म नारी हुँ

डिल्लीराम शर्मा आचार्य,
नर्वे

म नारी हुँ
मेरो कमलो हृदयभित्र
हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन्
कहिले खुसीका तरङ्गभित्र त कहिले
दुःखका गर्तभित्र पनि हाम फाल्न तयार भएर
म कसैकी अर्धाङ्गिनी हुन्छु ।

त्यसैले त –
विशाल हृदय हुनेहरुका आँखामा
म पृथ्वी बन्न पुग्छु ।
कसैका निम्ति आनन्द र शोख प्राप्तिकी
खानी बनिदिन्छु
कसैका महलकी रानी बनिदिन्छु
गरीबका घरमा हृदयकी खानी बनिदिन्छु
पवित्र हृदयभित्र पूर्णिमाकी जून भएर
शित्तल भरिदिन्छु ।

म जहाँ पनि पुगेकी हुन्छु
मातृत्वको बासना छाती भरी बोकेर
स्तन चुसाउँदै चुसाउँदै म बालकलाई
सुम्सुम्याइदिन्छु
कसैका आँखा अगाडि हाँसिदिन्छु
बेदनाहरुलाई लुकाएर
कसैका अघि नाचिदिन्छु
खुल्ला छाती फुकाएर ।
तपस्वीकी मत्स्यगंधा, बेदव्यासकी आमा,
इन्द्रका निम्ति रम्भा,तिलोतमा,विष्णुका अघि रमा ।
महिषासुरका निम्ति दुर्गा बनिदिन्छु
किच्चकका निम्ति द्रौपदी
मेरो अथक परिश्रम,असीम शक्तिभित्र खुसी,
कतै दर्दनाक बेदनाले भरिएको भए पनि
म प्रत्येका हृदयमा नाचिरहेकी हुन्छु
हाँसिरहेकी हुन्छु ।
त्यसैले त म नारी हुँ
अनि
सभ्यताकी पुजारी हुँ।

One Reply to “म नारी हुँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *