मुखिया बाजे

सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया

कैँजले गाउँका गुमानसिङ छेत्रीको घरमा आज बिहानैदेखि मानिसको निकै घुइँचो छ । सायद गाउँको कुनै मुद्धा सल्ट्याउने काम भइरहेछ । एउटा अग्लो कुर्सीमा बसेर मुखिया गुमानसिङ छेत्री कुरा छाँटी रहेछन् । आँगन बीचको एउटा टेबलमा चियाका केही गिलासहरु छन् । चियाको चुस्कीसितै गुमानसिङका बिछट्टै नीतिका कुरा सुनेर दंग छन् गाउँले । एकै छिनमा छेवैको छिमेकीलाई गुमानसिङ कराएर बोलाउँछन् “ए हर्के यहाँ आइज आइज, तँसित एउटा कुरा गर्नुछ ” आगनमा बसेका सबै गाउँलेका आँखा छिमेकी हर्केको घरतिर पर्छन् । “हुन्छ हजुर…..” एकै छिनमा हर्के मुखियाको आगनमा आइपुग्छ हस्याङ फस्याङ गर्दै । “एइ हर्के, आज मेरो अलैँची बारी फाँड्न जानुपर्छ, दुइजना अरू साथी पनि मिलाइ दिएको छु, आजै जा है ?” चाहेर हो वा नचाहेर “हुन्छ हजूर ” उ बोल्छ । यो उसको आजको मात्र भनाइ होइन । उसले दिनमा पचासपल्ट “हुन्छ हजूर” भन्नुपर्छ । जहिले पनि नोकरलाई जस्तो ठाडो आदेश हुन्छ उसलाई । मुखियाले जतिखेर जे अहउँछन् हर्केको स्वीकारोक्ति हो…..“हुन्छ हजूर” । मुखियाको घरदेखि वनसम्मका बाह्रै कालका सबै काम हर्केले न गरिदिएको पो कहिले छ र ! उनलाई गुन भने कहिले लागेन , गरेर नपुग्ने मान्छे , नानाभाँती कुरो झिकेर कच्याङ कच्याङ गर्न उनीबाट कसैले सिकोस् । मुद्धा किनेर थिम्पु धाउने मान्छेको के कुरा गर्नु र ! शकुनिभन्दा कम छैनन् है यी बूडा…… । मनमनै मुर्मुरिँदै हर्के आफ्नो घरतिर लाग्छ । मुखिया बाजेका रुपमा चिनिने यी गुमानसिङ छेत्री कुनै समय यस गाँउका हकिला कारवारी पनि थिए । त्यसताक उनको हक डकै ठूलो । हाँकले गरि खाएका हुन् । को बोलोस् र उनको अगाडी । झै— झगडामा वादी प्रतिवादी दुवै पक्ष डराउँथे उनीदेखि । जसलाई मनप¥यो उतैपट्टि लाग्थे मुखिया । जुन पक्षलाई जिताउनु छ उतैतिर फर्केर आफ्नो दाहिने आँखो चिम्म पारे कि सम्झौं फसेला उसैको पक्ष गयो । हार्नेहरुले निसाफ परेन हजूर भन्ने आँटसम्म गर्न नसक्नु उनीहरुको आफ्नै वाध्यता हुने गथ्र्यो । भविष्यका दिनहरुमा उनको कोपबाट सबैले बाँच्नु पनि त छ ! कारवारी गरेको दुइ दशकपछि उनको त्यो पद तर अब गाउँको अर्को व्यक्तिको हातमा गयो । सल्ट्याउन न सकिएको कुनै खास मुद्धामा मात्र गुमानसिङ मुखियालाई बोलाउने गरिन्थ्यो । नयाँ कारवारी उनको नातीको उमेर सरहको थियो । त्यसैले होला समय समयमा मुखियाले नयाँ कारवारीको दलानमा पुरानै पाराले हक जामाउन पाउने गर्थे । लामा जुँगा, चाउरिएको अनुहार, अग्लो कद, चुच्चे नाक, लामा लामा सुकुटे पाँसुला देख्दा उनी निकै मापाका झोडे नेता पो हुन् कि जस्तो भान हुन्थ्यो । खस्रो बानी व्योहोराका कारण मुखिया जहाँ गए पनि अर्को माथि हक जमाएर कुरा गर्न खप्पिस थिए । जस कसैको घरमा बिहे बटुलो होस् वा अरू प्रकारको सार्वजनिक भेला मुखियालाई छेस्का हान्न कसले भेट्छ र ! बोल्न थाले कि गफको तिखो छेस्काले कसै न कसैलाई घोचेकै हुन्थ्यो च्वास्स्स…… । उनीसित पौंठेजोरी खेल्ने कसले ? हो– मा हो मिलाउनै त प¥यो । गाउँका सिधा सोझाहरु उनीदेखि निकै अलग बस्न रुचाउँथे । बीँडि सिगरेट भन्दा खोसेलामा कटुवा बेरेर धुवाँ उडाउने बाह्ै कालको उनको बानी हो । यो बानी कहिले देखिको हो भन्ने कुरो उनी आफँैलाई पनि थाहा छैन । बेरुवाको लामो सर्को तानेपछि उनी डल्लो परेर खोक्थे आँखा भरि आँसु आउने गरी । त्यसैले होला उनको दाँत कालो – पँहेलो अनि गिजा डढेर कालो देखिन्थ्यो । दिनदिनै खोकी बढ्न थालेपछि अघिल्लो महिना साम्ची अस्पतालमा जाँच गराउँन गएका हुन् उनी । टीबीले भेटेको रहेछ । निकै दिनसम्म कैँजलेबाट साम्ची अस्पताल घाए । दुइपल्ट औषधी गर्न थिम्पू अस्पताल पनि गए । थिम्पू मै छोराहरुको घरमा महिनौं बसे उपचार गराएर । गुमानसिङका दुइ छोरा थिम्पूमा छन् । एकजना कुनै सरकारी विभागमा अधिकृत छन् भने अर्का जोङदाभन्दा माथिल्लो पदका डासो । डासोका बाबा भएपछि त्यसै पनि गाउँमा बाजेको हक डक बढ्ने नै भयो । वर्षमा एकपल्ट दशैँको समयमा टीको लाउन डासोहरु आफ्नो परिवार सहित कैँजले आउँने गर्छन् थिम्पूबाट । त्यसताक गाउँलेहरुको आइजाई बढ्छ । दूध, दही, घिउ, साग सब्जी, छुर्पी वा जे जस्ता घरमा उपलब्ध खाद्य बोकेर गाउँलेहरु डासो भेट्न आउँथे । आफ्नै गाउँको डासो । गर्व पनि छ र केही आशा पनि । मुखिया पनि गजक्क पर्छन् छोराहरु आएको समयमा । उनीहरु केही दिन बस्छन् । गाउँलेहरुका दुुःख सुखका कुरा सुन्छन् । घरदेखि निकै तल सडक छेउमा बनाएको एउटा कटेरामा उनीहरुको गाडी राख्ने गरेको छ । यो वर्षेनिको क्रम हो । अघिल्लो साल जस्तै यसपाली पनि उनीहरु दशैँ मनाउन मुखिया बाको घर आएका हुन् । दशैँ गएपछि उनीहरु थिम्पू फर्के । चाडवाडको मुखमा घुइचो रहेको मुखियाको घर अब पहिलाको जस्तै शून्य हुन्छ ।
वर्षौं अघि कारवारी हँुदाको उनको चर्तिकलाको कुरा गरी साध्य छैन । वर्षेनीको जमीन खजना उठाउन उनी गाउँ गाउँ घुम्दैनथे । रैतीले उनको घरैमा आएर खजना बुझाउनु पथ्र्यो । ढिलो गर्नेलाई सरकारी सजाइ वा उनी आफैँले आफ्नो घरको काम लगाउँथे । पोल कतै पुुग्नैन भन्ने कुरो उनलाई राम्ररी थाहा छ । यो कुनै सरकारी नीतिभित्रको कुरो पनि थिएन । गरीब वा विपन्न अवस्थाको मानिसले खजना तिर्न नसकेमा मुखिया बाजेले आफ्नो घरको काम गर्न लाउँथे । दश रुपियाँ खजना तिरि दिए भने दुइ दिन उनको खेतमा काम गरि दिनुपथ्र्यो रैतीले । यसरी नै हिउँद वर्खाको खेती उत्रन्थ्यो उनको । बाजे मान्छे बाठा भन्दा पनि चतुरा हुन् भन्नुपर्छ । धान काट्नेदेखि लिएर दाउरा चिर्ने, मकै छर्ने, धानको बियाड राख्ने, खेतको बाँझो जोत्ने जस्ता वर्ष भरीका काम अरुकै भरमा चल्थ्यो ।
