मातृ स्नेह
खेम खनाल
ओहायो अमेरिका
छन्द: स्रग्विणी
कर्ममा साहसी सृष्टिकी सुन्दरी
भर्दछिन् पावनी शैलजा झै गरी
भावकी सारणी प्रेमकी निर्झरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
भावमा सारमा प्रेरणा दाइनी
प्रीतमा मोहनी जान्नवी झैँ उनी
सार बात्सल्यमा बासना बाबरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
सिर्जना बागमा भर्दछिन् पावनी
कर्ममा साहसी प्राणकी दाइनी
कोखमा काखमा गर्दछिन् चाकरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
शक्तिमा आँटिली शुभ्रमा चाँदनी
प्यारमा श्निद्धता सारमा भामिनी
बातमा मोहनी गन्ध गोधावरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
जीवको प्राण नै सृष्टिको शान हो
पूर्णता पाइयो जीन्दगी दान हो
खानमा शुद्धता गर्दछिन् चाकरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
दृष्टिमा चक्षुहून् सृष्टिमा सिर्जना
बोलिमा सारदा ज्ञानमा वन्धना
ध्यानमा सत्यता भक्तिमा पाखरी
मातृ माया मिठो सम्झना मञ्जरी ।
सार दैनन्दिनी राख्दछिन् माथमा
जन्म जन्मान्त नै खेल्दछिन् साथमा
अश्रुका भेलमा बग्दछिन् बेस्सरी
मातृ माया मिठो सम्झना मञ्जरी ।