मौनता
धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका
उही पुराना यादहरुलाई मुटुमा गाँठो पारेर हजुरबुबा जुरुक्क उठ्नुभयो । लामो सुस्केरा हाल्दै केही नबोली सधैंजसो आज पनि आँखाभरि आँसु पारेर सोफामा घुद्रुक्क पल्टनुभयो । वहाँको सधैंजसो त्यही सोफामा दिन बित्ने गर्दथ्यो अनि सुत्न चाहिँ आफ्नै कोठामा जानुहुन्थ्यो । वहाँको यस्तो व्यवहार तेस्रो मुलुक पुनर्वास भएर अमेरिका आएदेखि नै सुरु भएको थियो । अमेरिका पुनर्स्थापना भएको पुरै ५ वर्ष वहाँ मौन बसिसक्नुभएको थियो । धेरैले वहाँको मौनतालाई जान्ने इच्छा गरेका थिए तर कसैले पत्तो लाउन सकेका थिएनन् ।
पहिला वहाँ भूटानमा कारवारी अनि मण्डल सम्म गरेको मान्छे । गाउँमा वहाँको धेरै सम्मान हुने गर्दथ्यो । हरेक समस्याको समाधान वहाँ सजिलै गर्नुहुन्थ्यो । गाउँमा कसैलाई थिचोमिचो भएमा वहाँको घर ढकढक्याउन पीडितहरुको घुइँचो नै लाग्नेगर्दथ्यो । धेरै मिजासिलो मान्छे हुनुहुन्थ्यो वहाँ । मीठो बोल्ने, कसैलाई बिझाउने कुरै नगर्ने, धर्मकर्ममा विश्वास राख्ने , नियममा कटिबद्ध पनि हुनुहुन्थ्यो । यही कारण सबैको दिलमा बस्न सफल हुनुहुन्थ्यो ।
सन् १९९० सालमा भूटानी निरङ्कुश शाषकले नेपाली भाषी भूटानिहरुमाथी बर्बर शोषण गर्न थालेपछि त्यसैको चपेटामा परि नेपालको झापास्थित एक शरणार्थी शिविरमा बसोबास गर्नुहुन्थ्यो वहाँ । शिविरमा रहँदा पनि शिविर व्यस्थापन समितिमा रहेर सधैँ आफूलाई समाजको हितको लागि समर्पित गर्नुभएको थियो । पछि तेस्रो देश पुनर्वासको कुरा उठेपछी त्यसको खरो प्रतिकारमा उत्रनुभएको थियो तर एक दुई दिन गर्दै तेस्रो मुलुक पुनर्वासले निरन्तरता पाएर लगभग आधाभन्दा धेरै मान्छेहरू अनेकन नयाँ सपनाहरू बोकेर विश्वका ७ देशहरूमा पुनर्वासका लागि राजी भैसकेका थिए । यत्तिकैमा बिचरा हजुरबुबाको पनि नचाहँदा नचाहँदै पुनर्वासका लागि अमेरिका आउने दिन आजिसकेको थियो । भोलिपल्ट तेस्रो देश हिँड्नुपर्ने समय आएपछी उनले आफ्नो सानै भए पनि स्वर्गजस्तो झुप्रोलाई रातभरि घरबाहिरबाट नियाल्नुभएको थियो । जब उहाँ शिविरबाट आइ.ओ.एम्.को गाडी चढेर अन्योम बिदाइको हात हल्लएर बाटो लाग्नुभयो । त्यही दिनदेखि मौन बस्नुभयो र आजपनी मौन हुनुउन्छ । वहाँको मौनता के होला कसैलाई थाहा छैन अनि थाहा हुन्छ या हुन्न त्यो पनि भन्न सकिने अवस्था छैन ।