मृग-विलाप कविताः सामान्य पाठकको एक अध्ययन
शिवलाल दाहाल
मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस् कि परमार्थका लागि होस् पशुपंक्षीहरुलाई आफ्नो अनुकुल प्रयोग गर्ने र सताउने काम मानिसहरुबाट हुँदै आएकै छ । हुँदा-हुँदा शक्तीशाली, धनी र सामन्तहरुले गरीब, सोझा-सिधा र निमुखा व्यक्तिहरुलाई दास, सेवक र नोकर बनाउने काम गरेको पनि हामीले देखेकै छौं ।
यहाँ चर्चा गरिन लागेको “मृग-विलाप कविता”-मा त्यस्तै एउटा बन्धनमा परेको पशुको विलाप छ, तर्कना र जलन छ । यो कविता सन् १९९२ मा प्रकाशित कवि तुम्वेहाङ लिम्बुको “भग्न पर्खालको सयपत्री” कविता संग्रहमा समेटिएको र पछि सन् २०१० मा भूटानी नेपाली कविहरुको प्रतिनिधिमूलक कवितासंकलन “संझनाका खण्डित आकृतिहरु”-मा समाविष्ट कविता हो । यस कविताको अन्त्यमा कविले बन्दीजीवनमा रचित भनेर उल्लेख गरेको हुँदा यसको रचना समय सन् १९९२ तिर हुनुपर्छ । यस हिसाबले हेर्दा “मृग-विलाप” शायद उनको पहिलो कविता हो । जेलभित्रको जर्जर र त्रासद वातावरणमा यति सुन्दर, परिमार्जित एवं परिस्कृत भाषा-शैलीमा कविता लेखिनु चानचुने कुरा होइन । आजसम्म प्रकाशित भूटानी कविहरुका छन्दबद्ध कवितामध्ये यसलाई एउटा सफल कविता मान्नु पर्छ । कथा, पात्र र घटना अथवा आख्यानतत्व र भावनाको सुन्दर समन्वयले निश्चय नै कवितालाई उच्चता र उत्कृष्टतातर्फ डोर्याएको छ ।
कथानक
यो कविताको मूल कथावस्तु बन्धनमा परेको मृगशावकको रोदन हो, पीड़ा हो, विलाप हो । प्रथम पुरुषशैलीमा रचना गरिएको कविताको पहिलो श्लोक पढ्दा नै म-पात्र जेलमा परेको मृगशावक हो भन्ने कुरा थाहा हुन्छ । बन्धनमा परेको कवि कल्पित मृग शावक वास्तवमा कवि आफैं हो । मृग शावक त रुपक मात्र हो रुप्यचाहिं कवि स्वयं । एउटा स्वच्छन्द वनमा रमाउने मृगशावक कसैको बन्धनमा पर्नु नै उसको दुःखान्त जीवनको आरम्भ हुनु हो । मृगशावक खोर (बन्धनमा)-मा परेपछि अत्यन्त दुखित र मर्माहत् बन्दछ र अतीतका ती सुखद जीवनका क्षणहरुको स्मृतिमा डुब्दछ र अझ बढी व्यथित बन्दछ । यहाँ उसलाई वनमा स्वतन्त्रपूर्वक विचरण गरेको, नदीनालामा घुम-फिर गरेको, आमा-बाबुसँग रमेको, साथी-संगीहरुसँग खेलेको आदिको सम्झनाले विरही तुल्याउँदछ । उसलाई ब्याधाजनले फन्दामा पारेर घाइते (खोरण्डो) तुल्याउँछन् र पछि फेरि बगाल (वृहतजन)-हरुका माझमा पुर्याउँदछन् र अनेक प्रकारका हतियार (बन्दुक, बलम, तिर) देखाउँदै र घोच्दै ज्यानसमेत लिने कुचेष्टा गर्दछन् । कोही निर्ममतापूवर्क कुटपिट गर्छन् त कोही रमिता हेर्दै थपड़ी मार्छन् । एकातिर मृगशावकले अनेक किसिमका शारिरिक र मानसिक यातना खेप्नुपरेको छ भने अर्कातर्फ आमा-बाबु र साथी-संगीको विछोडको पीडा र चिन्ताले झन प्रताडित र खिन्न तुल्याउँदछ ।
मृगशावकसँग धेरै दुःख, पीर र चिन्ता भए तापनि त्यस किसिमका अनुभूति साट्ने हितैषीहरु कोही छैनन् । खुल्ला जंगलमा मन खुशी घुम्ने मृगशावकको जीवन एउटा सानो कोठाको चौघेराभित्र सीमित हुनुपर्दा अति नै उकुस-मुकुस र छट्पटी लाग्नु अनौठो कुरा होइन । म-पात्र वस्ने कोठा अति सानु छ र त्यही कोठामा दाना-पानी खानु पर्ने, दिशा-पिसाब गर्नु पर्ने र सुत्नु-बस्नुपर्ने हुनाले कष्टप्रद र असुविधाजनक छ । त्यतिमात्रै होइन, अनेक किसिमको दुर्गन्ध उत्पन्न भई जुम्रा, उडूस, उपिया र भुसुनाहरु मौलाएका हुनाले जीवन नरकमा होमिए तुल्य बनेको छ । यस्तो किसिमको वातावरणमा म-पात्रलाई कुन दिन हो, कुन रात हो केही पत्तो हुन्न । त्यसैले कहिलेकाहीँ दैवले नै पो यस्तो खेल गरेको त होइन- भन्ने जिज्ञासा उत्पन्न हुन्छ । विपत्तिमा प्रकृति पनि प्रतिकुल बन्दोरहेछ । त्यही कोठामा गृष्म ऋतुको गर्मीयाम पनि बित्यो र त्यही कोठामा हिउँदका कठिन दिनहरु बिताउनु परेको छ । तुसारो र हिउँको चिसोले मुटु किटिकिटि खान्छ तर, न्यानो र बाक्लो लुगा शरीरले देख्न पाउँदैन । म-पात्रले दिनहुँ यातना सहनु मात्रै होइन हिउँदको चिसो ठण्डीको मार पनि खेप्नु परिरहेको बेलामा व्याधाजनले शरीरलाई न्यानो प्रदान गर्ने भुत्लासमेत काटिदिएर ठण्डीको समयमा कष्ट थपिदिन्छन् । यसरी जेलभित्र हिउँदको ठण्डीमा केस काटेर मुडुल्याइदिएको प्रसंगलाई कविले अति नै मार्मिकताका साथ चित्रण गरेका छन् । यदि यातना दिनकै लागि केस-काटेको हो भने बरु मृत्युकै सजाय दिएमा ठीक हुन्छ भनेर मपात्रले चिच्याउँदा व्याधाजनहरुले बिनागन्ती मुक्का, सिर्कना, मुंग्रा आदि उसमाथि बर्साउँछन् ।
यति धेरै शारीरिक, मानसिक यातना र पीड़ाको शिकार भएर बस्तासमेत कोही सहानुभूति प्रकट गर्ने सज्जन नदेख्ता मपात्रलाई पृथ्वीमा असल मानिसको समाप्ति नै भएको त होइन ? अथवा भगवानका भक्त र देउतासमेत स्वार्थी र दया, माया, करुणारहित पाषाण त बनेका होइनन् भन्दै कवि व्याङ्ग्य गर्दछन् । उनको अन्तर्हृदयमा धर्मी र पापी सबै मिलेको आभाष हुन्छ । मपात्र समाजको हितका निम्ति लागी पर्ने व्यक्तिहरु मासिँदै गएको देख्छ तर, कुभलो गर्नेहरु समाजमा प्रतिष्ठित भएको पाउँदछ । यसरी मपात्र लोक-व्यवहारप्रति आलोच्य बन्दछ । म-पात्र एकातर्फ आँगननेर बसेर न्याहुल विरही गीत गाएको देख्तछ भने अर्कोतिर दिउँसै श्याल, कुकुर र हाप्सीलो आदि रोएको सुन्दछ । नेपाली समाजमा दिउँउसै श्याल, कुकुर, हाप्सीलो आदि रुनुले अशुभको-अपशकुनको संकेत गर्दछन् । त्यसो हुँदा गाउँमा कि त कुनै वीरको मृत्यु हुनुपर्छ अथवा शोषकको पतनको संकेतको रुपमा म-पात्रले यी जनावरको असामान्य व्यवहारलाई लिएको छ ।
अन्तिम पंक्तिमा म-पात्रले आफूले खोरको जीवनमा बस्नुपर्दा विभिन्न किसिमका यातना र पीड़ाहरु भोग्नुपरे तापनि भावी जीवनमा त्यसको याद नआवोस् र अर्को जन्ममा मृग भएर जन्मिनु नपरोस् भनेर ईश्वरसँग पुकारा गरेको छ । यस कविताको संक्षिप्त कथा वस्तु यही हो ।
संरचना
“मृग-विलाप” कवितामा चार हरफका जम्मा वत्तीस श्लोक रहेका छन् । कविताको पहिलो र अन्तिम श्लोकबाहेक सबै श्लोकहरु शिखरिणी छन्दमा संरचित छन् । कविताको पहिलो श्लोक मात्रिक र अन्तिम श्लोकचाहिं मालिनी छन्दमा रचना गरिएको छ । कविताको आरम्भ र अन्त्यमा छन्द परिवर्तन गरी कविले पूर्वीय काव्य परम्परालाई अनुशीलन गर्न खोजेको देखिन्छ । आरम्भ र परिसमाप्तिमा छन्दको परिवर्तन, धटनाक्रमको क्रमिक वर्णन, ठाउँ-ठाउँमा प्रकृतिको प्रयोग, विभिन्न अलंकारको प्रयोग, प्रसादगुणको प्रधानता एव करुणा रसको निस्पत्ति आदिले संक्षिप्तै भए पनि कवितालाई काव्य गुणले शोभायमान तुल्याएको छ । त्यसकारणले यस कवितालाई खण्डकाव्य भन्न उपयुक्त नै देखिन्छ ।
उनले अनुप्रास, सन्देह, उपमा, श्वाभोउक्ति आदि अलंकारको प्रयोग गरेको देखिन्छ जसले गर्दा कविताको सौन्दर्य र काव्यत्मकता माथि उठ्न पुगेको छ । तथापि अंकारको विशिष्ट प्रयोगभन्दा पनि भावनात्मकताले कविताको मूल्यलाई शिखरतर्फ डोर्याएको छ । आख्यान तत्वका साथ-साथै प्रतिभाको पनि राम्रो प्रस्फुटन भएको हुँदा कविताको भाव सहज र सतत प्रवाहित भएको छ र प्रासाद गुणले आछन्न बन्न पुगेको पाइन्छ । काव्य-नायकले भोगेको यातना, पीड़ा र विक्षिप्त अवस्थाको क्रमिक एवं मार्मिक प्रस्तुतिले कविता करुणरसप्रधान भएको छ । हामी कविताको कथावस्तु पढ्दा लेखनाथ पौड्यालको “पिञ्जराको सुगा” सम्झन पुग्छौं र शैलीमा चाहिं उनकै “तरुण तपसी ।” त्यसकारण यो कविता सिर्जना गर्नुपूर्व नै कविले माथिका दुई अमूल्य सिर्जनाहरु पढ़ेको हुनुपर्छ । कवि लेखनाथ पौड्यालको “तरुण तपसी” को एउटा श्लोक र कवि तुम्बेहाङको मृग-विलाप कविताको निम्न श्लोकमा निकै नै सन्निकटता पाइन्छ ।
न सक्छौ यो आँसु टपटप टिपी चप्प पिउन
न सक्छौ मासुले दिनभर अघायेर जिउन
न सक्छौ यो भुत्ला लिइकन कुनै बस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन ?
– (तरुण तपसी, पृष्ठ विश्राम, श्लोक ८)
न पुग्थ्यो, सीरानी न पुगी ढसना बन्छ यसले
वृथा मुड्यौ मेरो वदन मनुवा कौन रिसले
जलायौ चिन्तामा मकन जिवितै आज किन हो
जलाऊ चित्तामा बरु म सहूँला सास्ति मृतको
(मृगविलाप, श्लोक २१)
प्रकृतिः
यस कवितामा प्रकृतिलाई साङ्केतिक अर्थ प्रदान गर्न प्रयोग गरिएको छ । कविताको दोस्रो श्लोकदेखि नै प्रकृतिलाई अभिव्यक्तिको उपकरणको रुपमा ग्रहण गरिन्छ । आरम्भमा स्मृतिविम्बका रुपमा प्रयुक्त प्रकृति ठाउँ-ठाउँमा प्रतीक विम्बका रुपमा देखापर्दछ । यसकारण वस्तुपरकता र आत्मपरकताको परिसन्धिमा रहेर कविले प्रकृतिको उपयोग यस कवितामा गरेका छन् । तलको कवितात्मक पक्तिंलाई प्रतीक विम्बको नमुनाका लागि प्रस्तुत गर्न सकिन्छ-
छ ता यी माकुरी वरपर सबै ढाक्छन् कुना
यी माखो माकुरी वरपर सबै ढाक्छन् कुना
सखी कुन ? वैरी कुन ? सबकुछ यिनै हुन् विकलको
हजारौं के लाखौं कुनीति गुणिको सक्छ यिनको….
यस कवितामा प्रयुक्त लामखुट्टे, उपियाँ, भुसुना र माकुरा शोषकवर्ग र तिनीहरुका मतियारहरुका प्रतीक हुन् । लाम्खुट्टे, उडूस र भुसुनाको खुन चुस्ने प्रवृत्ति र शोषक, सामन्तीको गरीब र सोझा, सिधा जनतालाई शोषण, दमन र उत्पीडन गर्ने प्रवृत्ति एकै रीतको हुन्छ । माकुराले जसरी कुटिल जालो फिँजाएर किरा फ्याट्यांग्रालाई जालमा पारी आहारा गर्छ त्यसरी नै शोषक र सामन्तीहरु मानिसलाई फन्दामा पार्छन् भन्ने कविको बुझाइ छ । जसरी जेलभित्र परेको मृगशावकले तिनै शाषक-शोषकवर्गलाई मित्रसमान सम्झेर विवशतापूर्वक बाँच्नुपरेको छ, त्यही रुपमा सोझा-सिधा, उत्पीड़ित भूटानी जनता पनि शोषकवर्गको जय जय गर्दै बाच्नुपर्ने बाध्यात्मक स्थितिको यथार्थ कविले साङ्केतिक रुपमा चित्रण गरेका छन् । यहाँ समान चरित्रधर्मीताको विम्बन गरिएको छ । त्यसो त “मृग-विलाप” निरङ्कुश शासनका पञ्जामा रहेका निमुखा जनताको विलाप हो, पुकारा हो ।
यहाँ कविले प्रकृतिलाई जुनरुपमा भावाभिव्यक्तिको उपकरण र साङ्केतिक अर्थ सम्प्रेशषण गर्न उपयोग गरेका छन् त्यो अर्थपूर्ण र सफलसिद्ध बन्न पुगेको पनि छ ।
विरह, चिन्ता र आशावादिता
म-पात्र जेलभित्र परेपछि उसको दुःख र कष्टपूर्ण जीवनको आरम्भ हुन्छ । यहाँ म-पात्र विरही छ, उसमा तीब्र चिन्ता र नोस्टाल्जीया छ । जब कुनै पात्र जीवनको कठिन अवस्थामा पुग्दछ, असहज परिस्थितिमा होमिन्छ, उसले जीवनको सुखको पाटो सम्झिन्छ र विरही बन्दछ । यहाँ मृगशावक व्याधाजनले बन्धनमा पारेपछि त्यही विरहमा पर्दछ र अतीतको सुनौलो संसारको स्मृतिमा डुब्दछ । यहाँ म-पात्र खोरमा बन्दी भएर बसेको छ र ऊ विगतमा रमणीय वातावरणमा रहेको, हरियाली वन-पाखा, खोला-नाला विचरण गरेको, आमा-बाबुको स्नेह र प्यारमा हुर्केको, साथीसँग खेलेको आदि सम्झन्छ अनि खिन्न र दुःखी बन्दछ । यसले पाठकलाई पनि दुःखी र खिन्न तुल्याउँदछ । अझ पाठकको मनमा जिज्ञासा, चिन्ता-संशय उत्पन्न गर्दछ र व्यग्रताका साथ काव्यको स्सास्वदानतर्फ प्रेरित हुन्छ । यस किसिमको नोस्टाल्जीया कविताको मध्यभागसम्म झिनो रुपमा फैलिएको छ ।
म-पात्रको चिन्ता, पीड़ा र जलनको चित्रण तलको कवितांशमा राम्रोसँग अभिव्यक्त भएको पाइन्छ ।
सखी, आमा-बाबा कसरी म बिना बस्छन् हरे !
म ता शिकारीको कपटि वशमा बन्धन परें
फलामे खोर्मा छु दिनहरु गनी व्याकुल बनी
बिना दानापानी सहुँ म कसरी भोक जलनी !
जति नै यातना, पीडा र दर्द खप्नुपरे तापनि, म-पात्रभित्रको जीवनप्रतिको आस्था टुटेको छैन, बाँच्नुको तृष्णा मरेको छैन । निराशाभित्र पनि आशा र उज्यालो पक्षको खोजी हुँदोरहेछ ।
अती सानो कोठा शयन असुविधा खपि-खपि
चिसो भैं मै बस्छु जिवन तपको मन्त्र त जपी
कविताको अन्त्यतिर कवि ईश्वरप्रति आस्थावान बन्न पुगेका छन् । उनी पुनर्जीवनमा विश्वास गर्छन् र अर्को जन्ममा मृग भएर जन्मनु नपरोस् भनेर ईश्वरसँग पुकारा गर्दछन् । उनको प्राथना छ, कामना छ यी जीवनमा भोगेका दुःख र पीडाहरुले जीवनको मार्गलाई नछेकोस् अनि त्यस किसिमको सम्झनाले दुःखी बन्नु नपरोस् ।
निष्कर्षः
जेलभित्रको उकुस-मुकुस वातावरण, असहजता, यातना, मानसिक जलन र ऐकान्तिक मनोद्वेग आदिको चित्रण गर्ने प्रस्तुत कविता खण्डकाव्यसम्मुख पुगेको छ । जिलभित्र भोग्नुपरेको यातना, यन्त्रणा र अन्तर-हृदयको बेदनाको कविले अति मार्मिक र कारुणिक अभिव्यक्ति दिएका छन् । घटना र पात्र यथार्थ हुँदा-हुँदै पनि कविता अनुभूतिजन्य र भावनात्मक बन्न पुगेको छ । यस कविताले कविलाई एउटा सफल छन्दवद्ध कविका रुपमा स्थापित गर्नुका साथै भविष्यको समृद्ध कवि-व्यक्तित्वको शुभ-लक्षण प्रदर्शन गरको छ । साँच्चै भन्नु हो भने कवि माधव घिमिरेले ‘पापीनी आमा’ खण्डकाव्यमा गरेको प्रक्षेपण जस्तै यस कविताले कवि तुम्बेहाङ्को भावी कविप्रतिभाको संकेत गरेको छ ।
भोलिको शिशु मुस्कुराउछ आजको पीर्तिमा
बैशाखी फूल सपना देख्छ चैतको धर्तीमा
(पापीनी आमा, माधव घिमिरे)
प्रारम्भमा छन्दलाई जुन सहजता र प्रेमका साथ कविले ग्रहण गरेका थिए त्यही रुपमा पछि छन्दवद्ध कविता कविले लेखेको देखिँदैन । त्यसकारण पछि गरेर पूर्वसंकेत अनुरुप नै तुम्वेहाङ लिम्बू कवि त भए तर छन्दवद्ध कवि होइन, गद्यकवि भए । मुलतः उनी प्रगतिवादी कवि भए । सन् १९९२ मा प्रकाशित उनको “भग्न पर्खालको सयपत्री” कवितासंग्रहमा प्रकाशित अधिकांश कविता मार्क्सवादी चिन्तन धाराका छन् । उनले जति भूटानी निरङ्कुश शासनव्यवस्थाको भण्डाफोर गर्दै जनताका पक्षमा आजसम्म कुनै पनि भूटानी कविले कविता सिर्जना गरेका छैनन् । खारिएको भाषा-शैलीमा रचना गरिएको उनका कवितामा जति नारा छ त्योभन्दा बढ्ता कलात्मकता र सुन्दरता पनि छ । उनले भूटानी शाषकवर्गको शोषण, दमन र अत्याचारको घोर भर्त्सना गर्दै स्वतन्त्रता र मुक्तिका लागि खुलेर लेखेका छन् । त्यसकारणले उनका कवितामा विद्रोह छ, क्रान्ति छ र शोषित-पीड़ित भूटानी जनताको वर्गीय मुक्तिको सशक्त आवाज छ । तथापि यहाँ जुन कविताका सन्दर्भमा चर्चा गरियो, यसमा त्यस किसिमका अभिलक्षण भने झिनो मात्रामा मात्र देखा पर्छन् । सांकेतिक एवं परोक्षरुपमा यहाँ निरंकुश तानाशाही शासनको भर्त्सना गर्दै स्वतन्त्रता र मुक्तिका लागि आवाज उठाइएको पाइन्छ । नेपाली साहित्यमा भानुभक्त आचार्य, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ आदिले जेलजीवनमा रहेर पनि साहित्य सिर्जना गरेर नेपाली भाषा-साहित्यको सेवा गर्ने जुन परम्परा स्थापित गरेका थिए, त्यही परम्परालाई कवि तुम्वेहाङले भूटानको जेलमा रहेर पनि कायम राख्ने प्रयत्न गरे, जो अति प्रशंसनीय छ । यद्यपि यो कविता कैदीजीवनमा रचना गरिएको भनिए तापनि कविले जेलमुक्त भएपछि यसको परिमार्जन र पुनर्लेखन गरेको कुरामा शंका छैन ।
रचना चैत्र २०६७