मेरो प्रेम डायरीबाट ……

लेखक
लेखक

ईश्वर प्रवासी
युटा, अमेरिका

प्रिय अनु !
खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला । जिन्दगीको यो अनुपम धरातलमा मलाई एक्लै उभ्याएर फरार भयौ तिमी , कहिल्यै नमेटिने छाप बनेर … ! यतिका मान्छेहरूको भिडमा पनि शून्यता महसुस गराइरहन्छ तिम्रो अनुपस्थितिले । तिमी थियौ र मात्र म पनि थिएँ तर तिमी नै मेरो समीपबाट विलीन भए पछि मेरो अस्तित्व कसरी रहन्छ होला र ?? आज चाँदनी बिनाको अन्धकार आकाश मुनि पुर्णिमाको रोशनी पर्खेर बसिरहेको छु म । बस् तिमी आउने आशामा … । मेरो लागि त्यो उजेली फेरि कदाचित आउने छैन् भन्ने पनि मलाई पूर्ण थाहा छ परन्तु मेरो मन किन मान्दैन …?? सायद मैले धर्तीमा टेकेर आकाशको तारा टिप्ने सपना देखेछु । आकाशमा बसेर चम्किने त तिमी जस्ता अगस्ति ताराहरुले मात्र हो , म जस्ताले त धर्तीमा बसेर टुलुटुलु हेर्ने मात्र रहेछ ।

बहकिएको मन भूलाउन बडो मुस्किल पर्दो रहेछ । सुनेको थिएँ मुटु मानव शरीरको केन्द्र शक्ति हो जस बिना मान्छे बाँच्न सक्दैन । त्यो सब सत्य हुँदो हो त म कसरी जीवित रहन सकेँ आजसम्म ? खै , कसरी सास फेर्न सकेँ मुटु बिना पनि। तर तिमी त अझ सजिलै श्वासप्रश्वास लिदैँछौ होला मेरो मुटु पनि तिमीसँगै लिएर । कदमकदाचित् तिम्रो शरीरको सिटी स्क्यान गरायौ भने यो विज्ञान युग पनि आश्चर्यचकित हुन्छ होला तिम्रो दुईवटा मुटु देखेर । अनि बन्ने छौ तिमी यो दुनियाँको नयाँ अविष्कार । त्यस दिन नभन्नुकी तिमीले कसैको मुटु लिएर आएको थिएँ भनेर । किनकि म तिमी कहिले पनि चोरपक्रा परेको हेर्न चाहँन्न । तिमीलाई कानुनले मुटुचोर साबित गरेको सुन्न सक्दिन । त्यो मुटु त मैले आँफै तिमीलाई दिएको हुँ । तर यो झुटो दुनियाँले यो कुरा भोलि बुझ्न नसक्ला । म मुटु बिना त आज सम्म बाँचेको छु भने तिमी त झन अजम्बरी बाँच्न सकछ्यौ दुईवटा मुटु लिएर । त्यसैले त मैले दिएको मुटु तिमीलाई … । किनकि म त तिमीलाई युगौँयुग बचाउँन चाहन्छु अरू कसैको लागि भए पनि । आँखिर म त तिम्रो भलो चाहने मान्छे ।

गाउँघरमा सँगै खेल्दा सबै साथीहरूले तिमीलाई अनु भनेर बोलाउँथे । म पनि तिमीलाई त्यसै भन्थेँ । जब तिमी र म एउटै कक्षामा भर्ना भयौँ , तिम्रो पूरा नाम त अनुशा रहेछ । त्यो नाम झन प्यारो लाग्न थाल्यो मलाई । हामी एक अर्कामा अझै नजिकिने अवसर पायौँ । म तिमी देखि सिधा बाँया पट्टीको बेन्चमा बस्थेँ । लाग्थ्यो हरपल तिमीलाई देखि रहौँ । तिमीसँगै एउटै कक्षामा भए देखि पढाइमा केही राह्स आएको थियो मेरो । किताबका पाना पानामा म तिमीलाई देख्न थालिसकेको थिएँ । कुन विषयको शिक्षक आउनु भयो र कतिखेर कक्षाबाट निस्केर जानु भयो त्यो पनि मलाई हेक्का हुन छाडिसकेको थियो । कहिलेकाँही शिक्षकले मेरो ध्यान बुझ्न उठाएर मलाई त्यस दिनको पाठ्यक्रम विशेष प्रश्न सोध्नु हुन्थ्यो । म नजानेर रातोपिरो हुँन्थे । कहिले गाली गर्नु हुन्थ्यो त कहिले एकान्तमा लगेर सम्झाउनु हुन्थ्यो ।

