म उस्तै छु
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
उस्तै छु जस्तो जन्मिएको थिएँ
अर्थात् मेरो अनुहार उस्तै छ
म जन्मिँदा जस्तो थ्यो,
केवल कोरेको छ त्यसमा
समयले केही अस्पष्ट धर्साहरू
जसलाई मान्छे
म परिपक्क भएको ठान्छन्,
हाकिमले तलब दिएको दिन
म उसै गरी रमाएको हुन्छु
जस्तरी उबेला पाहुनाले हिड्नेबेला दिने
केही सिक्काहरू कन्तुरमा झार्दा झंकृत
संतूरको सङ्गीतमा म नाँच्दथें,
क्वाटरमा बस्ने बङ्गाली सरलाई
बिहान स्कूल लाग्नुअघि
दिनभरि बाफिएर आकाशतिर उडेको
आमाको परिश्रम बाक्लिएर सित भई
रातभरि करेसाबारीमा खसेर भिजेको
रायोको ताजा साग
या इस्कुसको अर्ग्यानिक मुन्टा
र एक बोतल शुद्ध दूध दिँदा
सट्टामा एक मुस्कान पाउँथेँ
र दोब्बर म मुस्कुराउँथें,
अहिले पनि यो श्रमको बजारमा
बिक्यो भने मेरो जिन्सी- पसिना
क्रेतालाई निःशुल्क एक मुस्कान दिन्छ
मभित्रको बालक,
आँगनको एउटा कुनामा रहेको ढुङ्गो समातेर
उठ्ने प्रयास गर्थेँ म बालक
र हल्लन्थे पातझैँ
प्रत्याशित आयुभन्दा बढी बाँचेका बुढाहरू
जो आमाले बुनेको गुन्द्रीमा बसेर
उनैले पकाएको
अदुवा पानी पिउँदै पल्टाउँथे पासा
अर्को कुनामा,
अहिलेसम्म जिन्दगीको आँगनमा
जिउँका तिउँ त्यहीँ छ त्यो ढुङ्गो
जसलाई मैले हल्लाउन पनि सकेको छैन
तर छैनन् ती बुढाहरू न छिन् आमा नै
सुनसान छ यो आँगन,
हओ साथी !
कतै तिमीले मलाई हरायौ भने
नखोज्नु फेसबुकको भर्चुअल भित्तामा
जस्तो थिएँ त्यस्तो म भेटिनेछैन त्यहाँ,
नफेरिएको म भेट्न पल्टाउनु तिमीले
फेरिरहने समयको पुस्तकमा
र
पढ्नु मैले नलेखेका कविताहरू
जो सँगै हुँदा हामी
कहिल्यै सुनाइनँ मैले,
जुत्तो फेरियो होला, खुट्टो हैन
टोपी बदलियो होला, टाउको छैन
हराइरहने अनि भेटिने
आकार फेरिरहने त जून हो
म त घाम हुँ
जन्मेको दिनदेखि उस्तै देखिइरहने,
पहाडले कतै छेक्यो होला
बादलले कहीँ छोप्यो होला केही बेर
कुनै ग्रहको छायाले आच्छन्न म
एक क्षण ओझेलमा परेँ होला
बस्