मुखमा आयु पनि बस्छ मृत्यु पनि……
नैनसिंग सारु मगर
रोचेष्टर ,न्यूयोर्क
रात सधा झैं छिपिदैथ्यो । यात्रा सफल रहोस् भन्यो भने सफल पनि हुनसक्छ असफल होस् भनियो भने असफल पनि हुन सक्छ । होस्यार रहनुहोला ! यदि घरमा झगडा कहिल्यै नभएर हुनथाले भने, नदेखेका कुरा देख्न थाले भने, नसुनेका कुरा सुन्न थाले भने, कहिल्यै नदेखेका सपना बारबार देख्न थाले भने, घरमा हर कुराहरू सदा जस्तो फारो हुन छाडे भने, घरभित्रका सामग्रीहरू त्यसै फुट्न थाले भने, केही वस्तुहरू अचानक ह्वात्त वृद्धि भएर आएमा पक्का घरमा कुभलोको लक्षण सृजना हुदैछ भनेर बुझ्दा अन्यथा हुने छैन ।
हुन त कतिलाई मृत्यु प्यारो लाग्छ भने कतिलाई डर पनि लाग्छ । मेरै बजै मेरो काल आएन भनेर दिनै गुनासो गरेर हिडिरहनुहुन्थ्यो अनि भन्नुहुन्थो मलाई, “ ए काले….! म केहीकथम बिरामी भइहालेछु भने मलाई अस्पताल पनि नलानु, घरका जडीबुटी पनि नगर्नु, ग्रहजाप, धामीहरू पनि नलगाउनु ल, म छिटै मर्नु चहान्छु I यो लोकमा बसेर जतिखेरै पनि दु:खका दु:खै, असमान्ता, भोक, पीडा, भेदभाव, ।” बोजुको त्यो बिचार थियो भने, मेरै माहिॅली काकी चाहिॅ मृत्युदेखि साह्रै डराउने अलिकति कल्चेडो काँडोले औॅलामा घोचिदियो भनेपनि रातभरि गनगन गरेर अस्पताल लैजाउ भन्ने, के- के जाति गरिद्याओ भन्ने, कसैलाई पनि राति सुत्न नै नदिने कचकच गरेर । कसैले सुदिएन भने घरै उचालेर रूने, अरू के -के उखर्माउलो गरेर काबु पार्ने ।
हामी केही दिन अघि मात्रै लामपाले गाउॅबाट घले डाँडामा बसाइॅ सरेका थियौं । रातको त्यस्तै नौ बजेको थियो होला,हामी खाना खाइसकेर आ-आफ्ना ओछ्यानमा ढल्किसकेका थियौं । एक्कासी बा र आमा आगोमा तेल पसे जस्तो, ओछ्यानबाट जर्याजुरूक उठेर तमासले बाझ्न शुरू गरे । जन्मेदेखिका कुराहरू निकालेर अरु झन् के-के हो, के-के…..। म सानै थिएँ हेर्न र सुन्न बाहेक केही भएन । नौ बजेदेखि बाझ्न शुरू गरेका बिहानको दुई बजेसम्म बाझेपछि आमाले रूदै, भनिन् “तॅ साले अपराधी, तॅ पापी, तैंले ममाथि त्यत्रो पाप चिताएको रहेछस् अब तॅ यो सुतेको ठाउॅबाट नउठिकन त्यतिकै मरिजाओस्,मैले भनेको लागोस है भगवान् ।”
म त त्यतिकै नसुतिकन छक्क परेर ओछ्यानमा ढल्किरहें । मनमा अनेक कुराहरू पनि खेलाएँ I बा आमाका सम्पूर्ण कुराले मेरो मनै अमिलो पीरो बनाइदियो ।
बिहानको उज्यालो भुँइमा खस्यो I सधैं बिहानै उठेर गोरू नारेर बारीमा जानुहुन्थ्यो बा, तर उठ्नुभएन सुतिहरनु भयो । पारी भीरमा घाम पनि झुल्क्यो म बाख्रालाई घाँस काट्न गएँ । घाँस लिएर आउँदा आमालाई देखिन, बाबा त्यही सुतिरहनुभएको थियो । बाबालाई उठाउन पनि डर लाग्यो मलाई । आमा पनि एक्छिनपछि आउनुभयो ।
केही छिनपछि मपनि स्कूलतिर लागें । केही तल पुगेपछि कुमार झोला बोकेर रुदै आइरहेको देखें अनि छक्क परेर मैले सोधे, “कुमार तिमी किन यसरी रुँदै आएको ? कसले के गर्यो तिमीलाई ?” ॲासु पुछ्दै भन्यो, “नैन ! हाम्रो स्कूल त जलिरहेको छ, आर्मीहरु पनि कति छन्-छन् स्कूल वरिपरि । आन्दोलन पो भएछ त ……,” ! म त अलमल्ल परेंछु, कुमारको कुराले र पनि आफैलाई आफैले नियन्त्रण गरें अनि कुमारलाई मपनि हेरेर आउॅछु भनेर त्यहाँबाट छुटियौं ।
केही समय पछि स्कूलमा पुगेको त…..! रुन बाहेक अरू कुनै विकल्प नै आएन, यसो एक कक्षाको ढोकाबाट हेरेको त….. ‘ गधाको वयान’ शीर्षक कविता जलिरहेको देखें । ‘जहिले मैले जन्म लिएँ माछा रूखमा चढ्थे’ कवितालाई आगोले खरानी पार्दै लगिरहेको देखें । त्यहाँ वरिपरिका दादा, दिदी, बा आमाहरूलाई सैनिकले पाता कसेर ट्रकमा खाँदिरहेको करुण दृश्य देखें । एक जना गर्भवती दिदीलाई सैनिकले थिचिरहेको देखें । त्यही कष्टकर झलकलाई अवलोकन गर्दै आत्तिदै रुँदै घर पुगें । घर पुगेर मामाको मुखबाट बुझेको त भोटे र नेपालीका संघर्ष भएका र नेपालीलाई नेपाल खेदाउनलाई त्यसरी कवितालाई जलाएका रहेछन् सरकारले ।
बा आमाका बोलचाल बन्द भए रातदिन त्यसरी नै बित्दै गए । बाबालाई ज्वारोले बीसको उन्नाइस कहिल्यै बनाएन । शुक्रबार राती एक हप्ता पनि ट्याक्कै पुगेको, बाबाको पनि सदाको लागि बिदा भएको । त्यतिखेर पो आमा त …..साउनको भेलभन्दा पनि ठूलो ॲाशुका धारा बगाएर बाबालाई,…..”मेरो बाबा ! मेरो भगवान् ! “ भन्दै अंकमाल गर्नुभयो । त्यस्तै रातको नौ बजेको थियो होला, बाबाको टाउकोदेखि जुम्राहरू निस्केर गालामा सल्बलाउन थाले ,ॲाखा र मुख हेर्दाहेर्दै बन्द भए । तल सुक्का खोलो छेउमा कुकुर मच्चीमच्ची भुक्दैथ्यो । लेउपानी गाउॅतिर बन्दुक पड्केका आवजहरू आइरहेका थिए । आमाले मलाई धामी ले अस्पताल लैजाऊ भनेर कराउनु भयो I गाउॅमा भर्खरै सरेका कहाँ थाहा हुनु धामीको घर पनि …….म त रुदै , डराउदै आमालाई कराउॅदै आमा र बाबालाई हेरिहरें…….. ।