हर्के मुखियाको छिमेकी हो । उनको घरदेखि एक कान्लो पर छ उसको घर । बाह्ै कालको नोकर जत्तिकै छ उ त्यहाँ । कराँसो बारी जोडिएको छिमेकी भएकै कारणले पनि मुखियाको सबै काम हर्केले गरिदिँदै आएको छ । उनी कारवारी हँुदा हर्केका बाबा गाउँ बूडा थिए । स्वभावमा अन्तर भए पनि खूब मेल मिलाप थियो दुवैबीच । तर उसका बाबाले रैतीलाई शोषण गर्ने काम भने कहिले गरेनन् । बाबा बाँचि रहनु भएको थियो भने उसका पनि दिन फर्कन्थे होलान् । तर नियतिले कोल्टो फेरे पछि कसको के लाग्छ र ! तीन वर्षको फरकमा बाबा आमा परलोक भएका हुन् हर्केका । आमा खसेको पाँच वर्ष अनि बाबाको आठ वर्ष पुगेछ । बाबाले बनाएको दुइतले घर पनि गए वर्ष भत्किएर खण्डहर जस्तै भएको छ । आफ्नो क्षमताले नपुगेर नै होला उसले त्यो पुरानो घर मरम्मति गर्न सकेन । अहिले उ घर अगाडिको खोल्मा बारेर बस्न थालेको छ केशरी र चारवर्षको छोरो विवेकसित । तीन प्राणीको लागि खोल्मा मनग्गे भएको छ । गैरी खेतमा फलेको धानले तीन जनालाई वर्ष भरिको लागि छेलोखेलो हुन्छ । यही धानखेत नै त हो उसको पैतृक सम्पत्ति पनि । बाबा आमाको चिनो । घरसितै जोडिएको उक्त खेत सरेक परेको ठाउँमा छ । स्याहार्न टाढा जानु परेन । ढँुगा नभएको मलिलो माटो । बिहान मिर्मिरेदेखि काम थाल्यो साँझसम्म गर्न भ्याइँन्छ । आफ्नै खेतमा छ पानीको मुहान । औलोको खेत । उब्जनीमा कुनै कमी छैन । निकै वर्षसम्म यस खेतमा मुुखियाका छड्के आँखा न गाडिएका होइनन् । हत्याउने उनको प्रयाश अन्ततः सफल भएन । आफू गरीब भए पनि हर्के मनको साह्ै धनी छ । सबैसित मिल्ने । दुःखमा सबैको साथी हो उ । बाह्ैकाल काम दलाउने मुखियाले भन्दा मुखेनी आमैले छोरालाई जस्तै माया गर्छिन् उसलाई । मुुखिया जोइ पोइमा आकाश पतालको फरक छ । आफू नोकरले जस्तै काम गर्नपरे पनि मुखेनी आमैको मायाले उ कुनै पनि काम गर्नबाट पछि हट्न सकेको छैन । “के गर्ने र हर्के ! मुखिया बाको बानी नै त्यस्तै छ । बूडो भइ सके, अब सम्झाएर पनि त लाग्दैन उनलाई, जे जसो भने पनि मन न दुखाउनु है बाबू !” मुखेनी सहनशील छिन् । केशरीको कम माया गर्दिनन् भन्ने कुरो हर्केलाई राम्ररी थाहा छ । चारवर्ष अघिको कुरो हो । विवेक जन्मिदा केशरीको खुबै हेर्चाहा गरेकी हुन् उनले । छिमेकी भएपछि परेको बेला सघाउनैपर्छ । सघाउने काममा मुखेनी कहिले पछि हट्दिनथिन् । विवेक जन्मिदा महिना दिनसम्म सुत्केरीको सेवा गरेर उनले ठूलो गुन लाएकी छिन् हर्केलाई । त्यसैले पनि मुखियाको घरको काम गर्नमा प्रतिकार गर्न नसकेको हो हर्केले । केशरीलाई बिहे गरेर घर ल्याएकै दिनदेखि मुखेनीले उसलाई आफ्नै बुहारी सरह मानेकी हुन् । बिहेको दिन मुखियाको आँखा छलेर उनले जोडी साडी चोलो र सुनको जोडी माडवारी केशरीलाई थिइन् । “दुलही ! सासु आमा नभए त के भो म पनि त तिम्री सासु नै हँु”– मुखेनीले हाँस्दै किशोरीको गालामा न्यानो म्वाईँ पनि खाएकी थिइन् । केशरी पनि गदगद भएकी थिई त्यस दिन । हर्केको घरमा आएदेखि केशरीले मुखियाको घरलाई पनि आफ्नो भन्दा परको सझिन । आफ्नो घरको काम सँगसँगै उसले बुहारी जस्तै भएर मुखियाको घरको काम गरेकी हो । साह्ै माया गर्थिन् मुखेनीले उसलाई र उसले मुखेनीलाई पनि । यसरी राम्रा राम्राबीचको प्रगाढ सम्बन्धले यो घरमा राम्रो पन अधिक देखिन्थ्यो । यहाँ लक्ष्मीको बास छ भने जस्तो लाग्थ्यो । तर नियतिको लेखोट अर्कै थियो । यो प्रगाढ सम्बन्ध लामो समयसम्म रहन सकेन । राम्रो मान्छे छिट्टै भगवानको प्यारो हुुन्छ भने जस्तै भयो यहाँ । अचानक मुखेनी परलोक भइन् । उनी विरामी भएको कसैलाई थाहा भएन । बिमार नै नभई उनी परलोक भइछन् । उनी बित्दा सबैभन्दा बेसी किशोरी रोएकी थिई । घरकी लक्ष्मी नै बितेपछि अब त्यस घरको सह नै हराएको जस्तो देखिन्थ्यो । यसै भन्थे यहाँ आइजाई गर्ने गाउँलेहरु पनि । मुखेनी आमोई परलोक भइन् तर मुखिया बाजेमा त्यसको कुुनै प्रभाव नपरे जस्तो लाग्थ्यो । थिम्पूबाट छोराहरु आएर आमाको काम गरे । यसपल्ट उनीहरु लामो समयसम्म कैँजलेमा बसेनन् । मुखिया बाजेमा पत्नि वियोगको पीडा झल्किएको पाइदैनथ्यो । गाउँलेहरुको निम्ति यो छक्क पर्दो कुरो थियो । उनी अझ झक्की र क्रोधित देखिन थाले । यता देशको शासन प्रणाली अझ शक्त हुन थाल्यो । सबैले आफ्नो जातीय पोषाक छोडेर बख्खु लाउनुपर्ने कानुन बन्यो । जन गणनाको अनावश्यक बहानामा जनता लखेट्ने षड्यन्त्र शुरु भयो । गाउँ गाउँमा जन गणना टोली पस्यो । एकदेखि पाँच नम्बरसम्मका फार्महरु भरिन थाले । तीन दिनदेखि मुखिया बाजेको घरमा पनि टोलीले जमेर छानवीन थाल्यो । त्यसताक बाजेको घर डासो जोङ्दा, डुुङ्पा, पुलिसको ओसी र अरु धेरै खाले सरकारी कर्मचारीको अड्डा भएको थियो । यहाँ धेरै किसिमका गतिविधि चल्न थाले । अरु गाउँमा जस्तै कँैजले गाउँमा पनि नहुनु पर्ने कुरो हुन थाल्यो । यस्ता काममा मुखिया बाजेको भूमिका सन्दिग्ध लाग्न थाल्यो सबैलाई । गाउँलेहरुको विजोक हुने अवस्था सृजना भयो । सबै गाउँले हतास, निराश अनि असमञ्जसमा परे । मुखिया बाजे गाउँलेहरुलाई हप्काउँदै हिड्थे । अब उनको स्वभाव पहिलाको जस्तो लाग्दैन थियो । जहाँ जसलाई भेटे पनि हप्काउने ढङ्गमा कडापन थियो “बख्खु लाउनुपर्छ, यो आफ्नो देशको लुगा हो, राजाको पहिरन हो, हामी प्रजाले किन नलाउने, ड्रिग्लाम नाम्जा भनेको यही हो । तिमीहरुलाई थाहा छ ?” जुँगा मसार्दै –“कानुन नमान्नेलाई कालले छोड्ला तर राजाले छोड्दैन बुझ्यौ”– जनता हप्काउने उनको मुखमा अहिले आएर यो नयाँ शैली पनि थपिएको थियो । बाजे ड्रिग्लाम नाम्जाका जानकार थोरै र प्रशंसक भने धेरै हुन् । यस कुराको अनुुमान जस कसैले पनि गर्न सक्थ्यो । मुखिया आफैलाई बख्खु कसरी लाउने हो भन्नेसम्म थाहा थिएन । उनी छिमेकी गुहार्थे । उनको पसाङ्गिएको भाङ्ग्रे जिउमा लगाएको बख्खुले उनलाई हाँस उठ्दो देखिन्थ्यो । हाँसको बथानमा बकुुल्लो जस्तै……. ।
सरकारी दमनले सीमा नाघेपछि देशभरी बिस्तारै विरोधका स्वरहरु उठ्न थाले । केही दिनमा गाउँ, शहर भरी धरना र जुलुश उठ्ने अनि सरकारलाई मानव अधिकार बहालीको निम्ति दवाब गर्ने कुरो चल्यो । यस अभियानमा कैँजले गाउँ पनि अछुतो रहन सकेन । हो हल्लाले निकै ठूलो रुप लिन थालेपछि मुखिया बाजे अचानक टीबीको थप उपचार गर्न भनी थिम्पू तिर लागे । जुलुशको तयारी हुन थाल्यो । बाजे किन थिम्पू लागे यो एउटा कौतुहलको विषय बन्यो गाउँले गाउँलेबीच । जुलुशदेखि भाग्ने यो एउटा बहाना हो वा उपचार नै गर्न भनी उनी थिम्पू गएका हुन यो कुरो भने कसैलाई थाहा भएन । जुलुश उठेको पन्द्रह दिनपछि बाजे टुप्लुक्क आफ्नो घर फर्किआए । अब गाउँमा धर पकड शुरू भइ सकेको थियो । हत्या र बलात्कारका अनेकौं घटना हुुन थाले । दिउसो दिउसो आर्मी बाजेको घरमा आउँथे अनि राती गाउँ गाउँमा छाप्छाप्ती हुन्थे । बेला बेला बाजेसित के के बातचित भइरहन्थ्यो पुलिस र आर्मी अफिसरहरुको । आज फलानोलाई पक्राउ ग¥यो रे…….. । आर्मीका गाडी घरदेखि तल सडकमा रातारात दौडेको देखेर केशरीको होश उँड्थ्यो । अरु गाउँबाट मानिस भाग्न थाले । नेपालमा शरण लिएका छन् रे भन्ने कुरो सुनिन्थ्यो । गाउँ गाउँमा पक्राउ र बलात्कारका घटनाहरु सुनेर केशरी थरथर काम्थी । एकदिन अचानक राती हर्केको घरदेखि माथिल्लो घर आर्मीले घेरे । घरका सदस्यलाई छानी छानी पिट्न थाल्यो । पक्री सालेलाई, हिर्का, ऐया………मरेँ जस्ता अनेक चित्कारले थर्कमान हुनथाल्यो । माथ्लो धरमा महिलाहरुको बलात्कार हुन थालेपछि केशरी होश हवाश उँड्यो । हात खुट्टा थरथर कामे । आज हर्के घरमा छैन । दिउसै मुखियाले आफ्नो सुन्तला बगान हेर्न पठाएका छन् । फर्केर आएको छैन उ । कसैको घरमा पाहुना लाग्यो होला । भोलि बिहानै आइपुग्छ, केशरी मनमनै लख काट्छे । घरमा आज उ उक्लै छ चारवर्षे बालकसित । माथ्लो घरको कोलाहाल बीच यसो जस्केलाबाट मुखियाको घरतिर चियाउँछे – “के गर्दैछन् बाबै” । दलानमा लालटिनको झिनो उज्यालो छ । केही आर्मी अघिदेखि बसेका छन् आगनमा । मुखियासित के के गुुन्गुनाइ रहेका छन् । मुखियालाई छेवैको कुर्सीमा बसेर बेरुवा उडाउँदै गरेको देख्छे । माथिल्लो घरमा आर्मीले ताण्डव मच्चाएको छ तर त्यसको सायद उनलाई केही असर परेको छैन । चाहेर हो वा नचाहेर मुखिया कुनै गहिरो शोचाईमा भने अवश्य परेका छन् । “यो तल्लो घर कसको हो” माथिबाट कसैले भन्छ । “हिँड त्यहाँ को को छ” । कसैले टर्च लाउँछ हर्केको घर वरिपरि । केशरीको होश गायब हुन्छ । आगनबाट कसैले साउतीमा भन्छ “केशरी भाग नत्र तँलाई मार्छन् ।” उ धेरैथोक सोच्नपट्टि लाग्दिन । छिटो छिटो पोल्टामा केही बोक्छे । विवेकलाई बोकेर हतार हतार घरको तल्लो जस्केलाबाट सरक्क बाहिरिन्छे । अब उसले भाग्नैपर्छ । मास्तिरबाट उसको घरमा आर्मी झर्न थाले । निकै तल पुगेपछि फर्केर एकखेप हेर्छे पुलुक्क । आर्मीले घेरेका छन् उसको घर । वरिपरि टर्चको उज्यालोमा कसैलाई खोजे जस्तो छ । अब उसले यहाँ रोकिनु उचित छैन । हे भगवान यो के हँुदैछ, अब कहाँ जाने मैले ! अचानक उसलाई आफ्ना मितबाबुको सम्झना आउँछ । हरिबहादुर बस्नेत, थाल्झोडाका नामी सरदार, उसका मितबाबु हुन् । चिया बारीमा सयजना लेबर उनको खटनमा चल्छन् अझै पनि । अङ्रेजी जमानाका खाँट्टि मान्छे । थाल्झोडामा उनलाई नचिन्ने को छ र । कम्पनी शासनको समयमा उनको खूब चल्थ्यो थालझोडामा । मितबाबुको घर ताकेर केशरी खेतको कान्लै कान्ला ओहलो लाग्छे । खेत पुुछारको सडक पार गर्न अघि उ चाल मारेर यसो हेर्छे यताउति । कोही छ कि । कसैलाई देख्दिन । पल्लो घुम्तीमा आर्मीका दुइवटा गाडी रोकिएका छन् । यहीँबाट आर्मी गाउँ पसेका रहेछन् । उ हतार हतार सडक पार गर्छे । चिहान घारीको बाटो पार गरेर उसले जानुछ । सधैँ हेर्न डर लाग्थ्यो यो चिहान घारी । तर आज मरेका मान्छेभन्दा जिउँदासित डर लागेको छ उसलाई । जिती खोला पार गरी लगभग दुइ घण्टामा उ थाल्झोडा बगानका लाम लस्कर घरहरु भए ठाउँमा पुग्छे । “मितबाबु दैलो खोल्नुहोस् न…..” उ एउटा घरको दैलो ढक्ढक्याउँछे । “को हो हँ”– भित्रबाट कोही लोग्ने मान्छेको बोली आउँछ । एकैछिनमा दैलो उग्रिन्छ । “केशरी यो के हालत ! किन यति राती, के भयो र यसरी राती राती, जिउ सबै भिजेको छ, सबै हिलै हिलो ……………? बोली नटुङ्गिँदै केशरी डाको छोडेर रुन्छे । घटनाको सबै बेलिबिस्तार लाएपछि त्यो रात रोएर बित्छ उसको । नेपालको शिविरमा जाने अडान पछि भोलिपल्ट हरि बहादुरका छोराले उसलाई नेपालको बेलडाँगी शिविरसम्म पु¥याए । हिड्ने बेलामा “हामी हर्केको खोज खबर गर्दै गर्छौं नसुर्ताइकन जा है छोरी”…..आँखाभरी आँसु पारेर हरिबहादुरले बिदा गरेका थिए केशरीलाई ।
शरणार्थी जीवन कसलाई मनपर्छ र ! कहाली लाग्दो । तर बस्न परेपछि शिविरले जसलाई पनि अपनाउँछ । धेरथोर समयको कुरा मात्र हो । बिस्तारै बानी पर्छ । बर्खाको हिलो र हिउँदको शिरेटो । धुवाँ धुलोबीच सबैले एकमुठि सास फेर्नैपर्छ । मानिसको कोलाहल । हावा हुण्डरी । दिन्दिनै एकैखाले काम । ससाना छाप्रामा भिन्न भिन्नै विचारका मानिस । राशिन, तेल, सब्जी, कालो कनिका मिसिएको बगडा । कहिले कसैको बिहे त कहले मरुमराउ । मानिसको लाम सस्कर । सेक्टरदेखि सेक्टरसम्मको दौडधुुप, झै झगडा, बाझबाझ, बाँसले बारेका साना ठूला स्कूलमा हजारौं केटा केटी । बेला बेला शिविरभित्र गुड्ने दातृ संस्थाका चिल्ला गाडी । यस्तै प्रपञ्च बीचको जीवन । यहाँ जीवन धान्नेहरुमा केशरी पनि एक भएकी छ हिजोआज । सडकसित जोडिएको एउटा सेक्टरमा उसको पनि एउटा सानो छाप्रो छ । पानी बोक्ने एउटा सेतो जर्किन, सिल्भरका केही थाल,बटुका,एउटा स्टोभ, बोहका केही चट्टी, अर्काले दिएका काला सस्ता केही कम्बल अनि केही जोडी लाउने लुगा । यति नै हुन् उसको सानो छाप्रोमा दैनिक प्रयोगका सामग्री । शुरुशुरुमा उसलाई दिक्क लाग्थ्यो । “म कहाँ आएँ, यो कस्तो जीवन, बाबा आमा भूटानमा के गर्दै छन् होला, नानीको बाबाको पत्तो छैन, के गर्दै छन्, के उनलाई पनि पक्राउ ग¥यो ?” यस्तै यस्तै प्रश्नले उसको मन भौंतारिन्थ्यो । एकदिन आरसीयू कार्यालयबाट एक हुल मान्छे बाहिर निस्कँदै गरेको उसले देख्छे । बीचमा एउटा सेतो लुगा लाएको बूडो मान्छे लमक्क लमक्क लम्कीरहेका हुन्छन् । केशरीको आँखा ती मान्छ मै टिक्छन् । “मुखिया बाबै” अनायास नै उसको मुखबाट निस्कन्छ । साथमा एउटी अधबैँसे महिला । उनले अर्को बिहे गरेछन् । लख काट्ने क्रममा केशरीको निधार खुम्चिन्छ “यो के अचम्म देख्नुप¥यो” । हातमा एउटा कालो झोला बोकेर आफ्नै छेउको एउटा छाप्रोमा ती दुइ प्राणी पस्छन् । पहिलाको भन्दा अझ दुब्लो, अनुहार कालो, निहुरिएको टाउको, रोगले खडङ्खास बनाएको छ बूडालाई । कता कता रिष पनि उठ्छ । मनमनै उ बोल्छे– ड्रिग्लामनाम्जा भनेर रैती हप्काउनेलाई पनि राजाले छोडेन छ । दुनियाँ लगारेर उनीहरुको सम्पत्ति हत्याउने सपना पुरा भएन यी बूडाको । अहिले आफ्नो पनि उही गति भएछ ।
केशरी बेलडाँगी शिविर आएको वर्षौं बितेछ । जतिखेर जो पनि भूटानको जेलबाट छुटेर शिविर आइपुग्छ उ सोध्न पुग्थी । मन पिरोलिन्थ्यो । सपनामा धेरैपल्ट उसले हर्के देखेकी छे । धेरैपल्ट उ रोएकी पनि छे । यतिका वर्ष बिते, मितबाबुको घरबाट पनि हर्केको कुनै खबर आएन । जेलाबाट छुटेर आउने कसैले पनि हर्केलाई देखेको कुरा गर्दैन । “खोई बहिनी हामी बसेको जेलामा त हर्के नामको मान्छे कोही थिएन” । वर्षौैंपछि आफ्नै सेक्टरको एक छिमेकी महिलाको श्रीमान् चेमगाङ जेलबाट छुटेर हिजो मात्र शिविर आए । केशरी हतार हतार उनलाई भेट्न पग्छे । लामो समयसम्म जेलको यातना खपेर आएका ती व्यक्तिले बोल्ने क्रममा भने “ल्याएकै दिन उनलाई साह्ै यातना दियो, बेलुका सँगै खाना खायौं, आँखा भरी आँसु पारेर उनले भने साथी म बाँच्दिन होला, मलाई साह्ै यातना दियो । मेरो नाम हर्के छेत्री हो, मेरो घर साम्चीको कैँजले गाउँमा पछर्, म मरिगएँ भने मेरी केशरीसम्म मेरो खबर पु¥याइदिनु, मलाई मेरै गाउँका मुखियाले सुन्तला बगान हेर्न पठाउने निहँुमा पक्राएका हुन्, उनी बोल्दै थिए उत्तिखेरै “यसलाई फेरी सोध्नुछ” भनेर आर्मीले उनलाई घिस्याउँदै म बसेको पल्लो कोठाभित्र लगे । अठ्ठाइस डण्ठा हान्दासम्म उनले ऐइया……मरेँ भनेको चैँ सुनियो त्यसपछि डण्ठामात्र हानेको सुनियो, मान्छे मरि सकेछ, त्यस कोठाबाट भोलिपल्ट उनको लाश बाहिर लगे ।” यस कुराले केशरीमाथि पहाडै खसेको थियो । उ घोप्टो परेर धेरैबेरसम्म रोई । अहिले उ अघिकी केशरी थिइन । एक्ली भएकी छे । हर्के अब यस संसारमा छैन । उसको याद बाहेक केशरी एक्लै आँसु बगाउँछे । दिन पछिको रात गर्दै वर्षौं बित्छ । अब त बिछोडको घाउ पनि थाक्दै जान्छ । रोएर कराएर जीवन चल्दैन । अन्ततः परिस्थितिसित सम्झौत गर्नैपर्छ । उसले अब यो पीडास्पद जीवन स्वीकारेकी छे । बिहानको घरधन्दा सकेर छोरालाई स्कूल पठायो, आफू अक्सफामको स्कूलमा साउँ अक्षर पढ्न गयो । अचेल यो दैनिकी भएको छ उसको । मुखिया बाजे छाप्रोबाट वरपर जान छोडेका छन् । अधवैँसे महिलाले उनको सेवा गर्छिन् । बाजेको बिमार दिन्दिनै चढ्न थालेको छ । कहिले आम्दा रेफर गरिन्छ भने कहिले धरान वा बिराटनगर पठाउँछ । एकमुठी सास बाहेक उनको केही छैन शिविरमा । दिन पर्खेर बसेका छन् उनी ।
आज आइतबार । बिहानैदेखि निकै हो हल्ला छ । कसैले भन्छ मुखिया बाजेको चोला उठ्यो । सबै उनैको छाप्रोतिर लाग्छन् । छाप्रोभित्र एउटी महिला डाको छोडेर रोएको सुनिन्छ । एकै छिनमा उनको लाश रतुवा खोलासम्म लगिन्छ । सयौंको संख्यामा मलामी छन् । कोही उनलाई चिन्ने छन् कोही नचिन्ने । तर सबैले आफ् आफ्नो छाप्रोबाट एक एकवटा दाउरा बोकेका छन् । यो एउटा समवेदना हो । सबैलाई लाग्छ मरेपछिको बाटो एउटै हो । कसैलाई उनीप्रति कुनै पूर्वाग्रह छैन । जे गरे उनले नै भोग्छन् । एकै छिनमा मुखियाको लाश रतुवाको बगरमा चितामा चढाइन्छ । अधवैँसे महिला जिउ छोडेर रुन्छिन् । चितामा आगो दन्किन्छ । सबैले मट्टि दिन्छन् । “लौ है जहाँबाट आयौ त्यहीँ जाऊ”– कसैले भन्छ । माथि डाँडामा केही महिला लाम लस्कर लागेर उभिएका छन् । सायद मलामीको खाजा ल्याएका छन् उनीहरुले । चिताको धुवाँ देखेर एउटी महिला बोल्छिन् “हेर त केशरी, धर्मी मान्छे जलाउँदा धुुवाँ सीधा आकाशतिर जान्छ भन्थे तर बाजेको त छरियो पो ।” केशरी भर्खरै बोल्ने महिलालाई एकचोटी हेर्छे । उसको आँखा आँसुले भरिएका हुन्छन् । कहाँ कहाँ अन्तर मनभित्रको घाउ बल्झिएको छ । अचानक उसको मुखबाट निस्कन्छ – “कालले छोड्ला तर राजाले छोड्दैन भन्नेलाई राजाले छोडे कालले छोडेन ।”

3 Replies to “मुखिया बाजे”

  1. Lakshmi Prasad Dhakal

    सुशील सर, कति मिठो लेख. कति आनन्द. सर, याहाको लेखले हाम्रो सिकुवामा बसेर याहाले, हाम्रो दाइ साग कुरा गर्नु भाको झल् झल् सम्जना आयो. लेख को लागि, सलाम.

    लक्ष्मी प्रसाद ढकाल, नेदेरलण्ड

  2. sushil pokhrel

    धन्यवाद लक्ष्मी जी , लेखको मर्म बुझिदिनु भएकोमा .

  3. krishna pokharel, solukhumbu, nepal

    कैंजले भुटानको एउटा स्थानीय गाउँ गुमानासिंग क्षेत्री त्यहाँको एउटा मुखिया , राजाको इमानदार कारबारी, छोराहरु राजाका कर्मचारी, बुढाको सान सौकत, हैकम सबै पुरानै पाराको उनी उस ताकाको एउटा क्रूर निर्दयी पात्र, हर्के र उसकी स्वास्नी उही समाजका गरीब,निरीह पात्र, हाम्रो समाज जस्तो छ त्यस्तै , लाग्छ लेखक र उनको परिवार हर्के फाँटका,
    कारबारी, दलान, फसेला, वेरुवा, खोल्मा जस्ता हराउन लागेका शब्दहरु वा ठेट नेपाली शब्दहरु, गाँउ घर चुला मेलाका बिषयहरु, उखान टुक्काहरुको उपयुक्त स्थानमा चयन जस्ता कुराले लेख पठनीय भएको छ , कालले छोड्ने तर राजाले नछोड्ने अनि फेरि राजाले त छोड्ने तर कालले नछोड्ने कुरा निक्कै मार्मिक र अनाम सत्य छ . गुमंसिंग राजाका प्रतीक र हर्के प्रजाका; पाप धूरीबाट कराउने कुरा र मानिस समयको दास हो अनि मानवता धनीमा भन्दा गरीवमा बढी हुन्छ भन्ने यहाँ उद्घाटित गरिएको छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *