म मान्छे……..

कवि

प्रकाश घिमिरे
नोर्थ डकोटा, अमेरिका

यो मान्छे नै मान्छेले भरिएको संसारमा
खै कुन्नि कस्तो अचम्मको म मान्छे !
विद्वानको विद्वता अहा !
पटक्कै पटक्कै  बुझ्न नसक्ने,
मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न नसक्ने
तर,
उत्पीडनको चीत्कार अनि
बन्धुत्वको नाता खोजेर
बुद्धम् शरणं गच्छामि भन्दै
यहीँ कतै हराएको अपरिचित म मान्छे,

म हुँदा खाने हुने खानेबाट
फगत बोली नबोली तिरस्कृत हुँदा पनि
नयाँ घामको प्रतिक्षामा
जड़ रूपी स्वास प्रस्वास धान्न
अनि,
अदभूत गन्तब्य लिएर
झिनो आशाको त्यांद्रोसंगै
जननी जन्म भूमिश्च
स्वर्गादपि गरियसि भन्न
दुवै हात फैलाइरहेको
कस्तो निक्कम्मा म मान्छे !

असल खराब केही नछुट्याई
ज्यानै कस्सी लगाएर
बाँच्नका खातिर इतिहास सबै भुलेर
हैकमी आदेशको रक्षा गरेर
अतिले खती गर्छ भन्ने जान्दा जान्दै पनि
जोड कि बिजोड खेल खेल्नमा माहिर
तर,
हारजितको हिसाब नै नराख्ने
दुबै गोड़ाले उभिएको खै कस्तो !
बलवान लड़ाकु नेपाली मुली
भूटानी म मान्छे….
भूटानी म मान्छे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *