म कसरी मनाउँ जितको तिहार ?
प्रकाश धमला
एड्लेड अस्ट्रलिया
दिलमाया,
तिमीले यो साल, मखमली फूलको माला
उन्ने तारतम्य मिलाएछौ
माइती पुज्ने एक अठोट लिएछौ
तर
म माइती, परदेशको एउटा कुनामा
भूगोलले कोरेको सीमारेखासंगै
मेरो मनको सगरमाथा टेकेर हास्नेहरुसंग
मितेरी साइनो गास्दै छु |
खोइ,
हुम्ला र जुम्लामा अगेनो नातातिएको
महिनौं भयो रे
चुला र चम्कानाहरुमा झिरिमीटि नछाएको
महिनौं भयो रे
नुनको स्वाद बिर्सेको बिर्स्यै भयो रे
खाद्यान्न आपूर्तिको बजार लागेको
वर्षौं भयो रे
त्यसैले तिहार,
ति हार बनाईएकाहरूले नमनाको दशकौँ भएछ
म कसरी मनाउ जितको तिहार ?
यता पनि तिहार कहाँ रमाइलो छ र
चेलीले दीर्घायुको कामना गरेकै दिन
माइतीको मरण हुन्छ
अपहरण गरेकै दिन हत्या हुन्छ
तिमीले छेकेको रेखीले यमराजलाई मात्र छेक्न सक्छ
मानवलाई कहाँ छेक्दो रहेछ र……
मानव बस्ति कहाँ थर्कन्दा रहेछन र …
त्यसैले म गाउँ आउन अझै पनि कहाँ सक्छु र …
म जितको तिहार मनाउन कहाँ सक्छु र ??
दिलमाया मेरा आगनहरुमा मकै र भटमासको बिस्कुन
लगाइएको होला
मेरा घुरानहरुबाट अझै पनि गुन्द्रुकको बासना आइरहेछ
मेरा आखाहरूमा मेरा देशको गरीबी प्रतिविम्बित छ
मेरा मनका प्रयोगशालाहरुमा ती आला
मानव रगत स्पिरिटसंगै सुरक्षित छन्
मेरा मानसपटलको लाइब्रेरीमा ……
स्वतन्त्रता , आजाद गुम्सि रहेछन
तर सुन्दै छु
बाटा बाटामा अझै बन्दुक रोपिएका छ रे,
मरो स्वागतार्थ फुल्ने सयपत्रीहरु बम भए रे
त्यसैले म गाउँ आउन अझै पनि कहाँ सक्छु र …
म जितको तिहार मनाउन कहाँ सक्छु र ???
दिलमाया
मेरी बुढी आमा अगुल्टो ठोस्दै चिम्टीले
कोइला च्यापी आज सम्म सुर्ती तान्दै होलिन
बलेंसीमा म हिड्दाका पाइलाहरु हेर्दै
पाटी र धाराको सपना बुन्दी हुन्
ति वृद्ध बुबा अझै पनि खुर्पा बोकी
खानिउका डाला झार्न दिनभरी ब्यस्त होलान
खोकीले ग्रस्त मेरी हजुर आमा ओखती मुलो खोज्दै होलिन
ढाकरले थिचेर भाचिएको मेरा हजुर बुबाको
बुढेशकालको खुट्टा अझै लागेको छैन होला
तर के गर्नु र दिलमाया
म तिम्रो एकमात्र बचेको दाई
अर्को सालको तिहार मनाउदा हुदैन र
यो सालको तिहार मनाउन कहाँ सकें र
म जित को तिहार मनाउन यो साल कहाँ सक्छु र ????
२०६३ लक्ष्मी पुजाको दिन
प्रकाश भाइ,
कति चर्को अनि कति चोटको कबिता.
आफ्नै देशमा लाहुरे!
लक्ष्मी प्रसाद ढकाल
अम्सटरडाम