म मेरो मलामी

कवि

जलन भण्डारी
एडिलेड, अष्ट्रेलिया

आँधीबीचको न्याउली चरीसरि,
छट्पट परिदिन्छन् मन कसले कसरी?
शीतल शान्ति छैन हृदयमा,
केवल डर त्रास र भावुकताको भरमा |

आँसु फुल्छ तर मैला पानी होइन,
हरपल आँसु नपिई कहिले रोइँन,
यौवनमा फुल्ने गरिब फूललाई सोधेँ,
यो रुखो जीवनलाई आँधीबीच खोझेँ |

मध्ये रातको लम्पसार एडिलेडलाई झक्झकाएँ,
दृस्टीहिन पेसिफिक महासागरलाई चिच्याएँ,
साम्राज्यवादको पर्दा च्यातेर हेर्न खोझेँ,
केवल एउटै प्रश्न सोधेँ ” मेरो परिचय” ?

पश्चिमी साम्राज्यवादको कोलाहलमा
हराउन पुगेको एक्लो मान्छे म,
मेरा दर्दभरि लुकेको चित्कारको
मलाई विश्वास पटक्क हुन्न |

यो त ममा विश्वास हराएको हो,
अनि त मेरै संबिधान खडा गर्छु,
आफैँ आफ दरिलो हुन खोज्छु
तर आत्मविश्वासबिना आफैँ रुन्छु |

अहिले विश्वास हराएको छ,
छाउरा मरेर फस्टाए कि कुकुर्नीझैँ
विश्वासघात फस्टाएको छ
र निर्दोष मान्छे दोष ठहर्छ |

त्यसैले त मेरो दुनियाँबाट
विश्वासले राजिनामा दिएको छ,
विश्वासघातले संसद खडा गरेको छ
सात समुद्रपारिको पराई देशमा |

यसरी आफैँलाई विश्वास पटक्क नहुँदा,
आफैँ, आफैँमा विश्वास हराउँदा,
म मेरो जिउँदो लासको
मरेका मलामी खोज्न हिँड्छु |

तर मरेका मलामी नभ्याउनेरे,
ज्युँदा मलामी त छँदै छैनन्,
अनि आफ्नै लासलाई काँधमा हाली
श्मसानघाटतिर एक्लो मलामी जान्छु |

Leave a Reply

Your email address will not be published. Required fields are marked *