मैले एउटा कथा लेख्नु छ

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

मैले एउटा कथा लेख्नु छ
मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ
बिहानै उठेर तिमीले दाँत ब्रस गरेको कथा होइन
बिहानै उठेर तिमीले पूजापाठ गरेको कथा होइन
कुनै कार्यक्रममा तिमीले गरेको भाषणको कथा होइन
नातावाद र कृपावादको कथा होइन
चाप्लुसी र कुठाराघातको कथा होइन
मैले त इतिहास लेख्नु छ
यथार्थ लेख्नु छ
जे देखिन्छ त्यही लेख्नु छ
जे भएको छ त्यही लेख्नु छ
जे हुँदैछ त्यही लेख्नु छ
मैले एउटा कथा लेख्नु छ
मैले एउटा कथा लेख्नु छ ।

तिमी आफ्नो कथा भन्न डराउँछौ आजकाल
तिमी आफ्नो अतीत सम्झन लाज मान्छौ आजकाल
खरको छानोसँग लाज मान्छौ
प्लास्टिकको ओतसँग लाज मान्छौ
झुपडीको जिन्दगीसँग लाज मान्छौ
निगुराको झोलसँग लाज मान्छौ
पाँच केजी चामल, आधा लिटर तेल
दाल, खुर्सानी, नुन, बृकेट र मट्टितेलसँग लाज मान्छौ
हुँदा हुँदा सुन्दै छु
आजकाल आफ्नो जन्मथलो भूटान सँग लाज मान्छौ
हो ! त्यही तिमीले लाज मानेको इतिहास लेख्नु छ मैले
हो ! त्यही तिमीले लाज मानेको तितो सत्य दोहोर्याउनुछ मैले ।

कस्तो विडम्बना छ हामीसँग
कस्तो खोक्रो आदर्श छ हामीसँग
हिजो आफ्नो दौरा सुरुवाल टोपी र गुन्यौँ चोली बचाउन हिँडेका हामी
हिजो नेपाली भाषा बचाउन हिँडेका हामी
हिजो आफ्नो संस्कार अनि संस्कृतिलाई छातीमा टाँसेर हिँडेका हामी
आज कता जाँदैछौं
कुन बाटो हिँड्दैछौं
आफ्नो भाषालाई बिर्सिएर विदेशीको गुलामी गर्न तयार छौँ हामी
आफ्नो संस्कार अनि संस्कृतिलाई तिलान्जली दिएर
अरूको सिको गर्न लालायित छौँ हामी
दौरा-सुरुवाल, टोपी र फरियाको त कुरै नगरौं
छोराले अङ्ग्रेजी बोल्दा मख्ख पर्दै
अङ्ग्रेजीमै हाँसे कस्तो राम्रो हुने थियो
भन्ने समाजको निर्माण गर्दैछौं हामी
हो यही कुसंस्कारलाई चिर्दै
यही खोक्रो आडम्बरको जालो तोड्दै
नौलो इतिहास लेख्नु छ मैले
नौलो आशाको दियो बाल्नु छ मैले ।

टाई सुट लगाउँदैमा अतीत भुल्ने छुट कसैलाई छैन
ठूलो महलमा बसेपनी आफ्नो इतिहास मेटाउने छुट कसैलाई छैन
तिमी इतिहास मेटाउँदै जाऊ
म फेरि लेख्दै जानेछु
संसारलाई देखाइदिनेछु हाम्रो तितो यथार्थ
हाम्रो तितो सत्य
तिम्रो महँगो गाडी एकदिन पुरानो हुन सक्छ
तिम्रो आलिसान महल एकदिन भत्कन सक्छ
तिम्रो खोक्रो आदर्श एकदिन नामेट हुन सक्छ
तिम्रो झुटको एकदिन पर्दाफास हुन सक्छ
तर मैले रोजेको बाटो
मैले बुझेको जिन्दगी
मैले लेखेको इतिहास
कहिल्यै मेटिने छैन
तिम्रै अगाडी
तिम्रै सामुन्ने
सगरमाथा बनेर उभिनेछ
कुलागांग्री र जोमोल्हरी बनेर उभिनेछ
युगौँसम्म
सदा सदाका लागि
सदा सदाका लागि ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *