म एक्लै छु
भक्त घिमिरे
अमेरिका
हो आमा ! म यतिबेला एक्लै छु
तिमीबाट टाढा निर्जन बगरहरूमा,
मान्छेहरूकै भीडमा एक्लो छु,
फिक्का चेतमा मस्त छु,,
‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु ।
तर, आमा ! मभित्रको ‘म’ ले भन्छ,
म एक्लै छुइनँ, धेरैका साथमा छु,
धेरै आमाहरूका काखमा छु,
मलाई आत्मीय अंगालो हाल्नेहरू,
भावनामा अँगाल्नेहरू,
असंख्य दाजु र भाइहरू,
दिदी र बहिनीहरू बनिसकेका छन्,
त्यसैले, मेरो जीवन वियोगान्त छैन,
हरपल मातृमिलनमा द्रविभूत छु म,
परिवारसितै आल्हादित छु म,
अहिले नै तिम्रो आंगमा वसन्त नआए पनि
राणाकालीन नेपालका रिमाल,
शाहकालीन नेपालका सेन र,
यस्तै यस्तै धेरैले देखेका सपनाको
त्यो वसन्त बिहानी एकदिन अवश्य आउने छ,
तिम्रो मुक्तिकै खातिर म प्रयत्नशील छु ।
ठीकै छ म, कतै टाढै गएँ, समुद्रै तरें,
तर, दायित्वमा प्रतिबद्ध छु,
मुक्तिपथमा संघर्षरत रहनेछु,
त्यो वसन्त बिहानी एक दिन आउने छ,
पक्का, निश्चय आउने छ,
म त्यसकै निम्ति मेरो खुशी उत्सर्ग गर्नेछु ।
आमा ! मेरो एउटै प्रण !
तिमीमाथि निर्वाध बलात्कार गर्ने
त्यो झड्केलो, कथित बाबुलाई संसारका हरेक प्रांगणमा
शिरनत गराएर म प्रतिशोध लिनेछु,
हरेक कदममा उसका पाइलाहरू टक्टक्याउने छु,
उसका हरेक शब्दहरू उक्काई उक्काई
त्यसको खण्डन र प्रतिकार गर्नेछु,
मलाई थाहा छ, तिम्रो ममता र मुक्तिका लागि
म र मजस्तै अरुले
गरेको न्यायको संघर्षलाई
ऊ ‘अपराध’ भन्छ,
त्यसविरुद्ध सजाय र पारितोषिक तोक्छ,
टाउका गन्तीको मोल पनि तोक्छ,
मलाई थाहा छ, उसलेले पठाएको अकाल मृत्यु
हाम्रैअघि हिँडिरहेको छ,
तर, कायरता जिएर हजार मराईभन्दा
मृत्यु जिएरै सधैं बाँच्ने नयाँ बाटो छानेको छु,
वसन्त बिहानीको लागि, तिम्रो र तिम्रा
हजारौं, लाखौं सन्तानको लागि,
एउटा नौलो सूर्य उदाउने नयाँ लक्ष्य लिएको छु,
हे, यो अटल प्रण गरेको छु, तर !
तर, बाध्यता हो कि परिस्थिति,
देख्नमा म एक्लै छु, म एक्लै एक्लो,
मनका ‘निर्जन टापु’-हरूमा, फगत एक्लो छु !
Bhaktaji,
It is a compelling poem, filled with such a great feeling for the cause and the country of origin. Great work. Jogen