मैँले नदेखेको सपना

कवि
कवि

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

सूर्यका किरणले छयाप्पै अन्धकार पोतिएको बेला
मेरो नशा-नशामा राक्षसी रगत दौडिरहेको हुन्छ
एक अनकन्टार गाउँमा
जमिनभरि काँडै-काँडा रोपिएको छ
समतल मरुभूमिमा
पानीले सर्वाङ्ग भिजाउँदा
हरेक रुखका अर्धनग्न हाँगा-हाँगामा
एक दर्जन गिद्धहरु एकनाश ठुँगिरहेछन्
मानौँ कुनै सिनोको शिलन्यास हुँदैछ
घना भिड सडकमा
आफ्नू चप्पलको लोती खोजिरहेको बेला
खडेरीका हजारौँ सुम्ला बोकेको जमिन
चिरै-चिरा भएर फुट्छ रगत बिना
अनि खर्लप्प सारा सङ्ख्या चबाउन
सिरिङ्ग सिरिङ्ग हुने दाह्रा देखाएर बस्छ
मानौँ लाखौँ वर्षा पछिको भोक र तिर्खा मेटाउनु छ
ताते ताते गर्ने
सानु बालकको नरम पैतालामा
बेहोसै हुने गरी रोएर
ईर्श्याका सुइ खोपिन्छ
मानौँ सेतै फुल्ने पारिजातमा पनि
चुहिरहेको रातो रगतको सुवास फैलिरहेछ
अनि फुलिरहेछ लटरम्मै
मध्ये घाम लागेपछि
नबुन्दा नबुन्दै एक अँगालो सपनाहरू
सिरानी गह्रुङ्गो हुने गरी बर्सिरहन्छन् रातैभरि
कल्पनाको महासागर उर्लिरहेको बेला
मानसिक तनावले मस्तिस्कको बाँध फुटाउन खोज्छ
मानौँ वर्षौदेखि नफुटेको
ओरोभिल बाँध फुटेसरी
सम्पूर्ण रक्त सञ्चार फुट्न आटेको छ
खुसी अनि उन्माद
एक्कासि ह्वात्तै उर्लिएर बर्सिरहेछ एकै नास
मानौँ सारा जमिन सुखमा छताछुल्ल हुनै लागेको छ
तर
भवितव्यले लुकामारी खेलाइरहेको
कालो पर्दा हटाउने दह्रो मन-मुटु नहुँदा
वर्तमानको प्राप्तिको के महत्त्व?
थाप्लोमा ५० किलोको नुन बोकेर
शिरको टोपी खस्ने
७ गोलाई उकालो बाटो ४ घण्टा काटिसक्दा पनि
गन्तव्यको टुंगो नलाग्दा
अर्धमुर्छित नयनमा
डुब्न लागेको घामको किरण पहेलै परेझैँ लाग्छ
अनावश्यक आवश्यकताको खाडल खन्दै गर्दा
हाँगाको टुप्पामा बसेर एउटा कागले
बेस्मारी सावधान गाइरह्यो
तर म भने
आफ्नै भावानासंग पौठेजोरी खेलिरहेँ ….खेलिनैरहेँ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *