मानव !

कर्ण गुरुङ
नेब्रास्का, अमेरिका

मानव !
जन्मँदा तिम्रो नाम थिएन !
जन्मँदा तिम्रो थर थिएन !
जन्मँदा तिम्रो जात थिएन !
जन्मँदा तिम्रो धर्म थिएन !
थियौ त एक विसुद्ध मानव !
थियौ त एक विसुद्ध मानव !

तिम्रो नाम अरूले राखिदियो !
तिम्रो थर अरूले नै बनाइदियो !
तिम्रो जात अरूले नै भनिदियो !
तिम्रो धर्म यो हो भनी लादिदियो !
निमुखा नाबालक, तिमीलाई के थाहा !
निमुखा नाबालक, तिमीलाई के थाहा !

बढ्दै गयौ – स्विकार्दै गयौ !
जे भन्यो, त्यो मान्दै गयौ ! …
अरुले नै बनाइदिएको परिचयमा बढ्यौ !
अरूले नै दिएको अस्तित्वमा हुर्क्यौ !
अरुले नै बनाइदिएको परिचयमा बढ्यौ !
अरूले नै दिएको अस्तित्वमा हुर्क्यौ !
त्यसैलाई सत्य मानी, के-के के-के गर्‍यौ !
त्यसैलाई सत्य मानी, के-के के-के गर्‍यौ !
लोभ, घमण्ड, रिस, अहङ्कार, अनेक गर्‍यौ
सत्यलाई न झाकी तिमीले धेरै कुराहरू गर्यौ !
ल भन त, ल भन त, अब तिमी मलाई ! अब तिमी मलाई!
मरे पछि तिमीले के नै लान्छौ ?

यहाँ,…
मरे पछि, तिम्रो आफ्नै सरिरमा त
तिम्रो अधिकारमा हुँदैन भने !
जीवनभरि लगाएर कमाएको
धन, सम्पत्ति, प्रगति त्याग्नु पर्छ भने !
आफ्नो अति प्रिय श्रीमती, बुवा- आमा, नानीहरूसमेत
छोडेर जानु पर्छ भने
जाबो तिमी निर्बल प्राणी
जाबो तिमी निर्बल प्राणी
किन घमण्ड गर्छौ ?
तिमी किन लोभ गर्छौ ?

मरी जाने चोला यो, मरी जाने चोला यो, किन रिस गर्छौ ?
अरूले नै दिएको कुरामा, तिमी किन लड्छौ ?
जात, धर्म, रङ्ग र सम्प्रदायको नाममा किन मर्छौ ?
जात, धर्म, रङ्ग र सम्प्रदायको नाममा किन मर्छौ ?
सुन्दर यो जीवनलाई व्यर्थै विवादमा किन पर्छौ ?
तिम्रो त्यो मनलाई किन अशान्त पार्छौ ?
बरु सक्छौ भने, बरु सक्छौ भने, आफ्नै पहिचान बनाऊ !
बरु सक्छौ भने आफ्नै परिचय बनाऊ !
सक्छौ भने विभेदहरूबाट उठी हेर !
सक्छौ भने विभेदहरूबाट उठी हेर !
सक्छौ भने विभाजित सोच त्यागी एकीकृत सोच बनाऊ !
सभ्य समाजको निर्माण गर्नु छ !
सभ्य समाजको निर्माण गर्नु छ !
सुख शान्ति समृद्धिको बाटो बनाऊ !
आफू बच्ने समाजमा अरूलाई पनि बचाउ!
सक्छौ भने, भेदभाव र असमानता हटाई खुलेर बाचौँ !

सक्छौ भने,
आफ्नै नाम र काममा रमाऊ !
तब आफूले आफू बन्नेछौ !
तब तिमी, तिमी बन्ने छौ
अनि म को हु भनी, गर्व गर्न सक्नेछौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *