मृत्युको कारण जीवन

टि आर राई आँशु

सफल जीवनको खोजीमा
प्रत्येक पल मृत्युलाई घृणा गर्दै
जीवनको पोल्टोभरी मृत्यु बोकेर
समयको गुलामी गर्दै हिँडेको मान्छे
अझै कति भाग्छौ मृत्युदेखि?
मृत्युलाई महान् अवसरमा बदल्न
आऊ, अब त ढिला नगरी आऊ……
कर्मनिष्ठ भएर, इमानदार भएर!
मृत्युको त्रासदीपूर्ण अनुहारमा
हृदयको मखमली मुस्कान छर्दै
जीवनको रङ्ग रोगन भर्ने
यो महान् कलाको यात्रा सँग-सँगै गरौँ
घृणा र स्वार्थले आज यहाँ
जीवनको बगैँचामा डढेलो लागेको छ
डढेलो सँगै मृत्यु भयानक भएर उभिएको छ
आऊ समयभन्दा एक कदम अगाडी आऊ
प्रेमको विशाल छाती बोकेर आऊ
स्नेहले मृत्युलाई सुमसुम्याउँदै
आँखाको नानी भरी जतनले बोकेर
मुटुको खोपी भरी मृत्यु टाँस्दै
यो आदित्य प्रेमको यात्रा सँग-सँगै गरौँ
आऊ यो विजयको यात्रामा
जीवनको डोरी नफुक्दै आऊ
तिमी र म सँग-सँगै हातेमालो गर्दै
मृत्युको मलिलो माटोमा किसान बन्दै
जीवनको हरियो वृक्षलाई सार्न
नचाहेर यसलाई सयौँ चोटि मार्न
मृत्युको असाधारण खेती गरौँ
यहाँ जीवनको अर्थ खोसिएको
लुसिफर र मेफिस्टाफेलिसको ताण्डव हेर्नु छ
व्यस्त छन्,पटक-पटक मृत्युलाई उमार्दै,
काललाई जीवन र मृत्युको बिचमा राख्दै
थाह छ? यहाँ सबैको अन्त्य हुनेछ
अजम्बरी वस्तुको कुनै प्रमाण पाइन्न
नसुर्ताऔँ! आऊ….आफ्नै पिँडाको पनि
खैरात छैन, पक्कै मृत्यु आउनेछ
हाम्रो बिचारको अंशहरू तब जोडिनेछन्
फेरि अर्को पल्ट टुट्नलाई
काँचसरि पटक-पटक फुट्नलाई |

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *