारीमा भए अनुसार क्रमशः सैनिक क्याप्टेन र क्याम्प सचिव पदमा पुग्ने उल्लेखित नाम भएका व्यक्तिहरू भूटानी समाजमा छैनन् । यसबारेमा मलाई सही जानकारी नहुन पनि सक्छ । त्यस कारण यदि उहाँहरू भूटानी समाजमै हुनुहुन्छ भने म क्षमा याचना गर्दछु । तर लेखकले उहाँहरूको नाम गलत लेख्नु भएको हो भने, खोज गरेर पुस्तक तयार गरेको भन्ने झुटको पुलिन्दा यहीबाट सुरु हुन्छ । आफूले भेटेर गफ गरेको वा अन्तरवार्ता लिएको वा सल्लाह लिएको व्यक्तिहरूको नाम कसरी छुट्न या गलत लेखिन सक्छ ? यो एउटा गम्भीर सवाल हो ।

यो चार सय पृष्ठको बाक्लो पुस्तकलाई लेखकले ६ खण्डमा विभाजन गरेका छन् । (१) इतिहास, (२) भाषा तथा साहित्य, (३) सङ्गीत तथा खेलकुद, (४) पुनर्वास, (५) विश्व शरणार्थी र (६) लेख रचना गरी ६ खण्ड छन् तर खण्ड अनुसारको विषयलाई ठिक ठिक ढङ्गबाट राखिएको पाइँदैन । विषयलाई छासमिस जहाँ पायो त्यहीँ राखिएको छ । यसले लेखकको कार्य क्षमता र बौद्धिकतामाथि नै प्रश्न चिन्ह खडा गरेको छ । पुस्तकमा समावेश विषयलाई किन विभिन्न खण्डमा विभक्त गरेर राखिन्छ भन्ने लेखकलाई सामान्य ज्ञानसमेत नरहेको स्पष्टसँग बुझ्न सकिन्छ ।

भूटानी इतिहास हेर्दा सुन्दा जति सजिलो छ, यथार्थमा त्यति सहज छैन । तसर्थ खोज अनुसन्धान गर्न सक्ने क्षमता नभएको लेखकहरूले भूटानी इतिहासमाथि दखल गर्न नखोजेकै राम्रो हुन्छ । यो कुरा सबैमा हेक्का रहोस् ।

लेखक दीपेन्द्रराज तिम्सिनाले इतिहास खण्डमा धेरै विषयलाई समावेश गर्ने कोसिस गरेका छन् । कोसिस गर्नु चाहिँ सकारात्मक कुरा हो तर तथ्यहरूलाई तोडमोड गर्नु चाहिँ सही मान्न सकिन्न । ठिक यहाँनेर, राम शाहको पालामा नेपालीहरूलाई भूटान लगिएको शीर्षक राखेर लेखकले हामी भूटानीहरूको इतिहास सुरुवात गरेका छन् । यो शीर्षक नै हास्यास्पद छ । किन होला ? तपाईंलाई पनि अचम्म लाग्न सक्छ । जब कि राम शाहको पालामा ‘नेपाल’ भन्ने देश नै निर्माण भएको थिएन । अब भन्नोस् राम शाहको पालामा नेपालीहरू भूटान कसरी गए ? यति सानो कुरालाई पनि बुझ्न नसके पछि लेखकले कस्तो खोज अनुसन्धान गर्नु भयो होला ?

अध्ययन गर्दै जाँदा इतिहास भनेको खोज अनुसन्धान नभई अरूको पुस्तकबाट केही अंश हुबहु सार्नु र त्यहाँ भएका तथ्यहरूलाई तोडमोड गर्नु र नभएको तथ्य प्रस्तुत गर्नु भन्ने लेखकको बुझाइ रहेको पाइन्छ । उनले स्रोत सामाग्रीको रूपमा जति पनि पुस्तकहरू उल्लेख गरेका छन्, ती स्रोत सामाग्री उनको अनुसन्धानमा भेटिएका तथ्यलाई पुष्टि गर्न वा फरक तथ्यलाई दाँज्न प्रस्तुत गरिएको पाइँदैन । बरु शीर्षक आफ्नै तरिकाको कायम गरी हुबहु सार्ने काम भएको पाइन्छ । त्यति मात्रै होइन, स्रोतमा भएको तथ्यलाई भ्रमित गरी प्रस्तुत गरेको पाइन्छ । “धर्म गुरु सन् १६६१ मा नै भूटान जानुभएको इतिहास रहेको भूटानी नेता तथा लेखक डा. देवनारायण शर्मा (डि.एन. एस) ढकालले लेखेको भूटान ए मेमोरी अफ रिफुजी स्ट्रगल एन्ड सजेसन्स फर एन एमिकेबल रिजोल्युसन नामक पुस्तकमा उल्लेख गरिएको छ” (पद्मसम्भव हलेसी महादेवबाट भुटान गएको—पृष्ठ ९) मा उल्लेख भएको छ । यो गलत तथ्य हो साथै डा. ढकालले आफ्नो पुस्तकमा स्पष्ट रूपमा ८औँ शताब्दीमा गुरु पद्म सम्भव भूटान प्रवेश गर्नु भएको हो भनी उल्लेख गरेका छन् । उल्लेखित तथ्यलाई एकै छिन भुलौँ र नेपाली इतिहासमा आएर हेरौँ । लेखकले लेखेका छन् —“सन् १९७३ मा विजयपुर र भूटानबीच युद्ध भएको थियो । सो बेलासम्म विजयपुर राज्यको मालपोत भूटानलाई बुझाउनु पर्ने नियम रहेको इतिहासमा पाइन्छ । ………. यो युद्धमा भूटान र नेपालबीच ठुलो क्षति भएको थियो । नेपालका राजा पृथ्वीनारायण शाहले यो युद्धमा हस्तक्षेप गरी दुवैलाई मनाउन सफल भए ।” (विजयपुर र भूटानबीच भएको युद्ध, पृष्ठ ११) यो तथ्य नेपाल—भूटान सम्बन्ध नामक पुस्तकमा पाइन्छ भनी उल्लेख छ । भलै त्यो पुस्तकमा यस्तै लेखिएको छ भने पनि सन् १९७३ सम्म पृथ्वीनारायण शाह जीवित थिए होला ? अवश्य जीवित थिएन । यसले उल्लेखित तथ्य गलत भएको स्वतः पुष्टि गर्छ । लेखकले अर्काको पुस्तक सारेर आफू महान् लेखक बन्ने महत्त्वाकाङ्क्षाको घोडामा सावर भएको कारण यस्तो अक्षम्य त्रुटि गरेको पाइन्छ ।

लेखक ‘नागरिकता ऐन र जनगणनाबाट नागरिकलाई गरिएको वर्गीकरण’ शीर्षकसम्म आइपुग्दा झनै भ्रममा परेको पाइन्छ । सन् १९८५ मा सन् १९७७ को नागरिक अधिनियमलाई संशोधन गरी सन् १९५८ को नागरिक अधिनियमलाई नै लागु गरिएको थियो । तर लेखक लेख्छन्—‘सन् १९५८ मा ल्याइएको नागरिकता ऐन सन् १९८५ मा संशोधन गरियो ।’ अघि लेख्छन्—‘सन् १९५८ भन्दा पहिलादेखि बसोबास भएकालाई रातो र पछिकालाई हरियो परिचय पत्र दिइयो । (पृष्ठ १५) यहाँ गलत सन्देश प्रवाह गरिएको छ । भूटानमा रातो र हरियो परिचय पत्र सन् २००८ को चुनाव पछि दोस्रो चुनाव हुने समयमा मात्र दिइएको थियो । सन् १९८५ को संशोधित नागरिक अधिनियमले भूटानीहरूलाई देशबाट उच्छेद गरेको थियो । तर कसैले हरियो परिचय पत्र प्राप्त गरेनन् ।

लेखकलाई भूटानीहरू किन देशबाट उच्छेदित हुन पर्‍यो भन्ने सवालमा अझै अध्ययनको कमी भएको पाइन्छ । पृष्ठ ३२ मा ‘भूटानमा भएका चर्चित हत्याकाण्ड’ शीर्षक अन्तरगत लेखकले विभिन्न उपशीर्षकहरू राखेर तथ्यहरू प्रस्तुत गर्ने कोसिस गरेका छन् । ती उपशीर्षकहरूमा अधिकांश बलराम पौडेलद्वारा लिखित पुस्तक भूटान : हिजो र आजलाई स्रोत बनाएर लेखेको मात्रै होइन, कुनै त हुबहु सारेका छन् । यति हुँदा हुँदै पनि अध्ययन पूरा नभएको पाइन्छ । सोही पृष्ठको जय गोर्खा आन्दोलन शीर्षकमा भूटान स्टेट काङ्ग्रेस स्थापना भई जय गोर्खा आन्दोलन भएको भन्ने गलत सन्देश दिएको छ । जय गोर्खा आन्दोलन कुनै राजनीतिक पार्टीको स्थापना नभई नै स्वतःस्फूर्त रूपमा उठेको आन्दोलन थियो । यो आन्दोलन नागरिक ऐनको विरुद्ध नभई निरङ्कुश राजतन्त्र विरुद्धको आन्दोलन थियो । यहाँ लेखकले नागरिक अधिनियम र जनगणना विरुद्धको आन्दोलन थियो भनेर उल्लेख गरेका छन् ।

यस पुस्तकमा यति धेरै भ्रामक कुरा उल्लेख गरेको पाइन्छ कि जुन सत्य तथ्यको नजिक कुनै कुरा पाइँदैन । महासुर क्षेत्रीका सम्बन्धमा यस पुस्तकको पृष्ठ ६९ मा लेखक यस्तो लेख्छन् —‘भूटानमा तत्कालीन अवस्थामा भूटान स्टेट काङ्ग्रेस नामको पार्टी रहेको थियो सो पार्टीका संस्थापक मध्ये एक हुनुहुन्थ्यो महासुर बस्नेत क्षेत्री ।’ पृष्ठ १२८ मा फेरि लेखक लेख्छन् —‘त्यस बेला नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । कोइरालाको सल्लाहमा महासुरले भूटानमा जय गोर्खा नामक संस्था खोलेको बुद्धवीर पन्धाकले आफ्नो पुस्तक मेरो जीवन यात्रामा लेखेका छन् ।’ अब लेखकको बौद्धिकतामाथि प्रश्न उठ्छ । किन भने लेखक महासुर क्षेत्री को थिए ? भन्ने निष्कर्षमा नपुगी भ्रममा नै रहेको पाइन्छ । हामी अनुमान गर्न सक्छौ, महासुर क्षेत्रीको सक्रिय राजनीतिक काल भनेको सन् १९४६—१९५२ सम्म भेटिन्छ । त्यो समयमा नेपालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएका थिए ? महासुर जिउँदै हुँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुन त के नेपालमा राणाको शासन भर्खरै ढल्दै थियो । यस्तो हावादारी कुरा लेखेर तिम्सिनाले हाम्रो इतिहासलाई भ्रमित गरेका छन् ।

