म तिमीलाई चिन्छु

कवि

विशु निछा
अस्ट्रलिया

साँझपख एकान्तमा
आहत भएर
एक्लैएक्लै बसिरहेको तिमीलाई
म चिन्छु।

म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु
तिमी ईर्ष्या जान्दैनौ
तिमी आहारिश गर्दैनौ
म तिम्रो निस्कपट मनलाई चिन्छु।

बन्जर धर्तीमा धानको स्वर्णबाला झुलाउने
हरेक थोपा मोतीझैँ तिम्रो पसिना
हर ओठमा अक्षुण्ण मुस्कान फुलाउने
सदासदाको तिम्रो सपना
म सबैसबैलाई चिन्छु।

तिनीहरूले-
तिम्रो निस्कपट मनको बजारी भाउ तोके
तिम्रो पसिनाको सामर्थ्यलाई तिम्रो अमूल्य सपनालाई
निर्लज्ज तिनीहरूले रातारात अपहरण गरे
तिमीलाई तिनीहरूले आफ्नो व्यापारको लोगो बनाए
आफ्नो सङ्कीर्णताको झन्डा बनाए
तिमीलाई तिनीहरूले आ-आफ्नो नारा बनाए
हो, तिमीलाई तिनीहरूले सक्दो खुम्च्याए साँघुर्‍याए

साँझपख एकान्तमा
एक्लैएक्लै बसिरहेको तिमीलाई
म चिन्छु।
आत्मीय मित्र
तिमीभित्रको त्यो सुन्दर मान्छेलाई चिन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *