माथ्लाघरे काका

कवि
कवि

डा. लक्ष्मी ढकाल,
द नेदरल्याण्ड्स्

साइत हेरेनन् अनि तिथि पर्खेनन्
बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन्
न त रात, न त साँझ
त्राश तीनको बाधा बनेन
मात्र रहे आशा अनि आकांक्षा
र थुप्रै महल चुम्ने इच्छाहरु,

दाउरा बल्यो रे अगेनामा जोशका
गोरु डुक्रे रे खेतमा स्वतन्त्रता-
बग्यो रे पानी कुलामा बितोडका वेगले
काग करायो रे आकाशमा अर्कै छन्दले अनि अनि
झरीले छाडिदियो रे अनौठो मौनता !

रातो दिन काममा भिज्ने काका
आज हड़्ताल बस्छन् रे–
हलो बोकी जुलुश जान्छन् रे,
जुवा सडकमा तेर्साउछन् रे,
विद्रोह उनको पेटप्रति, भोकप्रति
अनि शासकप्रति हुन्छ रे !

बिचारका माला उन्दै
तन्काउँदै गगन छुने शिर
नहुने अनि असम्भवप्रति
अलिकति पनि विश्वाश नराखी
अझै अघि बढ्दछन् नेल कसिएका खुट्टा
अनि ठाडो ठड्याउँदै हात
हात्कडी लगाएका
खबरदार…! सूर्यतिर इङ्कित हुन्छ
आस्ताउन शुरु हुँदा !

(१९९५ मा पञ्चवती स्कूलको वार्षिक प्रकाशनमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *