मेरो कलम रोकिँदैन
डिल्लीराम शर्मा आचार्य
नर्वे
लाटो छ ,र नै मेरो कलम रोकिदैन
गरिब छ मेरो कलम तर नुहँुदैन
भोको छ मेरो कलम शोषण गर्दैन
त्येसैले त निश्ठुर हृदयभित्र पनि नाच्छ मेरो कलम
हाकिम र शेठको दिमाग नाप्छ मेरो कलम
भिर पहरामा चड्छ मेरो कलम
विषलाई पिउदै पिउदै—
अमृतका बुद उकेल्छ मेरो कलम
आफू नांगिएर अर्कालाई सिंगारी दिन्छ मेरो कलम
तर कहिल्यै गल्दैन ।
आज कसैका कुर्सीमा बसेर धाक जमाउँदैन
मेरो कलम–
पागलले दिमाग खटाए झैँ
नाङ्गा तिघ्रा हल्लाउँदैन मेरो कलम
मैँ हुँ भन्ने युवतीले हल्लाए झैँ ।
परिश्रमी छ मेरो कलम
अनि त सबैका ढोका खट्खटाइ दिन्छ
पाषण हृदयको बज्र हो मेरो कलम
मुटु पनि टुक्राटुक्रा बनाई दिन्छ
भूँडीमा गिदीहुनेहरुको दास हो मेरो कलम
सम्झेर कहिले कहीँ आफै रुँन्छ ।
असत्यका सामु झुक्तैन मेरो कलम
सत्यका अघि झुकिदिन्छ
सुन्दरीहरुलाई नचाउँदैन मेरो कलम
बरु सुन्दरीका आँखामा नाचिदिन्छ
मरेको छैन आज मेरो कलम
कतै मरेको हुँ भन्नेहरुका अघि हाँसिदिन्छ ।