मान्छे खाने शहर
डिल्लीराम रेग्मी
ओहियो, अमेरिका
बतासिएर हावाले
एकनाल बन्दुककाे गाेली
हुरिएर घरकाे छानामा खस्याे
थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि?
एक्कासि फैलिएकाे तुवालाेमा
सास फेर्ने मेराे प्रयास!
मानिस यहाँ मरिरहेका छन्
उनीहरूलाई यसकाे परवाह छैन
हामी मृत्युलाई हाेइन, मृत्यु हामीलाई लखेटिरहेछ
यस्ताे लाग्छ बिहानकाे प्रहर देख्न पाइँदैन।
याे मान्छेले मान्छे खाने शहरमा
एकपल बाँच्नुकाे अर्थ लाग्दैन
हाे, अनुहारमा हाँसाे छैन
न त आँखामा अाँसु नै
ममा त्रास, भय, राेदन, पीडा
अइया अात्थाे केही छैन
म युध्द मै जन्मेकाे
मेरालागि याे त दिनचार्य भएकाे छ।
हाे, लाग्छ मन कराउन
चिच्याउन अनि रुन
मैँले मातृस्नेह गुमाएकाे छु
मैँले कलिलाे बाल्यावस्थामा पहाड थामेकाे छु
मेराे रगताम्य अनुहारमा
खै के देख्छाै कुन्नि
कसैलाई यसैले वर्तमान बताएकाे छ
कसैलाई यसैले विगत देखाएकाे छ
मलाई लाग्छ यसले भविष्य चिहाएकाे छ।
म कराउन सक्तिन
आँट कसरी बटुलाैं
‘ए आमा कहाँ छाै तिमी’
सजग रहनु
मानव रगत चुस्न ताम्सेकाहरु
अावेगले चुलिएका चाहना लिएर डुलिरहेका छन्
भस्म भइसक्याे याे बस्ती
कारगिलकाे के कुरा
अर्काे युद्ध यहाँ घमासान भइसक्याे।
मेरा बाबा आमा कुन भस्ममा भासिए
म त बाँचे कि सायद?
मेराे सलाम
मान्छे खाने मान्छेबिच रहेर
संसारकै घना जाेखिममा आफैँलाई फाली
मेराे अस्तित्व जीवित गराउने भगवानहरुलाई!
याे शहर मसानघाट पार्नेहरुहाे
सुन, संसारले देखिसक्याे
अनि बुझिसक्याे
जुनकिरीकाे उज्यालाेमा
निभेका बत्तिहरु खाेज्न लागेका हामी
रित्तिएका छन् हाम्रा काेशिकाहरु रगतका
कति चुस्छाै कालाे रगत
हाम्राे त अस्तित्व नै मेट्ने भए!
कम्पन नसकेकाे मेराे शरीर
एउटा लाशझैँ अखबारमा पाउँदा
खुसीकाे उन्मादमा मातिएका उनीहरू
पर्वाह छैन
फक्रनै अाँटेका कापीलालाई
जमिन मै गाडाै भन्छन्
भाेलिकाे देश बनाउने सयाैं खम्बाहरुलाई
स्याई-स्याई अारीले रेटिरहे
ए विश्व! गुहार,
अब कति काखी मच्चाउँछाै
घाेर निन्द्रालाई बिस्कुन बनाइ सुकाएर आऊ
अनि म जस्ता धेरैकाे उद्धार गर
अनि समाप्त गर
याे मान्छे खाने मान्छेकाे साेचलाई।
[सिरियाको अलेप्पो शहरमा गत अगष्ट १७ मा भएको हवाइ आक्रमणमा परी घाइते भएका पाँच वर्षीय बालक ओमरान डाक्नेश तथा सबै प्रकारका युद्धको चपेटामा परी बेसहारा बन्न विवश बालबालिकाहरु प्रति समर्पित- कवि]