साँच्चै तिमी असाध्यै राम्री लाग्थ्यौ मलाई । पातलो अनि अग्लो कदमा कुर्ता सुरुवाल र दुई चुल्ठी बाट्दा तिमीलाई सार्है सुहाउँथ्यो पनि । पढाइमा तिमी उत्तिकै जेहेन्दार थियौ । त्यसैले तिमीलाई मन पराउने पनि धेरै थिए स्कुलमा । तिनै मन पराउनेहरुको माहोलमा म पनि पर्थे ।कसम ! तिमी कसैसंगै बोलेको देख्दा मलाई कतकता डाह लागेर आउँथ्यो । कक्षामा शिक्षकले नोट लेखाउँदा डटपेनमा मसी सकियो भनेर म बहाना गर्थेँ अनि बेलुकी तिम्रो कापी मागेर घर लान्थेँ नोट सार्न भनीँ । तिम्रो कापी बडो जतन गरेर सिराँनीमा राखेर सुत्थेँ तिम्रै कल्पनामा । सपना पनि हर रात तिम्रै मात्र देख्थेँ । यसरी नै एस.एल.सी परीक्षा पनि नजिकियो । सबै पढ्नमा व्यस्त रहे तर मैले पढाइमा कहिल्यै ध्यान लगाइँन् । एस.एल. सी. को नतिजा पनि आयो । तिमी पहिलो श्रेणीमा पास भयौ तर म दोस्रो श्रेणीमा । त्यस पश्चात् केही साथीभाईको लहैलहैमा लागेर म भारतको पश्चिम बंगालको कालिम्पोंग स्थित कुमुदिनी होम्स कलेजमा भर्ना हुनेँ निधो गरेँ तर तिमी झापाकै दमक सिद्धार्थ कलेजमा विज्ञान विषय लिएर पढ्ने भैछौ । म दोधारमा परेँ । दुई साल तिमीबाट छुट्टीएर म बस्न सक्दिन थिएँ … । यता साथीहरूको कालिम्पोंग पढौँ भन्ने लिँढे ढिप्पी … । अन्तमा म पनि नेपाल मै पढ्ने निर्णय गरेँ । केही साथीहरू मसँग रिसाए पनि । त्यस पछि कमर्श फैकल्टी लिएर तिमी पढेकै कलेजमा भर्ना भएँ । डेरा पनि तिम्रो नजिकै खोजेर केही साथीहरूसँग बस्न थालेँ । यसरी एवम रीतले हाम्रो कलेज जीवन पनि प्रारम्भ भो । म अनेकौँ बहानामा तिमीसँग नजिकिन थालेँ । त्यसो त तिम्रो र मेरो डेराको दुरी पनि त्यति टाढा थिएन । तिमी पनि मेरो डेरा तिर आईरहन्थ्यौ । मैले सकेसम्म तिमीलाई धेरै कुरामा सहयोग गरिरहन चाहन्थेँ । सायद यही थियो होला मेरो तिमी प्रतिको गहिरो प्रेम र स्नेह । तिमीलाई मैले माया गर्न चाहेको सायद तिमीलाई थाहा थियो वा जानी जानी बुझ पचाउँथ्यौ त्यो मैले कहिल्यै बुझिनँ । तिमीलाई प्रेम प्रस्ताव राख्ने धेरै चोटि प्रयास गरेँ तर सकेको थिइन । त्यस्तै उपयुक्त समयको पर्खाईमा थिएँ म ।

समयको रफ्तार कति चाँडै बिते जस्तो महसुस भइरहन्थ्यो तिमी मेरो समीपमा हुँदा । कलेज जीवनको पहिलो वर्ष कति द्रुतगतिमा बितेछ त्यो मैले पत्तै पाइन । परीक्षा नजिकियो । तिमीलाई देखाउँन पनि केही पढ़े जस्तो गर्न थालेँ । परीक्षा पनि सिद्धियो । छुट्टीमा हामी सँगै गाउँ आयौँ केही दिनको लागि । गाउँमा साथीभाईहरु सँगको भेटघाट र ख्यालठट्टा मै छुटी सकिएछ । कलेजको दोस्रो वर्ष पनि प्रारम्भ भो । म पनि दमक फर्किएँ तर तिमी त दुई दिन अघि नै आईसकेकी रैछौ । जे भए पनि तिमीलाई देखेर मन प्रफुल्ल भयो । केही दिनको भेटमा तिमीसँग छोटो भलाकुशारी गरेँ । तर प्रिय अनु ! तिमी मसँग बोल्न केही धकाईरहेकी थियौ त्यस बेला । सोचेँ विसन्चो भयो होला । त्यसको करिब हप्ता दिन पश्चात् हुनुपर्दछ मैले ठ्याक्कै स्मरण गर्न सकिनँ एक जना मलाई अपरिचित लाग्ने युवक तिम्रो डेरामा आए । मैले उनलाई त्यस अघि कहिल्यै देखेको थिइँन । तिम्रा प्रायः आफन्त , इष्टमित्र त म चिन्थेँ पनि तर ती भने मेरा लागि अज्ञात थिए । तिम्रा साथीहरू पनि ती युवक आए पछि तिमीहरुलाई मात्र कोठामा छोडेर अन्यत्र गए । तिमी र त्यस युवक मात्र त्यो रात कोठामा बस्यौ । मलाई खुल्दुली बढ्यो र भोलिपल्ट तिमीलाई भेट्न तिम्रो कोठामा गएँ । तर ती युवक त सवेरै हिडेछन् । तिमी मात्र एक्लै थियौ कोठामा । मैले ती युवकको बारेमा सोधेँ तिमीलाई , तर तिमीले त मामाको छोरा बिराटनगरबाट आउनु भएको भनेर ढाँट्यौ मलाई । मैले बुझेर पनि नबुझे झैँ गरिदिएँ तिमीसँग ……. क्रमश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *