म झण्डै झुक्किएँ छु
डिल्लीराम शर्मा आचार्य
नर्वे
म झण्डै झुक्किएँ छु
म यस युगको कलिलो मान्छे
दायाँ बायाँ पाइला राख्दा
मता झुक्किएँ छु
तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु
ती राता भइसकेका विदेशी मुखहरू
स्वदेशको नाम सुन्दा तर्छिए झैँ
कालो बादलले आकाश पुरिए झैँ
बादलले नयन पुरिनेहरू
दुराचारको घुम्टो ओढेर मुस्कुराउँदा
युवती भनी म छेवैमा पुगेछु ।
दिनमा राम्ररी आँखा नदेख्ने
अँध्यारोमा बसेर कविता लेख्ने
बूढो हुँदा पनि लट्ठी नटेक्ने
समयलाई कहिल्यै नछेक्ने
मैले कस्तो साथी भेटेछु ।
पिठ्युँमा कृत्रिम राष्ट्रियता बोकेका
पश्चिमतिर मुख फर्काएर
पूर्वमा आन्दोलन छेड्ने
अफवाहले जनता तर्छाएर
रचेको चक्रव्यूह नदेखेर
उसले भिरेको कालो संहारको थैलो
नचिनेर मैले झण्डै लिएँछु ।
एकताभित्र अनेकताको रुखोवीज
मैले पनि झण्डै किनेछु
कालो मोसो दलिएको अनुहार
पाषाण हृदयभित्र जमेको अन्धकार
मै हुँ भन्नेहरूको रूखो अहङ्कार
त्यस भित्रको खोक्रो संहार
मता झण्डै झुक्किएँ छु ।