मुहान – युद्धको

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका

तिम्रै भगवत्वमा यो के भइरहेछ?
तिमी किन कान ओछ्याई सुतिरहेछौ?
आवश्यकता तिम्रै छ यहाँ
रचना नै हो त तिमीले गरेको भने
तिम्रै आवश्यकता छ यहाँ
तिमीलाई थाहा छ?

कोही यहाँ रोटी चोरेर चोर भए
कसैले कानुन लेख्ने निहुँमा
पूरा देश हडप्न थाले
तिम्रै भगवत्वमा यो के भइरहेछ?
यहाँ युद्ध गर्नु सही मानिन्छ
प्रणय गर्नु अपराध
युद्धले धेरै अर्थमा मार्ने गर्छ
युद्धको मैदान देखि धेरै टाढा
आत्मालाई मार्ने गर्छ युद्धले
यहाँ,
तिम्रै भगवत्वमा विपरीत चल्छ दुनियाँ।
दुनियाँ युद्धकै मुहानमा उभिएको छ
जहाँ मात्र निस्कनेछ
रक्त चित्कार!
यस पश्चात् हुनेछ
मानव सभ्यताको बिचल्ली
झर्नेछन् कैयौँ अणु-परमाणु
निर्दोष मर्नेछन् धेरै
र गाइनेछ गीत विजयको
तर के
साँच्चै यहाँ विजयी को हुन्छ?
युद्धले न कसैलाई विजयी बनाउँछ
न कसैलाई पराजित
मात्र मानव सभ्यता खतम हुनेछ।
युद्ध चाहने पनि मर्नेछन्
युद्ध नचाहने पनि मर्नेछन्
युद्ध पश्चात् केही बाकी रहने छैन यहाँ।
के अल्फ्रेड नोबेललाई पछुतो लाग्ला?
के कैयौँ यस्तै अल्फ्रेडरूका हात डगमगाउलान् ?
अब फेरि आवश्यक ठानिने म्यानहट्टन परियोजनामा
अर्को परमाणु बमको नमूना तयार पार्लान् ओपेनहाइमरले ?
आईन्स्टाईनले बिर्सेलान् त आफ्नू
सापेक्षताको सिद्धान्त?
आफ्नू सबैभन्दा ठुलो भुल
सुधार्न सक्ला त विज्ञानले?
किन भने
दुनियाँले बुझ्नु जरुरी छ कि
युद्धले बरबाद पार्नेछ
अहिलेको र आउने सम्भावनाहरूलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *