मूर्ख बयान

कवि

निमेष भुटानी
सिड्नी अस्ट्रलिया

खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन
खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन।
टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन
मूडो फोर्छु भनेर पाउ चिरने मान्छे ल के हो भन?

मीठो खान मिले अघाइ कन झन् कोचेर निल्ने जन
हेरी मर्नु नजाति हुन्छ भनि ती छेरेर मर्छन् झन।
आफ्नो भाग्य भनेर कर्म मनले गर्दैन कै साधन
चर्पीमा गइ राख्छ त्रीशुल खडा घोचेर मर्ने झन।।

जो जान्दैन स्वयम् र ज्ञान पनि ती छैनन् नजान्ने भनी
निम्जाको दलमा गएर अनि धाँक् जो दिन्छ जान्ने बनी।
आगोमा लगि हात झोस्छ जसले तातो-चिसो चिन्न जो
अर्काको घर भाँड्छ बाँदर सरी आफ्नो बनाउन्न त्यो।।

बैज्ञानिक् युगमा ति जात थरको वीभेद गर्ने जन
बस्छन् शुद्ध भनेर स्नान नगरी दङ् दङ् गनाई कन।
खोलामा बगि जान्छ चीज तल जो खोज्दैछ मूहानमा
त्यस्ताको सुभनाम राख सबले के हुन्छ संसारमा।।

तिम्रो कान ल छैन काग चरिले काहाँ लग्यो लौ भन
त्यस्तो बात सुनेर कुद्छ सहजै कानै नछामी कन।
हाकीमै म धनी समाज अबको चाहिन्न भन्नेहरु
छेपारो सरि ती घमण्डि शठको बर्णन् यहाँ के गरूँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *