मातृऔंशी

Ishwar Prabasi

Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com

ईश्वर प्रवासी
युटा, अमेरिका

कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्‍यो ।

“ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र पस्न नभ्याउँदै धनेले जुत्ताको मोजा खोल्दै कुरो राख्यो ।
“हो त नि ! त्यही भ’र मैले पनि बिहानै घरमा फोन गरेर आमासँग बोलिसकेँ । आउँदो दसैँमा ज्वाइँ छोरीसँगै आउनु भन्नु भा’छ । अनि तिमीलाई चैँ के को आमाको मुख हेर्ने दिन नि ….? परार साल घरबाट रुँदै निस्कँदाको क्षण भुल्यौ की …? सबै दाजुभाइ दिदीबहिनी मिलेर हाम्लाई घरबाट निकालेका हैनन् ? हिजोसम्म त त्यो न्यापे बुढीको मुख पनि हेर्दिन भन्थ्यौ त ? आज एक्कासि कहाँबाट सम्झना आयो फेरि …??” स्वास्नी दिलमायाले लामो जवाफ फर्काइन् ।

“त्यसो नभन न, सबै साथीभाइहरूले फेसबुकमा माता औँसीको शुभकामना भन्दै फुटाहरु हाल्या हालै छन् । अघि काममा हर्केले पनि फेसबुकमा आफ्नी आमाको फुटो देखाउँदै थियो । उसले पनि फुटो हालेर धेरै लाइक र कमेन्ट बटुली सकेछ । लौन म पनि चाँडै गएर आमासँग एउटा फुटो खिचेर फेसबुकमा हाल्नु पर्‍यो । भित्री सम्बन्ध जेसुकै होस्, कम्सेकम बाहिर त देखाउनु पर्‍यो … ।” धनेले अड्डी कस्यो ।

“ह्या… ! तिमी पनि नौटङ्की धेरै गर्छौ । म त जान्न । तिमी आफै जाऊ । मेरा जन्म दिने बा-आमा हैनन् क्यारे ! ” दिलमायाले टाउको अर्का तिर फर्काइन् ।
धने आफै उठ्यो र लोकाचारका भए पनि फ्रिजबाट केही फलफुल प्लास्टिकको झोलामा कोच्न थाल्यो । दिलमाया छक्क परेर विस्फारित आँखाले धनेलाई हेरिरहिन् ।
दिलमाया अलि मुखाले थिइन् । सासू बुहारीको कचकच र कलह घरमा दिनहुँ चलिरहने हुनाले अन्ततः: धने घर परिवारबाट छुट्टियो । तर छुट्टिनुको दोष भने सधैँ आमालाई लगाइरहने गर्थ्यो ।

धनेले एक्कासि आएर आफ्नो पाउ समाउँदा आमा पनि अक्क न बक्क भइन् । उनका नयनबाट अश्रुधारा खसे ।

धनेले खल्तीबाट मुबाईल निकालेर आमासँग एउटा सेल्फी खिच्यो ।

आमा पनि यतिका वर्ष पछि छोरो आफू सामु आउँदा खुसीले पुलकित भइन् । धनेले पनि हत्तपत्त फुटो फेसबुकमा राख्न भ्याई हाल्यो । अहिले धने फेसबुकमा अरू जस्तै आफू पनि लाईक र कमेन्ट गन्दै बसिरहेको छ ….।

                                           –

Leave a Reply

Your email address will not be published. Required fields are marked *