‘भूटानी सहिदहरूको मृत्युवरण’ शीर्षकमा लेखक पाँच जना सहिदहरूको नाम समेट्न सफल भएका छन् तर ती नामहरू मात्रै भूटानी सवालमा पर्याप्त छैन । यहाँ तीन जना नरपति ढुङ्गेल, पूर्णबहादुर तामाङ र शहबहादुर शिवाको हत्या गरिएको मिति गलत उल्लेख गरिएको छ । वास्तवमा यी नरपति र पूर्णबहादुरलाई अन्तर्राष्ट्रिय संस्था युएनएचसिआरले संरक्षण गरेको शिविरभित्र नेपाली सशस्त्र प्रहरी बलले गोली हानी हत्या गरेका थिए । यस घटनाको छानबिन प्रतिवेदन समेत नेपाल सरकार र युएनएचसिआरले सार्वजनिक गरेको छैन । यसलाई लेखकले सतही ढङ्गबाट प्रस्तुत गरेको देख्दा एकदमै टिठ लागेर आउँछ । यस्तै अर्का विद्यार्थी शहबहादुर शिवाको मेची पुल भारत र नेपालको सीमामा भारतीय सशस्त्र बलको गोलीद्वारा हत्या भएको थियो । यो घटना खेलाँची थिएन र आत्मरतिको लागि गरिएको आन्दोलन थिएन । यो त भूटानीहरु विरुद्ध रचिएको षड्यन्त्रको घेरा तोड्न बाध्यात्मक रूपमा गरिएको विश्व साम्राज्यवाद र भारतीय विस्तारवादसँग भौतिक भिडन्तको आन्दोलन थियो । यस बारेमा लेखकको अलिकति पनि विचार पुगेको छैन ।

पुस्तक अध्ययन गर्दै जाँदा निकै अनौठो कुराहरू भेट्न पाइन्छ । भूटानी समाजमा स्थापना भएका संस्थाहरू केका लागि स्थापना भएका हुन् भन्ने लेखकलाई ज्ञान पटक्कै नभएको छर्लङ्ग हुन्छ । पृष्ठ २०१ मा ‘भूटानी शरणार्थीको हकहितमा खुलेको अन्य सङ्घ–संस्थाहरू’ शीर्षक दिएर ६४ वटा संस्थाको नामावली राखिएको छ । त्यहाँ मुख्य संस्थाहरूको नाम त छुटेकै छ तर त्योभन्दा पनि लेखक भ्रमित भएको देखेर तीन छक्क परिन्छ । सबै संस्थालाई एकमुष्ट रूपमा राख्नले लेखकको नादानीपन स्पष्ट भेटिन्छ । यदि संस्थाहरूको नाम राख्नै पर्ने थियो भने पनि राजनीतिक, सामाजिक, साहित्यिक र खेलकुदका संस्थाहरूको वर्गीकरण गरेर राखिएको भए केही स्पष्ट सन्देश दिने थियो । ठोस रूपमा भन्नु पर्दा यसो गर्दा पनि शीर्षक अनुसारको विषय समावेश हुने थिएन र भएको छैन । अब झनै हाँसोको कुरा त पृष्ठ ३०३ मा पुग्दा देखिन्छ । ‘भूटानी शरणार्थीको हकहितमा साहित्यिक अन्य संस्थाहरू’ शीर्षकमा उही पृष्ठ २०१ मा राखिएको संस्थाहरूको नामावलीलाई दोहोर्‍याएर राख्ने काम गरेका छन् । एउटै कुरालाई लेखकले दोहोर्‍याएर समावेश गर्नुको अर्थ के होला ? एकदम सोचनीय छ । यस सम्बन्धमा यस लेखको अन्तिम अंशमा उल्लेख गर्ने छु ।

कवि डिल्लीराम शर्मा आचार्यबारे पृष्ठ १७७ मा चर्चा गर्नु भएको छ । त्यो चर्चाले कवि आचार्यको सम्मान होइन अपमान गरेको छ । कविले शरणार्थी जीवन पूर्वी नेपालको दमक स्थित बेलडाँगी शिविरमा व्यतीत गर्नु भएको थियो तर पुस्तकमा खुदुनाबारी शरणार्थी शिविर भनी उल्लेख गरेको पाइन्छ । अहिलेसम्म भूटानी समाजको कुनै कविलाई कुनै सङ्घ–संस्थाले महाकविको उपाधिले विभूषित गरेको छैन । लेखकले कसरी कवि आचार्यलाई महाकवि भनी सम्बोधन गरे ? नभएको उपाधिले सम्बोधन गर्नु भनेको सम्बन्धित व्यक्तिको सम्मान गर्नु होइन, सार्वजनिक रूपमा अपमान गर्नु हो ।

इन्ट्रा फाउण्डेसनको चर्चा गर्ने क्रममा लेखकले सो संस्थाका अध्यक्ष डिल्ली अधिकारी नेपालमा हुँदा खुदुनाबारी भूटानी शरणार्थी शिविरमा बस्नु भएको र टिमाई शरणार्थी शिविरको सचिव बन्नु भएको उल्लेख गरेका छन् । सबैमा यो जानकारी रहोस् कि, भूटानी शरणार्थी शिविरमा बस्ने कसै शरणार्थीलाई आफू बसेको शिविरभन्दा अर्को शिविरको क्याम्प सचिव वा व्यवस्थापन समितिमा चुनिने र चुन्ने अधिकार थिएन र अहिले पनि छैन । यसरी लेखकले अधिकारी नेपालमा शरणार्थी भएर बस्दाको ठेगाना पनि गलत लेख्नु भएको छ । यति सानो कुरा त यस पुस्तकमा सही लेखिएको छैन भने अरू विषय सही रूपमा आएको होला ? प्रश्नै प्रश्न छ ।

हाम्रो समाजमा नेपाली भाषा र साहित्यमा योगदान गर्ने संस्थाहरू मध्ये निःसन्देह साहित्य परिषद् भूटान नै अग्रपङ्क्तिमा आउँछ । हुन सक्छ परिषदले तेस्रो मुलुक पुनर्वासपछि ठूल्ठूला कार्यक्रम गर्न सकेन होला तर शरणार्थी शिविरमा आम भूटानीहरूबिच भाषिक र साहित्यिक चेतना ल्याउन यस संस्थाले खेलेको भूमिकालाई अवमूल्यन गर्नु मुनासिब होइन । यस विषयमा पछिल्लो समयमा अरू संस्थाहरूले पनि उल्लेखनीय भूमिका निभाउँदै आएका छन् । यसो हुँदा हुँदै पनि एक पटक रचिएको इतिहासलाई जबरजस्ती उल्टो घुमाउनु खोज्नु खेदपूर्ण कुरा हो । तसर्थ भूटानी साहित्यिक तथा भाषिक सङ्गठनहरूमाथि मूल्याङ्कन गर्ने लेखकको नियतमा खोट भएको पाइन्छ ।

यस पुस्तकको पृष्ठ २९८ मा पुग्दा कल्पना गर्न नसकिने विचित्र देख्न पाइन्छ । लेखकले यो पुस्तकको रचना नै भूटानीहरूले दुःख पाएर शरणार्थी बन्न परेको पृष्ठभूमिबाट रचिएको छ । तर हामी शरणार्थी बन्नुको मूल कारण राजनीतिक कारण हो भनेर लेखकलाई ज्ञात नभएको पाइन्छ । यदि उनको त्यति ज्ञान भएको भए ‘विश्वकै अनौठो भूटानको राजनीति विशेषता’ शीर्षक अन्तरगत बुँदा नम्बर १४ मा जनताले नचाहँदा नचाहँदै पनि राजाले नै जनतालाई सम्झाइ बुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागु गरिएको देश भनेर लेख्ने थिएनन् होला । यदि राजा प्रजातान्त्रिक प्रणाली र जनताप्रति उत्तरदायी थिए भने दसौँ हजार भूटानी जनताहरू देश विहीन कसरी हुनु पर्थ्यो ? भूटानमा प्रजातन्त्र प्राप्तिको लागि आवाज उठाउने नागरिकहरू आजको मितिसम्म बन्दी गृहमा जीवन बिताउन बाध्य छन् । अहिलेसम्म ती एक जना प्रजातन्त्रको पक्षमा रहेको बन्दीलाई न्याय दिन सकेको छ ? अवश्य छैन । त्यस कारण भूटानमा सन् २००८ मा घोषणा भएको प्रजातन्त्र त कथित नक्कली प्रजातन्त्र मात्र हो । यहाँ प्रश्न उठ्छ — प्रजातन्त्र कसको लागि जनताको कि राजाको ? भूटानको प्रजातन्त्र भनेको राजाको लागि हो । यदि होइन भने प्रजातन्त्रको लागि आवाज उठाउँदा सर्वस्व लुटिएर देशबाट उच्छेद हुन बाध्य भएका भूटानीहरु आजसम्म शरणार्थी बन्नु पर्ने थिएन होला । राजनीतिक बन्दीको रूपमा जेल जीवन बिताइरहेकाहरू जेल मुक्त हुने थिए होला । यस्तो अवस्था थाहा हुँदा हुँदै लेखक भूटान सरकारको दुष्प्रचारमा कसरी फस्न पुगे ? यो चाहिँ आश्चर्यको विषय हो ।

यो पुस्तक पूरा पढिसक्दा यस्तो लाग्छ कि फेरि यस्तो अर्थ न बर्थको पुस्तक झुकिएर पनि हातमा नपरोस् । सिधा भाषामा भन्नु पर्दा यो पुस्तक पढ्न योग्य छैन । विषय वस्तु, भाषा शैली र यसमा प्रयोग गरिएको तथ्याङ्कको दृष्टिकोणबाट नै यो पुस्तक पठनीय पाइँदैन । एक ठाउँमा एउटा विषय उठाइएको छ तर त्यही विषयलाई अर्को ठाउँमा आएर निषेध गरिएको छ । यहाँ प्रस्तुत गरिएको मिति साथै तथ्याङ्क त पूरै भद्रगोल पाइन्छ । वास्तवमै विश्वकै अनौठो भूटानको राजनीतिक विशेषता शीर्षकले यस पुस्तकको मृत्युको घोषणा गरेको छ । भाषा शैली त कुरै नगरौँ । वाक्यहरू हेर्दा लाग्छ, एक पटक लेखिएपछि सम्पादन त होइन फेरि लेखकले नै दोहोर्‍याएर पढेको जस्तो देखिँदैन । तसर्थ यो पुस्तक होइन अक्षर, शब्द र वाक्यहरूको पल्टाई नसक्नु फोहोरको डङ्गुर हो ।

अन्तमा यस फोहोरको डङ्गुरमा अरू लेखकहरूको थुप्रै लेखलाई हुबहु राखिएको छ । ती लेखहरू मध्ये कुनैको स्रोत उल्लेख छ, कुनैको छैन । तसर्थ यसले प्रतिलिपि अधिकारको सवाललाई गम्भीर बनाएको छ । लेखकले खोज मूलक पुस्तक हो भनेर दाबी गरे पनि खोज अनुसन्धान एक रति नभएको पाइन्छ । यस्तो अवस्थालाई हेर्दा दुई वटा कुराको अनुमान गर्न सकिन्छ । पहिलो भूटानी शरणार्थीको नाम बेचेर आर्थिक आर्जन गर्ने र दोस्रो भूटानी समुदायमा इतिहासको सुझबुझ राख्ने कोही छैन भन्ने हरकत भेटिन्छ । यी कुरालाई स्वयम् लेखकले पुष्टि गरेका छन् । त्यो हो — एकै शीर्षक अन्तरगत लेख्नु पर्ने विषयलाई अनावश्यक ढङ्गबाट फरक शीर्षक राखेर एउटै विषयलाई दोहर्‍याएको पाइन्छ । यो कार्य लेखकले अनजानमा नभई जानिबुझीकन गरेका छन् । यसो गर्नुमा पुस्तकको पृष्ठ बढाएर ठुलो आकारको पुस्तक लेख्ने लेखक बन्ने महत्त्वाकाङ्क्षाले भूमिका खेलेको पाइन्छ । यो महत्त्वाकाङ्क्षाको दुई वटा पक्ष हुन सक्छ —पाठक वा देख्ने मान्छेले ठुलो किताब देख्ने बित्तिकै वा ! कति ठुलो किताब लेखेछन् भनी लेखकलाई प्रशंसा आउने भ्रम र धेरै पृष्ठको किताब भए पछि धेरैले पढ्दै पढ्दैन र नपढोस् भन्ने । नपढेपछि जे लेखे पनि लेखकलाई छुट हुने भयो । यदि यो कोणबाट किताब लेखिएको हो भने तिम्सिनाको मूर्खता हो । मूर्खता मात्रै होइन, उनको नियतले लेखक बन्ने गुण निलिदिएको छ ।

जाँदा जाँदै मित्र दीपेन्द्र तिम्सिनाजीलाई निम्न सुझाव राख्न चाहन्छु ।

१) यस पुस्तकलाई पुनर्लेखन गरी राम्रोसँग सम्पादन गर्ने हो भने सुन्दर पुस्तक बन्न सक्छ ।

२) पुस्तक लेख्दा कति पृष्ठको भन्दा पनि कस्तो विषय समावेश गर्ने भन्ने कुरालाई निश्चित गर्नु जरुरी हुन्छ । पुस्तकाको महत्त्व र ओज पृष्ठ या आकार नभई त्यसमा समावेश विषयले राख्दछ।

३) खोज गर्ने धैर्यता छैन भने कथा–कविता जस्ता नितान्त साहित्यिक विधामा कलम चलाए राम्रो हुनेछ ।

४) लेखक भएको दम्भ गर्नुभन्दा स्वअध्ययनलाई प्राथमिकता दिनु भए के लेख्दै छु भन्ने आफै अन्योलमा पर्नु पर्ने अवस्था आउने थिएन कि ?

हामीलाई थाहा छ — साहित्य भनेको समाजको दर्पण हो । यस्तो समाज बिम्बित गर्ने दर्पण सिर्जना गर्ने साहित्यकार समाजप्रति कति उत्तरदायी र जिम्मेवार हुनु पर्छ ? त्यसो हो भने आफूभन्दा फरक समुदाय वा जातिको इतिहास लेख्दा लेखक कतिको उत्तरदायी र जिम्मेवार हुनु पर्छ होला ? सायद यो कुरा तिम्सिनालाई थाहा छैन होला । तसर्थ भूटानीहरूको इतिहासमा ‘भूटान सन् १६४४ मा वर्तमान राजाका पुर्खा साब्ड्रुङ ङगवाङ (नावा) नामग्यालले स्थापना गरेका थिए’ (पृष्ठ २९८) भनी हुँदै नभएको कुरा थपिदिएका छन् । यसरी लेखकले इतिहासलाई तोडमोड गरेको किताबभरि पाइन्छ । लेखकलाई यो ज्ञान होस् कि साब्ड्रुङ नावानामग्याल भूटानका वर्तमान राजा वाङ्चुक वंशको पुर्खा होइन । लेखकलाई यो कुरा पनि हेक्का रहनु पर्छ कि गहिरो खोज, अनुसन्धान र अध्ययन बिना अरूको इतिहासमाथि दखल नगरेको राम्रो हुनेछ । एकै लेखमा सबै समेट्न सम्भव भएन । यसको विस्तृत लेख्नु पर्ने आवश्यकता भयो भने पुस्तक आकारमै पछि लेखिने छ । सम्बन्धित पुस्तकमा प्रकाशित सम्पूर्ण गलत विषयलाई संक्षिप्तमा चिरफार गर्नु मात्रै यस लेखको उद्देश्य हो ।

०००

raitilak059@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *