म फूल
रिमेन आलोक
अस्ट्रेलिया
यो हावाको स्पर्शले मेरो मुस्कानमा
चुम्मा दिनुको मज्जा कसरी सुनाऊँ
म फूल हुँ, थाहा छ मलाई
मेरो सुरक्षामा तल्लीन यी काँडाहरू
एक अर्कामा मुखा-मुख गर्दै
दिन बिताउने गर्छन् ।
न छुन सक्छन्, न देख्न सक्छन्
उनीहरू मौन रहन्छन्
हावाको बेगले मलाई लछार-पछार गरेको
कहिले रूखका हाँगालाई पछार्दै
त कहिले पत्तालाई चरा सरी उडाउँदै
मेरै काखमा पछारी दिँदाको पीडा
म फूल भए देखी थाहा भएको हो
माहुरीले सुहागरात मनाउने पनि मेरै काख
कमिलाले चुच्चो जोड्ने पनि मेरै काख
कहिले दिसा गर्दा पनि सहनु पर्ने
कहिले पिसाब फेर्दा पनि सहनु पर्ने
म फूल नहुनु पर्थ्यो, कसरी भएँ
पाप गर्नेको त कुरै छाडौँ
कोपिलालाई बिदाइ गर्दै
फर्किनै लागेको
फुल्नै नपाई, मुस्कुराउँदै
लास बनाई दिन्छन्, यी सज्जन भनौदा मानिसले
अनि मेरो लासलाई घिसार्दै
कहिले मन्दिर पुर्याइ दिन्छन्
त, कहिले मुर्दा घाट
जब मुसलधारे पानी पर्छ
मेरा गालामा चुम्बनको वर्षा हुन थाल्छ
चित्कार सुन्ने पनि आफैँमा रमाई रहेका हुन्छन्
ओठमा सजिएका लालीले पनि
सहारा नपाई मर्नु पर्छ
अब उसो कसैले पनि, कहिले पनि
मलाई फूलसँग नदाँज्नु होला
ओइलिएको फूललाई माटोले पनि सहारा नदिँदो रहेछ ।