म छ लाख दिन्छु
नेत्र आचार्य
टेक्सास, अमेरिका
झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय र गीता पाठ गरेर म सूर्यलाई कोल्टे फेराउँथें । सूर्यको आगमनसँगै म पवनका झोंकाहरुसित लुकामारी खेल्न र त्यो हरियालीसँगको मित्रता कायम राख्न केही पर रहेको सिसौघारी जाने गर्थें । सधैँ झैँ ईश्वरलाई स्थापित गरी म मेरो छाप्रो बाहिर निस्किएँ ।
बाहिर निस्कनासाथ, छिमेकी घरमा कोही अजनबी आएको थाहा पाएँ । सिरु/खरले छाएको छाप्रो, बाँसले बारिएका बारहरु र भित्रबाट छाप्रोलाई इन्द्रको दरबारझैँ बनाउन मैदा पकाएर गम् बनाई पेपरले सजाइएको हुनाले, भित्र हुने गरेका सबै कुरा स्पष्ट सुनिन्थ्यो । हरियालीसँग मितेरी गाँस्न निस्किएको म, छिमेकीका कुराले टक्क अडिएँ । अजनबी बोलिरहेको थियो-“म छ लाख रुपियाँ दिन्छु बुवा, मलाई हजुरको हराएको छोरो बनाउनुस् । हप्तामा एकदिन आएर यो परिवारलाई चाहिने सबै कुरा सपिङ गरिदिन्छु ।” यस्ता धेरै लालच देखाई फकाइरहेको थियो, एक अशिक्षित र वृद्ध छिमेकीलाई । मेरा शरीरका रौंहरु ठाडा-ठाडा भए । मान्छेलाई स्वार्थले यतिसम्म गिराउँदो रहेछ; त्यसै दिन थाहा पाएँ ।
सन् २००७ सालमा यूएनएचसिआर दमक-का सुरक्षा अधिकृतले भूटानी शरणार्थी शिविर शनिश्चरेको रंगमञ्चमा उभिएर सम्पूर्ण शरणार्थीहरुका माझ ‘अमेरिका लैजाने’ प्रस्ताव ल्याएका थिए । त्यस दिन शिविर नजिक बसोबास गर्ने नेपाली बन्धुहरुको पनि सभामा राम्रो उपस्थिति थियो । “पैसा भन्नासाथ भगवान् शिवको त तेस्रो आँखा पनि खुल्छ रे” भन्ने भनाई त्यस दिन सार्थक लाग्यो जुन दिन मैले छिमेकी घरमा आफ्नै कानले त्यो अपरिचितका कुरा सुनें । त्यो व्यक्तिले मेरो छिमेकीको इतिहास पल्टायो, भन्दै थियो-“हजुरका पुर्खाहरू खोटाङ दिक्तेलबाट भूटान छिर्नुभा रे । पण्डित भएकाले भूटानमा रहेका नेपालीहरूले उहाँलाई नेपालबाट जजमानीका लागि बोलाएका थिए रे । हजुर तिनै पण्डितका सन्तान हुनुहुन्छ रे”, ऊ अझ थप्दै-“हजुरको छोरो हराएको पनि १४/१५ वर्ष भइसकेको छ । हजुरले उसलाई खोज्न हर प्रयास गर्नुभए पनि अहिलेसम्म कुनै अत्तो पत्तो छैन ।”
यी सबै कुरा सुन्दा एउटा कुरा स्पष्ट भयो । त्यो अजनबीलाई कुनै शरणार्थी सेवाप्रदायक संस्थाकै नेपाली कर्मचारीले यो परिवारको इतिहासबारे सबै बताइसकेको रहेछ । यूएनएचसिआरले भूटानी शरणार्थीहरुबाट सन् २००७ सालमै जनगणनाको नाममा यी सबै कुरा लिएको थियो । जति कुरा त्यो व्यक्तिले भन्दै थियो ती सबै जानकारीहरु यूएनएचसिआरको फाइलमा मात्र सीमित हुनुपर्थ्यो । यस्ता कुरा सुनेर खुइ गर्दै वृद्ध बा’ ले भने-“हुन त आफ्नो छोरो आफूसँग छैन, मलाई पैसाको पनि आवश्यकता छ तर, एकपटक म मेरो भाइलाई सोध्छु । हेरौं भाइले के भन्छ । म उसँग सल्लाह गर्छु र फोन गर्छु ।” हतारहतार एउटा मोबाइल फोन हातमा थमाउँदै उसले ‘एक हप्ताभित्रमा मलाई खबर गर्नुहोला’ भनेर उठ्यो ।
मेरो पनि शित्तल हावा लिने समय सकिइसकेको थियो । त्यसैले म पुन: आफ्नै छाप्रोभित्र छिरें । मेरा मनमा अनेकौँ भावनाहरू उम्लिन थाले । मलाई डर थियो, कतै ती वृद्धले उसको कुरा स्वीकार गरे भने ? मलाई घरमा बस्न मन लागेन र हतासमा म त्यही छिमेकी घरमा पसें । केही पनि नसुने नजाने जस्तो गर्दै सोधी पठाएँ, को हुनुहुन्थ्यो उहाँ ? आफन्त… बा’ ? उनी नाजवाफ भए । मैले सबै कुरा सुनेको बताउँदै उनलाई, त्यो फोन पनि फिर्ता दिन आग्रह गरेँ । एकपटक भाइलाई सोध्ने कुरा दोहोऱ्याउँदै उनी भाइको घरतर्फ लागे । मेरो दिमागमा अनेकन त्रास र भावनाहरुले राज गरिरहेका थिए । यूएनएचसिआर या नेपाल सरकारले यी कुरा थाहा पाएमा त्यो अनजान व्यक्ति र ती शरणार्थी बा’ को वृद्ध शरीर कालकोठरीमा कैद हुने पक्का थियो ।
शरणार्थी सेवा जस्तो संवेदनशील कार्य गर्ने कुनै सङ्गठनमा बसेर दलाली गर्ने त्यो कथित नेपाली कर्मचारीले मानव कल्याणको लागि सदियौंदेखि खडा भएको पवित्र संस्थाकै बदनामी गरिरहेको थियो ।
वृद्ध बा उनको भाइको घरतिर लागेपछि म पनि तिनका पछि पछि लागें । उनका भाइले त्यो प्रस्तावलाई सिफारिस गर्नु त के सुन्न पनि मानेनन् । बरु एकपटक त्यस व्यक्तिलाई भेटेर सम्झाउने निर्णय गरे । शिविरमा आड-अडेसो दिने कोही नभएपछि दुईछाक टार्न पनि धौधौ पर्ने हुनाले बाध्यतावस उनले त्यो प्रस्ताव स्विकार्नु पनि स्वभाविक हो । उनका मनमा अनेक द्विविधा उत्पन्न भएको म उनको अनुहारमा प्रस्ट पढिरहेको थिएँ ।
एक हप्ता बित्यो, त्यो व्यक्ति फेरि आयो । उनी र उनका भाइ भएर त्यस व्यक्तिलाई राम्रो सम्झाउने प्रयत्न गरे । तर पनि उसले धेरै जिद्दी गरिरह्यो । दिनहरू बित्तै गए, त्यो व्यक्तिको पनि शिविरमै बसोबास हुन थाल्यो । हप्ताको पाँच दिन उसलाई शिविरमा रहेको शरणार्थी समन्वय इकाई, शिविर व्यवस्थापन समिति र अन्य कार्यालयहरुतिरै देखिन्थ्यो । बाँकी दुई दिन तिनै वृद्धलाई लोभ लालचमा फँसाएर छोरो बन्ने कार्यमा तल्लिन देखिन्थ्यो । यतिकैमा, मेरा छिमेकीको पनि अमेरिका पुनर्वाश प्रक्रिया सुरु हुनथाल्यो । तर उसलाई थाहा भएन । हर प्रयासबाट ऊ असफल रह्यो । जब अन्तिम प्रक्रिया हुन लाग्यो, तब उसले थाहा पाएछ र प्रक्रिया रोकिदिने धम्की दियो ।
गरिबीले थिचिएर पिसल्टिएको भएपनि एउटा शरणार्थीको भावनालाई मोटो रकमले किन्न सकेन । हराएकै भए पनि वृद्ध बा’ले आफ्नो छोराको सम्झनालाई बेच्न सकेनन् । मान्छेको पवित्र नाता र मायाको समर्पण कहिल्यै पैसामा साटिन्न भन्ने कुराको उदाहरण भए वृद्ध बा । पहिले त्यो व्यक्तिको धम्कीले पुनर्वाश प्रक्रियामा बाधा होला भनेर सबै हराएका थिए तर, कालो धन्दा गर्न नजान्ने ती वृद्ध बा’को कुनै कर्तुत नभेटेपछि होला सायद उनको अमेरिका आउने प्रक्रियामा कुनै आँच आएन । समय सँगसँगै वृद्ध बा-को त्यो परिवार पुनर्वाश भयो । अहिले बा’हरू अमेरिका आएपछ विगतको तुलनामा सञ्चको गाँस लिँदैछन् तर, त्यो व्यक्ति कहाँ छ, के गर्दैछ, कुनै जानकारी छैन ।