मेरो खोजी

-विद्या शर्मा-काठमाडौ/ नेपाल Bidhya Sharma

भत्किएको घरका कयौं अवशेषबाट
अदृश्य अनगिन्ती घाउहरु चिहाउँदै छन्
अनि सँगै टाँसिएर तिहारे माला
माटाका आकर्षक दीयाहरु
मग्मगाउँदा फूल अनि धूपले
असरल्ल भग्नावशेष सजाउँदै छन्
मुटुको चेपमा पीडा लुकाउँदै छन्
जबरजस्ती ओठका कुनाकानी तन्काउँदै छन्
मनको अँध्यारो
चाहनाको क्षीण धागो
डुबीजाने जिन्दगीको हतारो
चूँडिएका आशा
जमेका आँसु
चट्टाने भावना
विक्षिप्त पाइला
अनि भिडिलो तनाव
ती सबलाई मान्छेहरू पन्छाउँदै छन्
क्षणिक खुशीमा आफूलाई बिर्साउँदै छन्

तर, म तिनै अवशेषहरुलाई च्यात्दै छु
जिन्दगीका हर विक्षिप्त गल्ली चहार्दै छु
एउटा अजीबको पीडा खोज्दैछु
चिहाउने रहर चिर्दै,
बाँचेका आशालाई पिर्दै,
अनन्त जिन्दगीलाई तर्साउँदै,
पुराना बन्न आँटेका घाउ निचोर्दै
अनि चोटिलो नून-चूक भर्दै
झसङ्ग झस्काउँदै
जाग है जाग भन्दैछु
निदाएका आवश्यकता ब्यूँझाउँदै छु
तिहारको रमझममा नयाँ अठोट खोज्दैछु
नयाँ बाटो रोज्दैछु-
हो त,
चर्किएका चहरहरुबाट,
एक तमासले चहर्यााउने घाउहरु
बेलाबखतमा बल्झाउँदै दुखित अठोटहरु
लत्याउँदै थुप्रै आँटहरु
अनि मट्याउँदै अविश्वासी ठाँटहरु
म खोज्दैछु, उत्साही केही पाइलाहरु
भरिला केही आँटहरु…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *