म र म-हरु

कवि

विशु निछा
अस्त्ट्रलिया, अमेरिका

म हेरिरहेछु
र,
म देखिरहेछु।

अनन्त ब्ल्याकहोलहरुभित्रबाट,
अनन्त म-हरु निस्किरहेछन् ,
अनन्त ब्ल्याकहोलहरुभित्रतिर,
अनन्त म-हरु पसिरहेछन्।

म-हरु नागाशाकीहरु हिरोशिमाहरु बनाउँछन्,
म-हरु नागाशाकीहरु हिरोशिमाहरुमा अणुबमहरू खसाल्छन्,
म-हरु हेर्दाहेर्दै हिटलरहरु क्रूर बन्छन्।

म-हरु मङ्गलमा जीवन पनि खोज्छन् ,
म-हरु जीवनमा मङ्गल पनि खोज्छन्।

म-हरु फूलहरु
म-हरु काँडाहरु
म-हरु पुलहरु
म-हरु पर्खालहरु

आफूलाई निमिट्यान्न पार्न
धेरै धन र समय खर्चेर
आफैले बनाएको बारुदको पहाडमाथि सगर्व उभिएर
आफ्ना खुनी विचारले लोहित बुद्धिको
अमानुसिक विज्ञापन सम्प्रेषण गर्न व्यस्त छन्
अहिले म-हरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *