माता औंसी र अमेरिका
भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ अप्रेल २०१५-कै दिन मदर्स डे मनाइ सक्यौँ । आज मदर्स डे मनाउनु त भारतमाताको सट्टा आमा अमेरिका मान्नु बराबर हो ।
000
बाबुले छोरीलाई वा छोरोले आमालाई बिहा त गरे कि गरेनन् तर, यौन सम्बन्ध राखेका कथा पूर्व र पश्चिम दुवैतिर पाइन्छ । भारतको विघ्नाङ्टक, ग्रीसका एडिपस-इलेक्ट्राहरूका कथा यसैसित जोड़िएका छन् ।
संसारले नैतिकताको विकास गर्दै लगेपछि आमालाई देवीकरण (deitification) गर्ने प्रथा स्थापित भयो । भारतले भगवान्-सित भगवती-को परिकल्पना गऱ्यो । भगवतीलाई माता माने र मातालाई भगवती । रामायणले जननी र जन्मभूमिलाई स्वर्गभन्दा गरिमामय सिद्ध गऱ्यो । पुराणले वैशाखमा मातृ तीर्थ औँसी नामको पर्व नै घोषणा गऱ्यो ।
पश्चिममा एनाटोलियाकी साइबेल देवीलाई ई.पू. छौटौँ शताब्दीदेखि ग्रीसमा मातेर वा मेतेर (Mātēr or Mētēr) मान्न थाले । साइबिली वास्तवमा पर्वत-माता थिइन् । ग्रीक भाषामा काइबिलिस (Kybelis) र पछि टर्कीमा किबेले (Kibele) भनिए । भारतमा जस्तै ग्रीसमा थुप्रैलाई आमा मानिए- धरतीमाता (Gaia or Rhea), अन्नपूर्णा देवी ( Demeter) आदि ।
अमेरिका आविष्कार भएको त १४९२-को कोलम्बस प्रवेशदेखि न हो ! त्यसअघिका आदिवासी (तथाकथित रेड इन्डियन)-हरूमा के थियो भन्ने पत्तै छैन ।
अमेरिकामा सामाजिक कार्यकर्ता थिइन् अन्ना जर्विस (१८६४-१९४८) । यिनकी आमा १९०५-मा नै मरेकी थिइन् । आमाको नाममा यिनले १९०८-मा वेस्ट भर्जिनियाको ग्रेफ्टोनमा भएको सेन्ट एन्ड्रुज मेथोडिस्ट चर्चलाई गतिलो धनराशि चन्दा दिएकी थिइन् । यिनको संगठनले वर्षमा एक दिन मदर्स डे मनाउनुपर्छ भनी एउटा प्रस्ताव बनाएर त्यसै वर्ष अमेरिकी कङ्ग्रेसमा पठायो । तर कङ्ग्रेस सदस्यहरूले खिल्ली उड़ाएर ‘मदर-इन-ल डेचाहिँ कहिले मनाउने?’ भनीकन प्रस्ताव रद्द गरिदिए । तैपनि सामाजिक संगठनले अन्ना जर्विसकी शान्ति-कार्यकर्ता मुमा एन जर्विसले अमेरिकी गृहयुद्धका घाइतेहरूलाई गरेकी सेवाकार्यबारे पुष्टि गर्दै मदर्स डे मनाउनुपर्नेबारे प्रस्ताव दिइबसे । अमेरिकी कङ्ग्रेसले बुझेपछि बल्ल तत्कालीन राष्ट्रपति वुड्रो विल्सनले सहीछाप गरीकन मई महिनाको पहिलो आइतबारलाई मदर्स डे घोषणा गरे ।
अमेरिकाको प्रचार धेर छ/हुन्छ किनभने संगणक संजाल (Computer Network)-को चाबी उनीहरूसितै छ । हामी तथाकथित तेस्रो विश्वका नागरिकहरू भने आफ्नो भुलेर अमेरिकाको अप्नाउनुलाई सभ्य र भूमण्डलीकृत मान्दछौँ । पश्चिमी उपनिवेशमा नपरेको नेपालले भने माता तीर्थ औँसी बचाइराखेकै छ । हामी भारतीयचाहिँ कतै नभएका भूमण्डलीकृत !